काठमाडौं । भारतको बिहार राज्यमा आजदेखि विधानसभा चुनावको पहिलो चरण अन्तर्गत मतदान सुरु भएको छ ।
कुल २४३ सिटमध्ये पहिलो चरणमा १८ जिल्लाका १२१ सिटका लागि बिहान ७ बजेदेखि मतदान भइरहेको हो, जुन साँझ ६ बजेसम्म चल्नेछ । पहिलो चरणको मतदानमा चर्चित नेतादेखि कलाकारसम्म प्रतिस्पर्धामा छन् । तेजस्वी यादव, तेजप्रताप यादव, अनन्त सिंह, लोकगायिका मैथिली ठाकुर, भोजपुरी गायक रितेश पाण्डे, फिल्म स्टार खेसारी लाल यादव र ओसामा शाहबलगायतका उम्मेदवार चर्चामा रहेका छन ।
मतदान पटना, वैशाली, नालन्दा, दरभंगा, बक्सर, सारण, सिवान, सहरसा, बेगुसराय, गोपालगञ्ज, समस्तीपुर, मधेपुरा, मुंगेर, लखीसराय, भोजपुर, मुजफ्फरपुर, खगरिया र शेखपुरा जिल्लामा भइरहेको छ ।करीब ३ करोड ७५ लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने अपेक्षा गरिएको छ। पहिलो चरणमा १,३१४ उम्मेदवार प्रतिस्पर्धामा छन् । मतगणना नोभेम्बर १४ मा हुने तय गरिएको छ । निर्वाचनका लागि ४५,३४१ मतदान केन्द्र स्थापना गरिएको छ भने सुरक्षाका लागि करिब ४ लाख ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रतिक्रिया