जनमत

खाली मैदानका रेफ्री

BNसभामुख अग्नीप्रसाद सापकोटा संघीय संसद प्रतिनिधिसभाका रेफ्री  हुन् । बैठक बस्दै स्थगित हुँदै, प्रतिनिधिसभा जसोतसो आफ्नो जीवन धानी रहेको छ । राजनीतिक खेल मैदान हो प्रतिनिधिसभा । खेलाडीको भूमिकामा रहेका राजनीतिक दल मैदान बाहिर छन् । मैदानमा पस्न चाहेर पनि खेल खेल्न भने नपाएको अवस्था छ । सत्तारुढ दलहरु विपक्षबिनाको मैदानमा एकतर्फि गोल गरेर अघि बढ्न त सक्लान् तर त्यो संसदको मान्यता र मर्यादा सुहाउँदो कदम हुनेछैन ।

जनताले चुनेका प्रतिनिधि कसैलाई यो सर्वोच्च संस्थाको दीर्घायुको चिन्ता छ, कसैलाई अकाल अवशानको आशा । यतिबेला प्रतिनिधिसभाको बैठक बस्ने दिन विपक्ष क्रुध्द भएर उभिन्छ र नियमित कार्वाहीमा तगारो तेस्र्याउँछ । यो नियमित कार्यतालिका जस्तो हुन पुगेको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेको असन्तुष्टि नै प्रतिनिधिसभा अवरोधको मुख्य कारण देखिएको छ । सुरु गर्नु र अर्को सूचना प्रकाशित नभएसम्म स्थगित भएको जानकारी गराएर आशनबाट उठेर बाहिरिनु सभामुख सापकोटाको नियति भएको छ । जननिर्वाचित सर्वोच्च संस्थाको यो अवस्था छ ।

पञ्चायतको अवशानपछि निर्वाचित प्रतिनिधिसभाले पूर्ण कार्यकाल जीउन पाएको छैन । अहिलेसम्म नेपाली कांग्रेस र नेकपा एमाले प्रतिनिधिसभाको अल्पकालको मुख्य कारण बनेका छन् । विडम्बना उनीहरु यसका लागि एकले अर्कालाई दोषी देखाउँछन् । तर मनपरीतन्त्र चलाउन नपाउँदा दुवैै दलले प्रतिनिधिसभामाथि प्रहार गर्न छोडेका छैनन् । कहिले नेपाली कांग्रेसलाई प्रतिनिधिसभा घाँडो भयो कहिले एमालेलाई ।

पछिल्लो राजनीतिक घटनाक्रममा नेकपा एमालेलाई प्रतिनिधिसभा घाँडो बनेको घटना सेलाएको छैन । दुइतिहाई नजिकको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले त दुइ दुइ पटक प्रतिनिधिसभा बिघटनको सिफारिस गरिदिए । दुबै पटक उनको सिफारिस पराजीत भयो । आफ्नो पराजयको तुस बोकेर बसेका एमाले अध्यक्ष ओली स्वाभाविक रुपमा यो प्रतिनिधिसभाको दीर्घायु  चाहँदैनन् । यो उनको राजनीतिक वाध्यता जस्तो देखिन्छ । नियमित रुपमा प्रतिनिधिसभा अवरोध गर्नुको पछाडि सतहमा देखिएका बिषय सत्य कारण होइनन् । नेकपा फुटेर बनिसकेको शक्ति क्षय हुनु र बलियो भनिएको सरकारले सत्ताबाट हात धुनु अध्यक्ष ओलीको मनमा बिझेको निलकाँडा हो । यो निलकाँडाले दिएको पीडाले ओलीलाई अरु दलहरुबाट टाढा पुर्याएको छ । उनी राजनीतिक लघुताभास र त्यसले जन्माएको आत्मश्लाघाबाट ग्रस्त देखिन्छन् । ओलीको यो नियतिले राष्ट्रिय राजनीतिमा संवादहिनताको स्थिति सिर्जना गरेको छ । तीतो लागे पनि यो आजको सत्य कुरा हो ।

नारायणीकिनारबाट ‘शक्तिशाली’ बनेर आएका अध्यक्ष ओलीको अनुहारमा शक्तिको ओज नदेखिनुमा उनकै दोष छ । अरु कोही पनि यसमा जिम्मेवार छैनन् । जनताको शक्ति अपमानित हुँदा त्यसका लागि जिम्मेवार नेताले पाउने सजाय यस्तै नै हो ।

समस्या संवादको छ । संवादका लागि बोलाईएको सर्वदलीय बैठकहरु मुख्य प्रतिपक्षको अनुपस्थितिमा खल्लो र प्रभावहीन देखिएका छन् । संसदको महत्वपूर्ण पक्ष भनेको प्रमुख प्रतिपक्ष हो । एउटा दलले सरकार चलाईरहँदा मुख्य विपक्षी दलले संसदमा पकड राखिरहेको हुन्छ । यो एककिसिमले शक्ति सन्तुलनको कडी पनि हो । संसदीय परम्परामा चलिरहेका व्यवस्थाहरुले यसलाई सहज रुपमा आत्मसात गरिरहेका हुन्छन् । तर यसलाई जिवन्त राख्न दलहरुवीच संवादको कडी कहिले पनि टुट्नु हुँदैन । संसदमा रहेका दलहरुलाई संवादको कडीले जोडीराख्ने काम भने सभामुखको हुन्छ । सभामुख अग्नीप्रसाद सापकोटा यो भूमिकामा कमजोर देखिएका छन् ।

