आयो निर्वाचनः ओली र बालेनलाई चुनौति दिँदै मन्धरा

झापा। यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाको ५ नम्बर क्षेत्र निर्वाचन इपिसेन्टर का रुपमा प्रचारित छ। देशभरका सबै १६५ निर्वाचन क्षेत्रलाई नै ओझेलमा पार्ने गरी यो निर्वाचन क्षेत्रलाई सबै पक्षले चर्चा गरेको देखिन्छ। 

झापा ५ त्यहाँबाट प्रतिष्पर्धा गरिरहेका उम्मेदवार, दलका नेता कार्यकर्तामात्र होइन सरकार र निर्वाचन आयोग अनि निर्वाचन पर्यवेक्षकका लागि समेत उच्च महत्वमा रहेको छ। सुरक्षा सम्वेदनशीलताका दृष्टिले सुरक्षा निकायको उच्च प्राथमिकतामा समेत यो क्षेत्र परेको छ।

यसरी देशकै सबैभन्दा चर्चित र रोचक चुनावी मैदान बनेको झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र  राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह मात्र प्रतिष्पर्धा गरिरहेका छैनन्, नेपाली कांग्रेसकी मन्धरा चिमरिया पौडेल पनि मतदाताको नजरमा परेकी छन्।

‘हेभीवेट’ भनिएका ओली र साह पछिकी स्थानीयले महत्व दिएकी उम्मेदवार मानिन्छिन् मन्धरा। नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा ‘स्थानीय माटो र वास्तविक मुद्दा’ को एजेन्डासहित सशक्त रूपमा देखा परेकी छन्।

को हुन् मन्धरा चिमरिया?

दमक-९ की स्थायी बासिन्दा मन्धरा चिमरिया झापाको महिला नेतृत्व र सामाजिक सेवामा स्थापित नाम हो। २०२४ सालमा जन्मिएकी उनले १३ वर्षसम्म निजामती सेवामा बिताएर अनुभव संगालेकी छन्।

२०४८ सालदेखि नै नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेकी उनी हाल कांग्रेसको महासमिति सदस्य हुन्। उनी केवल राजनीतिकर्मी मात्र नभएर अनाथ बाल आश्रम दमककी अध्यक्षका रूपमा झण्डै ३० जना असहाय बालबालिकाको अभिभावकत्व ग्रहण गरिरहेकी एक सफल सामाजिक अभियन्ता पनि हुन्। 

चुनावी घरदैलोका क्रममा व्यस्त रहेकी चिमरियाले मिडियामा हुने चर्चाभन्दा मतदाताको मनमा हुने स्थान महत्त्वपूर्ण रहेको बताएकी छन्। उनले विकासको परिभाषा बदल्नुपर्ने तर्क गर्दै भनेकी छन्, ‘ठूलठूला भवन, सडक र पुल बनाउनु मात्र विकास होइन। स्थानीय बासिन्दाका स(साना समस्या, दैनिक जनजीविका र भावनालाई सम्बोधन गर्नु नै वास्तविक विकास हो। म यहीँको माटोमा भिजेको मान्छे भएकाले यहाँका समस्यासँग पूर्ण जानकार छु।’

उनको भनाइ अनुसार मिडियामा हाइलाइट भयो भन्दैमा जनताले साथ दिन्छन् भन्ने हुँदैन। जसले स्थानीय मुद्दालाई प्राथमिकता दिन्छ, उही जनताको प्रिय हुने उनको विश्वास छ।

उनले विशेषगरी महिला हिंसा अन्त्य, पिछडिएको वर्गको उत्थान र स्थानीय स्रोतसाधनको उचित परिचालनलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएकी छन्। राजनीतिलाई सेवाको माध्यम ठान्ने उनले भोट बैंकका लागि मात्र यो क्षेत्र प्रयोग गर्नेहरूलाई मतदाताले यसपटक चिन्नुपर्ने धारणा राखेकी छन्।

