जेनजी समूहसँग ९ प्रश्नः के तत्काल निर्वाचित कार्यकारी प्रधानमन्त्री सम्भव छ?

काठमाडौं । विषय हो, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको । हाम्रो वर्तमान संविधानअनुसार पनि प्रधानमन्त्री नै देशको प्रमुख कार्यकारी हो । शासनको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्रीमा नै रहन्छ । राष्ट्रपति आलङ्कारिक जस्तो मात्रै हो । 

प्रिय जेनजी साथीहरू ! 

अहिले तपाईंहरूले निकै जोडतोडका साथ उठाएको एउटा विषयमा केही कुरा गरूँ । यसमा तपाईंहरू गम्भीर बन्नुहुनेछ भन्ने अपेक्षा रहेको छ ।  

विषय हो, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको । हाम्रो वर्तमान संविधानअनुसार पनि प्रधानमन्त्री नै देशको प्रमुख कार्यकारी हो । शासनको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्रीमा नै रहन्छ । राष्ट्रपति आलङ्कारिक जस्तो मात्रै हो । 

वर्तमान संविधानअनुसारको प्रधानमन्त्री संसदले बनाएको हुन्छ, प्रधानमन्त्री पदको उम्मेदवार भएर निर्वाचित भएको हुँदैन तर जनताबाट निर्वाचित सांसद नै प्रधानमन्त्री नियुक्त हुन्छ । यस्तो प्रधानमन्त्रीले प्रतिनिधिसभाको बहुमतका आधारमा सरकार चलाउँछ, प्रधानमन्त्री नै देशको प्रमुख कार्यकारी हुन्छ । 

बहुमत भनेको प्रतिनिधिसभाको विश्वास हो, बहुमत नहुनु भनेको प्रधानमन्त्रीमाथि प्रतिनिधिसभाको विश्वास नहुनु हो, अविश्वास  हो । यस्तो अविश्वास भएका दिन प्रधानमन्त्री पदमुक्त हुन्छ । यस्तो अवस्थामा अर्को प्रधानमन्त्री नियुक्त हुने र प्रतिनिधिसभाको विश्वास आर्जन गर्नुपर्ने प्रावधान संविधान छ । 

वर्तमान संविधानअनुसार प्रधानमन्त्री कसरी नियुक्त हुन्छ, आजको विषय यो होइन । 

जेनजी साथीहरूले भनेको प्रधानमन्त्री सोझै जनताबाट निर्वाचित हो, बालिग मतदाताबाट निर्वाचित हो । यसो हो भने सांसदको मात्र उम्मेदवार नभई सोझै प्रधानमन्त्री पदकै उम्मेदवार हुने र प्रधानमन्त्रीकै रूपमा निर्वाचित हुने पद्धति हुन्छ । यसरी निर्वाचित हुने प्रधानमन्त्री नै प्रत्यक्ष निर्वाचित कार्यकारी हुन्छ ।  

सतहबाट सर्सर्ती हेर्दा यसरी प्रधानमन्त्री निर्वाचित गर्नु गाह्रो काम होइन । विधिसम्मत ढङ्गले यसो गर्न वर्तमान संविधान संशोधन गरेर जनताबाट सोझै प्रधानमन्त्री निर्वाचित गर्ने व्यवस्था गर्न सकिन्छ । 

केही जेनजी समूहहरूको माग छ– आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनमै प्रधानमन्त्री पनि जनताबाटै सोझै निर्वाचित हुनुपर्छ । उनीहरूको चेतावनी छ– यसो नहुने हो भने निर्वाचत हुन दिँदैनौँ । 

एकै छिन विधिको कुरा गरौँ । संविधान संशोधन हुन प्रतिनिधिसभा चाहिन्छ तर अहिले छैन । तपाईं जेनजी साथीहरूकै मागअनुसार प्रतिनिधिसभा विघटन गरेको भनिएको छ ।
अब तपाईंहरूसँग प्रष्ट उपाय र जबाफ हुनुपर्ने केही प्रश्नहरू छन्–

पहिलो प्रश्न– फागुन २१ गते हुने निर्वाचनअघि कसले कसरी संविधान संशोधन गर्ने ? 

दोस्रो प्रश्न– त्यो संशोधन देशका बहुसङ्ख्यक सरोकारवालाहरूले स्वीकार गर्छन् कि गर्दैनन् ? स्वीकार गरे, मान्य भयो भने त ठिक भइगयो; स्वीकार भएन, मान्य भएन भने के हुन्छ ? 
तेस्रो प्रश्न– आममतदाताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीले सरकार चलाउने र निर्णय गर्ने विधि के हुन्छ ? त्यस्तो विधि संविधानमा कसरी व्यवस्थित गरिन्छ । त्यसअनुसारको कानून कहिलेसम्ममा बनिसक्छ ? 

