कांग्रेस विशेष महाधिवेशन : राति ९ बजेदेखि मतदान, सभापतिका लागि ३० हजार शुल्क

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

निर्वाचन समितिले मतदाता नामावली प्रकाशन,मतदाता नामावली उपरको दावी विरोध,मनोनयन दर्तादेखि मतपरिणाम घोषणसम्मको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । जसअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजै राति ९ बजेदेखि मतदान हुनेछ । निर्वाचन कार्यतालिकाअनुसार मंगलबार दिउँसो १२:३० बजे प्रथम मतदाता नामावली प्रकाशन,१२:३० देखि १:३० बजेभित्र मतदाता नामावली उपरको दावी विरोध र सो उपर छानविनको समय तोकेको छ । यस्तै २ बजे अन्तिम मतदाता नामावली प्रकाशन,२ बजेदेखि ३ बजेसम्म मनोनय पत्र दर्ताको समय निर्धारण गरेको छ ।

कार्यतालिका अनुसार ४:३० बजे उम्मेदवारको नेपाली वर्णानुक्रमाअनुसार देवनागरिक लीपीमा प्रथम नामावली प्रकाशन हुनेछ । यस्तै ४:३० देखि ५ बजेसम्म उम्मेदावरीमाथि दावी विरोध,५ बजेदेखि ५:३० सम्म उम्मेदवारीमाथिको दावी विरोधको छानविन, ५:३० देखि ७:३०सम्म उम्मेवारको मनोनयन दर्ता फिर्ता, ८:४५ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र ९ बजेदेखि मतदान सुरू हुनेछ ।

यसैगरी नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन पत्र दर्ता शुल्क समेत तोकिएको छ । केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका, ०८२ को अनुसूची–७ बमोजिम विभिन्न पदका लागि मनोनयन शुल्क निर्धारण गरेको हो ।

निर्वाचन समितिका अनुसार सभापति पदका उम्मेदवारले मनोनयन दर्ता गर्दा ३० हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । त्यस्तै केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि २५ हजार रुपैयाँ, सहमहामन्त्री पदका लागि २० हजार रुपैयाँ तथा केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ ।

प्रतिक्रिया