१५औं महाधिवेशनको सँघारमा कांग्रेस: शेखर र गगन को अगाडि?

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशन सुरु हुन अब दुई साता पनि बाँकी छैन । यही पुस १६ देखि पार्टी संगठनको तल्लो निकायबाट महाधिवेशन सुरु हुने कार्यसूची रहेको छ । पुस अन्तिम साता केन्द्रीय नेतृत्व चुन्ने कार्यतालिका छ । 

सभापति शेरबहादुर देउवासँग रहेको नेपाली कांग्रेसको नेतृत्व अब अर्को नेतामा सर्ने निश्चित छ । देउवा तेस्रो पटक सभापति चुनिन विधानले अनुमति दिँदैन । यसकारण १५औँ महाधिवेशनबाट नेपाली कांग्रेसले नेतृत्वमा नयाँ अनुहार पाउनेछ । 

को हुनेछ त्यो नयाँ अनुहार ? यस प्रश्नमा यतिबेला विभिन्न कोणबाट बहस र चर्चा भइरहेको छ । देउवाले कसलाई आफ्नो उत्तराधिकारी रोज्नेछन्, दाबेदारहरूमध्ये कसले देउवाको आशीर्वाद पाउला भन्ने प्रष्ट भइसकेको छैन । यसको चर्चा चाहिँ शिखरमा छ । 

अहिलेसम्म शेखर कोइराला र गगन थापा सभापतिका मुख्य दाबेदार देखिएका छन् । कुनै समय एउटै समूहमा रहेका यी दुई नेता अब हुने नेतृत्व चयनमा आपसी समझदारीमा एकसाथ अघि बढ्लान् कि शक्ति परीक्षण गर्न प्रतिस्पर्धामै उत्रेलान् ? 

यस प्रश्नमा दुवै जनाका समर्थक र शुभचिन्तक अड्कलबाजीमा सीमित छन् । शेखर र गगनबीचको सम्बन्ध सहमतिमा अघि बढ्ला कि टकरावमा भन्ने कुरा महाधिवेशनको निर्णायक क्षणमा प्रष्ट हुने नै छ ।   

१४औँ महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गर्दा सम्मानजनक मत हासिल गरेका शेखरको सम्भावना, उनको क्षमता, उनलाई समर्थन गर्नुपर्ने आधार र सुधारका चुनौती बारे यहाँ संक्षेपमा चर्चा गरिएको छ ।

नेपाली कांग्रेसभित्र कोइराला परिवार नामले बिरासत मात्र होइन, नेतृत्वको दाबेदार पनि हो । शेखर कोइराला यही बिरासत, नेतृत्वको दाबेदारी र पार्टीमा व्याप्त संकटको त्रिकोणमा छन् । 

प्रश्न सिधा छ– शेखर कोइराला परिवारको बिरासत धान्न र कांग्रेसको नेतृत्व गर्न सक्षम छन् ? उनी नेतृत्वमा पुग्ने सम्भावना कति छ ? 

तीतो यथार्थ के हो भने नेपाली कांग्रेसको पार्टी संरचना गुटैगुटमा उभिएको छ । यो यथार्थ पन्छाएर कांग्रेसको राजनीति अघि बढ्ला भन्ने अपेक्षा गर्नु दिवा स्वप्न हुन्छ, अल्पदृष्टि हुन्छ । 

निर्धक्क भन्न सकिन्छ, नेपाली कांग्रेस गुट–उपगुटको पार्टी हो। शेखर कोइराला संस्थापनइतर खेमाको स्वाभाविक दाबेदार हुन् । यतिन्जेल देउवा संस्थापन पक्षका संरक्षक रहेका छन् । 

शेखर १४औं महाधिवेशनमा सभापति पदको प्रतिस्पर्धामा दोस्रो स्थानमा आउनु सामान्य घटना थिएन, पार्टीको आन्तरिक शक्ति प्रदर्शन थियो। त्यही शक्तिले शेखर कोइराला परिवारको बिरासतका उत्तराधिकारीका रूपमा स्थापित भए, देउवा आफ्नो समूहको नेता भए । यस्तै गुट–उपगुटको शक्ति संघर्ष नै नेपाली कांग्रेसका आन्तरिक लोकतान्त्रिक अभ्यासका रूपमा रहिआएको छ ।  
विधानको व्यवस्थाबमोजिम देउवाले विश्राम लिनुपर्ने भएपछि १५औं महाधिवेशनमा संस्थापन पक्ष निकै कमजोर भएको वा कम्तीमा गगन थापा समूह संस्थापनको साझा उम्मेदवार बन्न सकेको अवस्थामा मात्र शेखर बलियो दाबेदार हुन सक्नेछन् । 