‘मिडियामा ओली र बालेनको चर्चा भए पनि झापा ५ का मतदाता मेरो साथमा हुनुहुन्छ। राजनीतिक प्रतिशोध साध्न आउने र यो ठाउँलाई सिँढी मात्र बनाउनेहरू भन्दा यहाँको दुःख(सुखमा सधैँ साथ दिने उम्मेदवारलाई जनताले न्याय गर्नेछन्’ उनी भन्छिन्, ‘बालबालिका र महिलाको क्षेत्रमा मैले गरेका कामको मूल्यांकन मतदाताले गर्नेमा म ढुक्क छु।’

एमाले अध्यक्ष ओलीको गढ मानिएको यो क्षेत्रमा बालेन शाहको प्रवेश र कांग्रेसकी स्थापित नेतृ मन्धराको यो सक्रियताले त्रिपक्षीय प्रतिस्पर्धालाई झनै रोमाञ्चक बनाएको छ। ‘हेभीवेट’ नेताहरूका राष्ट्रिय एजेन्डा र मन्धराका स्थानीय मुद्दाबीच झापा ५ का मतदाताले कस्तो फैसला गर्छन्, त्यो भने फागुन २१ को निर्वाचनले नै देखाउनेछ।

ओली र साहको परस्पर तिक्तताको प्रतिष्पर्धाले सुरुमा स्थानीय मतदातालाई आकर्षित गरेजस्तो देखिए पनि गृहणी, किसान, मजदूर र सर्वसाधारण गरिखाने मानिसले मन्धराका कुरा सुनिरहेको देखिन्छ।

अरु दल पनि प्रतिष्पर्धामा

यस क्षेत्रमा श्रम संस्कृति पार्टीबाट समीर तामाङ पनि प्रतिस्पर्धामा छन्। राप्रपाबाट लक्ष्मीप्रसाद संग्रौला, जनता समाजवादी पार्टीबाट धिरेन सुब्बा, जनमत पार्टीबाट अमृतलाल महतो उम्मेदवार छन् ।

मंगोल नेशनल अर्गनाइजेसनबाट सानबहादुर मेचे, नेपाल जनमुक्ति पार्टीबाट पदम बहादुर जवेगु, राष्ट्रिय परिवर्तन पार्टीबाट सविन राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट सुशान्त साम्पाङ राई, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट संजय राई, राष्ट्रिय मुक्ति पार्टीबाट अमृत रसाइली, पिपुल फर्स्ट पार्टीबाट धर्मराज गुरागाईं उम्मेदवार छन् । यस क्षेत्रमा पुस्कर खतिवडा, प्रकाश नेपाल, खेमनाथ शिवाकोटी, डम्वर शाहुले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

जनगणना २०७८ को तथ्याङ्कअनुसार झापा ५ को कूल जनसंख्या २ लाख ३७ हजार ९ सय ८२ छ। यसपटक यहाँ १ लाख ६३ हजार ३ सय ७९ मतदाताले मतदान गर्नेछन्, जुन अघिल्लो निर्वाचनको तुलनामा करिब ९ हजारले बढी हो। 

कूल जनसंख्याको ४०.८ प्रतिशत हिस्सा १६ देखि ४० वर्ष उमेर समूहको छ, जसलाई ‘नयाँ शक्ति’ को मुख्य आधार मानिएको छ। यस क्षेत्रमा ३२.३ प्रतिशत अति उच्च वर्ग र ३०.९ प्रतिशत उच्च वर्गका परिवारको बसोबास छ। ७७.५ प्रतिशत जनसंख्या अर्ध-सहरी क्षेत्रमा बस्छन्।

पहाडिया समुदाय (ब्राह्मण, क्षेत्री, ठकुरी) को हिस्सा ४३.३ प्रतिशत छ भने पहाडिया जनजाति २६ प्रतिशत र तराई जनजातिको संख्या १४.३ प्रतिशत छ।

प्रतिक्रिया