वास्तवमा सभामुखको सबैभन्दा बलियो राजनीतिक हतियार भनेकै संवाद हो । जतिसुकै तिक्तता बढेको भएपनि, दलहरुवीच पानी बाराबारको स्थिति बन्न पुगेपनि उनीहरुलाई नजिक पारेर संवादहिनता तोड्ने जिम्मेवारी सभामुखकै हुने छ । उनी यो दायित्वबाट भाग्न सक्दैनन् । जुनसुकै राजनीतिक दलको पृष्ठभूमिबाट आएता पनि प्रतिनिधिसभाले सभामुख पदमा चुनिसकेपछि सभामुखको भूमिका भनेको रेफ्रीकै हो । 

यतिबेला सभामुख अग्नी सापकोटा प्रमुख प्रतिपक्षी दल एमालेको निशानामा परेका छन् । प्रधानमन्त्री छँदा केपी शर्मा ओली एमसीसी प्रस्ताव रोक्लान् भनेर सभामुखसँग सतर्क देखिन्थे । नेकपा टुक्रिएपछि यो सन्त्राश बढेको थियो । एमसीसी अवरोध नहोस् भनेर ओलीले सभामुख सापकोटासँग घुमाउरो भाषामा संवाद गरेको सुनिन्थ्यो ।

नेकपा टुक्रिएपछि त सापकोटा एमाले अध्यक्ष ओलीका लागि ‘दुश्मन’ जस्तै देखिएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रिय पात्र मानिने सापकोटासँग ओली तर्सनुलाई यस दृष्टिले अनौठो पनि मान्न मिल्दैन । एमाले र माओवादीवीचको राजनीतिक प्रतिशोध र दाउपेचले गर्दा संवादहीनता बढेको हो ।

माधवकुमार नेपालले नयाँ पार्टी बनाएपछि राजनीतिक रुपमा घाईते भएका एमाले अध्यक्ष ओलीको मनमा प्रतिशोधको ज्वाला दन्किरहेको छ भने त्यसलाई अनौठो मान्नु पर्दैन । यो पृष्ठभूमिमा अहिले प्रतिनिधिसभा अवरुध्द भैरहनुको खास कारण खोज्न अन्यत्र गैरहनु पर्दैन । यही कारण सभामुख संवादको पहल गर्न हिच्किचाईरहेका हुन् कि भन्ने देखिन्छ । तर तैपनि संवादको पहल गरिरहन उनी जिम्मेवार छन्, हुनु पर्छ ।

लामो समयदेखि स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक भोलि माघ ३ गते सोमबार बस्ने गरी सूचना टाँस गरिएको छ । अपरान्ह १ बजे बस्ने बैठक निर्धारित कार्यतालिकामा प्रवेश गर्छ कि फेरि पनि अवरोधवीच स्थगित हुन्छ, यसै भन्न सकिने अवस्था छैन । त्यसैदिन राष्ट्रिय सभाको पनि बैठक बस्दैछ ।

यसरी संघीय संसदका दुवै सदनमा एमालेले निरन्तर अवरोध गर्दै आएको छ । एमालेको अवरोधका कारण संसद्ले प्रभावकारीरूपमा काम गर्न सकेको छैन ।  यसलाई फुकाउन प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख सापकोटाले सकेजति प्रयत्न गरिरहन आवश्यक छ ।

अर्कोतिर एमालेले पनि अवरोध गरिरहेर संसदलाई निकम्मा सावित गर्दा कुनै राजनीतिक लाभ हुँदैन भन्ने कुरा पनि बिर्सन मिल्दैन । जेजस्ता बिषयमा उसको असन्तुष्टि र विरोध हो ती त संसदलाई गतिशील बनाएरै, त्यहीँ भित्र समाधान खोज्न सकिन्छ ।

सत्ता र संसदको पटक पटक नेतृत्व गरिसकेको एमालेले राजनीतिक दाउपेचको शिकार हुनबाट प्रतिनिधिसभालाई जोगाउनु पर्छ । मैदान नै खाली गराएर कुनै पनि खेलको परिणाम निस्कन सक्दैन भन्ने कुरा त प्राथमिक विद्यालयका विद्यार्थीलाई पनि थाहा छ । विश्वव्यापी लोकप्रियता आर्जन गरेको फुटबल हेरेर खेलको नियमसँग परिचित भैसकेका नेपाली मतदाताले आफ्ना राजनीतिक खेलाडीको खेललाई पनि रेफ्रीको नजरबाट नियाली रहेका हुन्छन् भन्ने कुरा दलहरुले कदापि भुल्नु हुँदैन । जनताको क्षमता र कौशललाई नजरअन्दाज गर्दा आगामी निर्वाचनहरुमा दलहरुलाई धोका पनि हुनसक्छ ।

यी सबै पक्षलाई बिचार गरेर विपक्षी एमाले सहित सबै दलले संसदको गतिशीलतालाई निरन्तरता दिने तर्फ कदम बढाउन् । सभामुख अग्नी सापकोटाले पनि खाली मैदानको रेफ्री हुनुभन्दा खेलाडीलाई मैदानमा प्रवेश गराउने विकल्पहरुको पर्याप्त अभ्यास गरुन् । 

शुभकामना !


 

प्रतिक्रिया