काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा आइतबारबाट औपचारिक रूपमा सुरु भएको छ ।
बदलिँदो राजनीतिक परिवेशमा पार्टीलाई सुदृढ बनाउने, जनभावनाअनुकूल नीति तय गर्ने र नयाँ ऊर्जासहित नेतृत्वमार्फत संगठन रूपान्तरण गर्ने उद्देश्यसहित विशेष महाधिवेशन आयोजना गरिएको हो । विशेष महाधिवेशनमा कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये २ हजार ६६२ जना, अर्थात् ५६ प्रतिशतभन्दा बढी प्रतिनिधि सहभागी भएका छन् । उद्घाटनकै दिन यति ठूलो संख्यामा प्रतिनिधिको सहभागिता भएपछि विशेष महाधिवेशनले पार्टीभित्रको आन्तरिक बहसलाई तीव्र बनाएको छ ।
तीन महिनाअघि २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा निवेदन दिएका थिए । पार्टी केन्द्रीय कार्यसमितिबाट औपचारिक निर्णय नआएपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन आयोजना गरिएको हो । यसअघि केन्द्रीय कार्यसम्पादन समितिको पुस १८ गतेको बैठकले २०८३ वैशाख २८, २९, ३० र ३१ गते पार्टीको १५औँ महाधिवेशन गर्ने मिति तय गरेको थियो । तर विशेष महाधिवेशन आयोजक समितिले पार्टी विधानअनुसार विशेष महाधिवेशन आयोजना गरिएको स्पष्ट पारेको छ ।
विशेष महाधिवेशन सचिवालयका सदस्य युवराज पाण्डेयका अनुसार उद्घाटनको दिनमै २ हजार ६६२ प्रतिनिधिको हस्ताक्षर सङ्कलन भएको छ । उद्घाटन समारोहमा सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा संस्थापन इतर समूहका नेता डा। शेखर कोइरालालाई आमन्त्रण गरिए पनि उनीहरू उपस्थित भएनन् । यद्यपि सभापति देउवानिकट नेताहरू गोपालमान श्रेष्ठ, सहमहामन्त्री फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्य पुष्पा भुसालसहित निर्वाचनअघि नै महाधिवेशन हुनुपर्ने माग राख्दै आएका २५ जना केन्द्रीय सदस्य भने विशेष महाधिवेशनमा सहभागी भए । अधिकांश वक्ताले शीर्ष नेताहरू बन्दसत्रमा सहभागी हुने विश्वास व्यक्त गरेका छन् ।
प्रदेशगत रूपमा कोशीबाट ४२५, मधेशबाट ४४६, बागमतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४ र सुदूरपश्चिमबाट १५८ प्रतिनिधि सहभागी भएका छन् । त्यस्तै, काठमाडौं उपत्यकाबाट १७८ तथा भ्रातृ, शुभेच्छुक र जनसम्पर्क समितिबाट १९५ प्रतिनिधि विशेष महाधिवेशनमा सामेल भएका छन् ।
प्रतिक्रिया