पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता लिन अनेरास्ववियुद्वारा सरकारलाई १२ घण्टे अल्टिमेटम

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।

बिहीबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौं प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधस्वरुप प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।

अनेरास्ववियुले तत्काल पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता लिन माग समेत गरेको छ । विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन जारी राख्ने बताए ।

उनले १२ घण्टाभित्र मूल्यवृद्धि फिर्ता नगरिए सरकारकै बहिर्गमनको निम्ति आन्दोलन गर्ने चेतावनी दिए । विरोध कार्यक्रममा विद्यार्थीहरुले परमादेशी सरकार राजीनामा दे, नाफाघाटा जान्दैनौँ, मुल्यवृद्धि मान्दैनौँ लगायतका नाराबाजी लगाएका थिए । नेपाल आयल निगमले बुधवार रातिदेखि लागू हुनेगरी डिजेल तथा पेट्रोलमा ३÷३ रुपैयाँ र एलपी ग्याँसमा ७५ रुपैयाँ प्रतिसिलिण्डर मूल्यवृद्धि गरेको थियो ।

प्रतिक्रिया