डुक्पाको कथा लेख्दै ‘महाभारा’ उक्लिए बसन्त  

काठमाडौं । बसन्त बस्नेतले पत्रकारको व्यक्तित्व हाराहारीमा लेखकको अर्को व्यक्तित्व उभ्याएका छन् । शनिबार नयाँ कृति ‘महाभारा’ लोकार्पण भएपछि वक्ताहरुले बसन्तको नयाँ व्यक्तित्व उभिएको औंल्याएका थिए । काठमाडौंको बौद्धस्थित तारागाउँ म्युजियममा छोरी अनुदिताको हातबाट  आफ्नो नयाँ कृति लोकार्पण गरेपछि बसन्त पुस्तक वार्तामा खुलेका थिए ।

‘महाभारा मेला’ नामाकरण गरिएको लोकार्पण कार्यक्रममा कवि उपेन्द्र सुब्बाले किताबबारे रोचक टिप्पणी गरे । युद्धको क्रुर समयमा हुर्केको सुन्दर प्रेम कथा नै ‘महाभारा’ रहेको उनको भनाइ छ । ‘मलाई त यस्तो लाग्छ, यो पहरामा फुलेको अम्लारी फुङ (सुनाखरी फूल) हो,’ उनले भने ।

लेखक बस्नेत र पत्रकार एवं लेखक शिवानीसिंह थारुको साहित्य संवादले पुस्तकको वृत्तान्त खुलाएको थियो । ‘नेपालका विभिन्न क्षेत्रमा विभिन्न किसिमका लबजमा नेपाली भाषा बोलिन्छ । त्यसलाई साहित्यमा ल्याउने काम जटिल नै छ,’ उनले भनिन्, ‘तर बसन्तजीले पूर्वेली लिम्बू लबजलाई नेपाली भाषामा जसरी उतार्नुभएको छ, त्यो अति मीठो छ । यही नै यसको सशक्त पक्ष हो ।’

कोभिडका कारण सुरु भएको लकडाउनमा आफूले समय पाएको र त्यही बेला उपन्यास लेखनलाई गति दिएको बस्नेतले   बताए । ‘लकडाउनले धेरैलाई कवि बनायो । मलाई उपन्यासकार,’ उनले भने, ‘एउटा कथानक धेरै अघिदेखि हृदयमा गुम्फिइरहेको थियो, जुनसुकै बेला ल्यापटपमा तप्किन तयार । पहिलो मस्यौदा लेखिइँदा म नेपाल म्यागजिन सम्पादन गर्दै    थिएँ ।’

संवादसँगै रिदम कँडेलले सांगीतिक प्रस्तुति दिएका थिए । कँडेलको प्रस्तुतिपछि कवि नवराज पराजुलीले कविता प्रस्तुत गरेका थिए । कार्यक्रममा लोचन रिजालले समेत सांगीतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा प्रकाशकका तर्फबाट फाइनप्रिन्टका अजित बरालले आफ्नो धारणा राखेका थिए । आफू ‘महाभारा’लाई लिएर अति उत्साहित भएको उनले बताए । ‘स्मरणीय पात्रहरू, हास्यरसको प्रचुरता र नेपाली आख्यानमा विरलै पाइने संवादले ‘महाभारा’ लाई पछिल्लो समयमा प्रकाशित राम्रा आख्यानको पङ्क्तिमा दरिलोसँग उभ्याउनेछ भन्नेमा म विश्वस्त छु,’ उनले भने ।

महाभारा मेलामा गायिका झुमा लिम्बू र उनको रैथाने समूहको प्रस्तुतिसमेत रह्यो । उनको समूहले विशेषगरी ‘महाभारा’ पुस्तकको थिममा आधारित रहेको साङ्गीतिक प्रस्तुति दिएको थियो । कार्यक्रममा टोमस कारोस्को र मनीष गन्धर्वको समेत प्रस्तुति थियो ।

प्रेम, राजनीति र धर्मको त्रिकोणात्मक द्वन्द्वमा बुनिएको महाभारा मूलतः डुक्पाको कथा हो । डुक्पा उटपट्याङ गरिबस्छ । पढ्नमा लद्दु तर ‘डुक्पा डान्स’ का लागि चर्चित छ । पालाम गाएरै सोल्टिनीहरूको प्रिय छ । त्यही डुक्पा अकस्मात् प्रेमिका सुक्मतीलाई छाडेर ड्राइभरी गर्न मधेस झर्छ । नचाहेरै उसको जिन्दगीमा युद्धको छिर्का छ्यापिन पुग्छ । उसले आफ्नो निर्णयप्रति सुक्मतीको घृणा बुझ्न पाउँछ, लारुम्बाको धार्मिक दस्ता काम्राङ र माओवादीबीचको तिक्तता अनुभव गर्छ । एक दिन उसको भेट आफ्नी प्रेमिका मन पराउने तान्छोहाङसँग हुन्छ, जसले उसको बाटो नै मोडिदिन्छ ।

मधुर पूर्वेली लबज र नेपाली साहित्यमा बिरलै देखिने सशक्त संवादको मीठो सम्मिश्रण हो, महाभारा ।    
 

प्रतिक्रिया