खाद्यान्नमा बढ्दो परनिर्भरता : आठ महिनामा २८ अर्बको चामल आयात

काठमाडौं । पछिल्लो समय नेपालको खाद्यान्न आयातमा परनिर्भरता झन् बढ्दै गएको पाइएको छ । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो आठ महिनाको तथ्यांकअनुसार धान–चामल, मकै, स्याउ र तरकारी जस्ता दैनिक उपभोग्य वस्तुहरूको आयातमा अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि भएको छ ।

भन्सार विभागको तुलनात्मक तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी आयात हुने खाद्य वस्तुमा चामल ९धान, चामल र बासमतीसहित० अग्रस्थानमा रहेको छ । गत आर्थिक वर्ष २०८१–८२ को पहिलो आठ महिनामा २४ अर्ब ३६ करोड रुपैयाँको चामल आयात भएकोमा यस वर्ष १४।६ प्रतिशतले वृद्धि भई २७ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा ३ अर्ब ५५ करोड रुपैयाँले बढी हो ।

त्यस्तै, फलफूलतर्फ स्याउको आयातमा पनि १५.५ प्रतिशतको बढोत्तरी देखिएको छ । गत वर्ष ७ अर्ब २ करोडको स्याउ भित्रिएकोमा यस वर्ष ८ अर्ब ११ करोड रुपैयाँ बराबरको स्याउ आयात भएको छ । अन्न बालीअन्तर्गत मकैको आयात पनि ७ अर्ब ९० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १ अर्ब २ करोड १४.८ प्रतिशतले बढी हो ।

भान्सामा दैनिक प्रयोग हुने आलु र प्याजको आयात तथ्यांक पनि उस्तै चुनौतीपूर्ण छ । आठ महिनाको अवधिमा ६ अर्ब ७९ करोड रुपैयाँको आलु आयात भएको छ, जुन गत वर्षको तुलनामा १४.३ प्रतिशतले बढी हो । सबैभन्दा उच्च प्रतिशतको वृद्धि प्याजमा देखिएको छ । प्याजको आयात १९.७ प्रतिशतले बढेर ४ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।

यी तथ्यांकहरूले नेपाल कृषिप्रधान देश भएतापनि आधारभूत खाद्यान्नमा समेत विदेशी बजारमा निर्भर हुनुपर्ने अवस्थालाई थप प्रष्ट पारेका छन् । उत्पादन बढाउने सरकारी नीति र दाबीका बाबजुद आयातको ग्राफ उकालो लाग्नुले मुलुकको व्यापार घाटा न्यूनिकरणमा ठूलो चुनौती थपिएको छ । विशेषगरी चामल, मकै र तरकारी जस्ता वस्तुमा भएको यो वृद्धिले स्वदेशी उत्पादन र बजार व्यवस्थापनमा गम्भीर प्रश्न खडा गरेको छ ।

प्रतिक्रिया