काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३४.२२ अंकले बढेको छ । यसअघि लगातार तीन कारोबार दिन बढेको नेप्से बुधवार भने सामान्य करेक्सन भएको थियो ।
बुधबार २,५६६.१६ विन्दुमा झरेर रोकिएको नेप्से परिसूचक यसदिन २६००.३८ अंकमा उक्लेर रोकिएको हो । आज सेन्सेटिभ इन्डेक्स ५.४० अंकले बढेको छ भने फ्लोट इन्डेक्स २.३७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.९३ अंकले बढेको छ । यसदिन पसिूचक बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज कुल ३१९ स्टकको ५३ हजार ११२ पट्कको कारोबार मार्फत ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार ४७३ रुपैयाँ बराबरको २ करोड ६० लाख १० हजार ७ सय १८ कित्ता शेयर कारोबार भएको छ ।
यसअघि बुधवार ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार रुपैयाँ बराबरको १ करोड १५ लाख १ हजार कित्ता शेयर कारोबार भएको थियो । यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन गुराँस लघुवित्त वित्तिय संस्था लिमिटेड र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । गुराँस लुवित्तको शेयर प्रतिकित्ता १० प्रतिशतले बढेर २३१० रुपैयाँमा अन्तिम कारोबार भएको छ भने उन्नती सहकार्य लघुवित्तको शेयर पनि मूल्य प्रतिकित्ता १० प्रतिशतले नै बढेर २००२.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै, यस दिन सुपर माई हाईड्रो पावर, गणपति लघुवित्त र पिपुल्स हाईड्रोपावर कम्पनीकोे शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।
आज एनआईबिएल सवल फण्डको इकाई मूल्य सर्वाधिक घटेको छ । यस म्यूचुअल फण्ड ५.७० प्रतिशतले घटेको हो भने सानिमा ग्रोथ फण्डको इकाईमूल्य ५.२४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा यस दिन हिमालयन बैंकको संस्थापक शेयर सर्वाधिक बढेको छ । सो कम्पनीको यस दिन एक अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका कुल १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने म्यूचुअल फण्ड समूहको परिसूचक घटेको छ । यस दिन हाईड्रोपावर उपसमूहको परिसूचक सर्वाधिक २.६७ प्रतिशत बढेको छ । विकास बैंक, वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशत भन्दा बढीले बढेको हो ।
प्रतिक्रिया