शेखरका समर्थकहरू उनमा कांग्रेसलाई उदार लोकतान्त्रिक पार्टीका रूपमा अघि बढाउन सक्ने क्षमता देख्छन् । राम्रो सुनिने लोकप्रिय नारा लगाउने भन्दा संस्थागत सुधार गर्न सक्ने नेताका रूपमा देख्छन् । 

उनीहरू सत्ता–लोलुपता नभएका, सरकारमा जान हतार नगर्ने र पदका लागि सौदाबाजी नगर्ने स्वच्छ छवि भएका नेताका रूपमा शेरखको प्रशंसा गर्छन् । 

शेखरमा संगठनप्रतिको निष्ठा निकै उच्च देखिन्छ । पार्टी संस्थापनसँग धेरै दूरी नबनाई सुधारको आवाज उठाउने र प्रतिस्पर्धा गर्ने उनको नीति रहिआएको देखिन्छ । संवादमुखी शैली र आफूसँग फरक मत राख्नेको सम्मान उनको खास विशेषता रहेको पनि देखिन्छ । यस्ता सकारात्मक पक्षहरूका कारण उनी पार्टीको नेतृत्वमा आउनु उचित ठान्छन् उनका समर्थकहरू ।
 
शेखरका कमजोरीहरूको पनि चर्चा हुने गरेको छ । शुभेच्छकहरू उनमा निर्णायक आक्रामकताको कमी रहेको टिप्पणी गर्छन् । यस्ता शुभेच्छुकहरूका अनुसार कांग्रेसको वर्तमान संकटमा कठोर निर्णय क्षमता आवश्यक छ तर शेखर बढी नै नरम छन् । 

उनीहरू शेखरले युवा पुस्तासँग दूरी बनाएको र युवाहरूसँग भावनात्मक सम्बन्ध बनाउन नसकेको पनि ठान्छन् । 

शेखरको संगठनमा बलियो युवा टोली देखिँदैन । भविष्यको स्पष्ट रोडम्यापको अभाव देखा पर्छ । उनले आफू नेतृत्वमा आएपछि नेपाली कांग्रेसको संगठन र राष्ट्रिय राजनीतिमा कस्तो नीति हुनेछ भन्ने विषयमा नयाँ पुस्तालाई आशा र भरोसा दिलाउन सकेको देखिँदैन । 

यस्ता कमजोरीले उनी पार्टी सभापति बन्ने प्रतिस्पर्धामा पछि पार्न सक्ने चिन्ता उनका समर्थक र शुभेच्छुकहरूमा रहेको छ ।  

यस परिवेशमा पार्टी नेतृत्वमा पुग्न शेखरले के गर्नु पर्छ ?

उनले युवा पुस्तालाई केन्द्रमा राखेर संगठन निर्माणको अभियान चलाउनुपर्छ । पार्टीको आन्तरिक लोकतन्त्र सुदृढीकरण र संगठन सुधारको ठोस खाका तयार गरेर युवा पुस्तालाई विश्वासमा लिनुपर्छ ।  सार्वजनिक रूपमा निर्णायक र साहसिक अभिव्यक्ति दिन सक्नुपर्छ । संस्थापनइतर समूहरूमा एकता कायम गर्न सक्नुपर्छ ।  

शेखर करिश्माले होइन, विश्वास र वैचारिक निरन्तरताले नेतृत्वमा पुग्नुपर्छ भन्ने कुरामा विश्वास गर्ने नेता हुन्। नेपाली कांग्रेस सस्तो लोकप्रियतामुखीभन्दा संस्थागत सुदृढीकरणका लागि संयमित र दूरदृष्टिको नेतृत्व खोज्दैछ भने शेखर कोइराला उपयुक्त विकल्प बन्न सक्छन् ।  
 


 

प्रतिक्रिया