चौथो प्रश्न– प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीले पाँच वर्ष कुनै अविश्वासबिना निर्बाधरूपमा सरकार चलाउँछ कि ऊमाथि पनि अविश्वास गरेर उसलाई पदमुक्त गर्ने प्रावधान राखिन्छ ? ऊ केकस्तो अवस्थामा पदमुक्त हुन्छ ?  

पाँचौँ प्रश्न– प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमाथि पाँच वर्ष अविश्वास गर्न पाइँदैन, उसलाई फिर्ता गर्न पाइँदैन भन्ने हो भने पदमुक्तिको कुरा गर्नै परेन । पदमुक्त हुने प्रावधान राखियो भने त्यस्तो प्रधानमन्त्री पदमुक्त भएपछि अर्को प्रधानमन्त्री कसरी निर्वाचित गरिन्छ ? उसले कुन प्रतिनिधिसभाबाट सरकार चलाउँछ ? कि प्रधानमन्त्री पदमुक्त हुँदा प्रतिनिधिसभाको पनि निर्वाचन हुन्छ ? 

छैटौँ प्रश्न– आममतदाताबाट प्रधानमन्त्री निर्वाचित हुन दलका तर्फबाट मात्र उम्मेदवार हुनुपर्छ कि गाउँपालिकाको अध्यक्ष र नगरपालिकाको मेयर जस्तो स्वतन्त्र उम्मेदवार पनि हुन्छ ? दलको तर्फबाट मात्र उम्मेदवार हुने भए संसदमा एकै वा एकभन्दा बढी दलबाट प्रधानमन्त्रीको बहुमत हुन सक्ने भयो । 

स्वतन्त्र उम्मेदवार भएर निर्वाचित प्रधानमन्त्रीलाई कानून, बजेट इत्यादि पारित गर्न संसदको बहुमत चाहिन्छ कि चाहिँदैन ? चाहिँदैन र प्रधानमन्त्रीको निर्णयले नै पारित हुन्छ भने त भइगयो । बहुमतले पारित हुनुपर्ने तर बहुमत नहुने भयो भने के हुन्छ ? 

सातौँ प्रश्न– आममतदाताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री नै देशमा व्याप्त र भविष्यमा आउनसक्ने सबै समस्या समाधानको अचुक उपाय हो ? हो भने यसमा विश्वस्त हुने मुख्य आधार के के हुन् ? 

आठौँ प्रश्न– अबको प्रधानमन्त्री आममतदाताबाट प्रत्यक्ष निर्वाचित हुनुपर्छ भन्ने माग तपाईंहरूको छ । करिब ३५ वर्षदेखि सरकार चलाएका मुख्य दललाई तपाईंहरू पुराना दल भन्नुहुन्छ । प्रत्यक्ष निर्वाचित हुनुपर्छ भन्ने माग पुराना भनिएका दलका नेताहरूले गरेको गल्तीले र तिनले चलाएको कुशासनले सिर्जना गरेको आवेगबाट उपन्न भएको हो कि देशको आवश्यकता हो ?   

नवौँ प्रश्न– अबको प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित कि वर्तमान संविधानको व्यवस्थाअनुसार संसदबाट निर्वाचित भन्ने विवादकै कारणले आगामी फागुन २१ मा निर्वाचन हुन सकेन भने के हुन्छ ? देश कुन–कस्तो सरकारले चलाउँछ ?  

प्रिय जेनजी साथीहरू, 

आममतदाताबाट प्रत्यक्षरूपमा प्रधानमन्त्री निर्वाचित गर्नुअघि यी प्रश्नहरूको प्रष्ट जबाफ खोज्न तपाईंहरूलाई आग्रह छ । तपाईंहरू गहन छलफल, परामर्श, आफ्नै देशको अनुभव र विश्वका विभिन्न देशको अभ्यास तथा अनुभवका आधारमा संयमतापूर्वक ठोस निर्णयमा पुग्नुहुनेछ र देशलाई वर्तमानको सङ्क्रमणबाट मुक्त गर्न सहयोगी हुनुहुनेछ भन्ने विश्वास छ । 

(दृश्य टिभीको युट्यूव च्यानलका लागि तयार गरिएको सम्भाषण स्तम्भको शब्द सामग्री हो यो । समकालिन राजनीतिको सन्दर्भमा पत्रकार गोविन्द लुइँटेलको प्रस्तुति रहेको सम्भाषण नियमित यहाँहरु समक्ष पस्कने प्रयाश गरिने छ ।)

भिडियो सामग्री हेर्न यो लिङ्क खोल्नुहोला- 

 जेनजी समूहसँग ९ प्रश्न : के तत्काल प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री सम्भव छ ?

 

 

प्रतिक्रिया