दृश्य टिभी खोज समाचार

समीट अपार्टमेन्ट होटल स्वीकृति बिना निर्माण गरेको खुलासा र पूर्व मन्त्री रविभक्त श्रेष्ठ समूहको झुटो स्पष्टीकरण

काठमाडौं । ललितपुर बखुण्डोलस्थित निर्माणाधीन समीट अपार्टमेन्ट होटलको भवन सरकारी निकायको पूर्व स्वीकृति नै नलिई आफूखुशी निर्माण गरिएको तथ्य सरकारी अनुसन्धान समितिबाटै खुलासा भएको छ । यस्तो कुरा थाहा भएपछि स्थलगत अध्ययन गर्न गठित समितिलाई समीट अपार्टमेन्ट सञ्चालकले सरासर भुटो दावी जानकारी गराएको पनि समितिले लिखित रुपमै उल्लेख गरेको छ ।

समीट होटल प्रालि तथा अपार्टमेन्टको निर्माणको क्रममा वरपरका आठवटा घरहरु धेरैजसो गम्भीर क्षति र केही आंशिक रुपमा क्षतिग्रस्त भएपछि पीडक र पीडित पक्षबीच तत्काल केही महत्वपूर्ण बिषयमा सहमति भएको थियो । त्यसपछि सरकारी निकायसम्म यसको जानकारी पुगेपछि शहरी बिकास मन्त्रीस्तरको निर्णयले विशेषज्ञहरु सम्मिलित एउटा स्थलगत छानविन समिति गठन भएको थियो ।

२०८० वैशाख ३ गते गठित समितिमा मचाकाजी महर्जन- उपमहानिर्देशक भवन महाशाखा शहरी बिकास तथा भवन निर्माण विभाग, उपेन्द्र केशर खनाल- उपसचिव कानून शहरी बिकास मन्त्रालय, सिडिई सफल श्रेष्ठ- जिल्ला आयुक्त जिल्ला आयुक्तको कार्यालय ललितपुर, डा. गोकर्ण मोबा- इन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोक क्याम्पस, डा. भीमकुमार दाहाल- इन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोक क्याम्पस, डा. पुरुषोत्तम डंगोल- विज्ञ, प्रदिप पौडेल- ललितपुर महानगरपालिका, मन्दीप सुवेदी- नेपाल भूप्रविधि समाज, उदयराज न्यौपाने- नेपाल भूप्रविधि समाज, प्रवीण रेग्मी- भवन संहिता तथा मापदण्ड शाखा शहरी बिकास तथा भवन निर्माण विभाग, माधव कटुवाल- भवन संहिता तथा मापदण्ड शाखा शहरी बिकास तथा भवन निर्माण विभाग र सिडिई मनोज नकर्मी- भवन संहिता तथा मापदण्ड शाखा शहरी बिकास तथा भवन निर्माण विभाग रहेको समिति गठन गरिएको थियो ।

यो समितिले मिति २०८० वैशाख २० गते नै स्थलगत अध्ययन गरी प्रतिवेदन पेश गरेको थियो । समितिले समीट अपार्टमेन्ट सञ्चालकसँग किन स्वीकृति नलिई निर्माण गरेको भनेर लिखित प्रश्न सोधेको थियो । त्यसको जवाफमा समीट सञ्चालकले यस्तो जवाफ दियो– ‘यस कम्पनीको नाममा दर्ता रहेको ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नम्बर १ र २ अवस्थित रहेको जमिनको भौतिक संरचना हेर्दा उत्तर तर्फको माटो बगी वरपर क्षति हुनसक्ने आँकलन गरी सँधियारको घरजग्गाको सुरक्षा लगायत क्षति न्यूनिकरणका लागि सम्बन्धित वडा, यस कम्पनी र सँधिकारको पहलमा क्षति न्यूनिकरणको उपाय अन्तर्गत उक्त निर्माण कार्य सुरु गर्न अगावै protection piling को कार्य गर्नुपर्ने आवश्यकता महसुस गरी protection piling सुरु गरिएको ।’

यसमा टिप्पणी गर्दै समितिले प्रतिवेदनमा उल्लेख गरेको छ– ‘यसरी प्रचलित कानून बमोजिम योजना स्वीकृति, वातावरणीय प्रभाव मूल्याङ्कन र निर्माण स्वीकृतिको प्रक्रिया पूरा नगरी निर्माण स्थलमा piling र उत्खनन्का कार्यहरु सरकारी निकायले रोक्न निर्देशन दिएपश्चात समेत अगाडि बढाएको छ ।’

यो अपार्टमेन्ट निर्माण सुरु गर्दा व्यवसाय नै बन्द गर्नुपर्ने गरी क्षतिग्रस्त भएको सीमा जोडिएको ग्रिनवीच भिलेज होटलले दुइ पक्षबीच भएका सम्झौता कार्यान्वयन गर्न निरन्तर तागेता गर्दा पनि झुलाउने र निर्माण कार्यलाई निरन्तरता दिने गरिएको भनेर ललितपुर महानगरपालिकाको सम्बन्धित महाशाखामा जानकारी गराउँदा समेत उपेक्षा गरिएको जानकारी दिएको छ । 

साथै, समीट अपार्टमेन्टले ललितपुर महानगरपालिकासँग केकसरी इजाजत  र अनुमति लिएर भवन निर्माण गरेको हो, त्यसबारे विस्तृत जानकारी दिन सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३,४,७ र ८ उल्लेख गरी माग समेत गरिएको छ । सरकारको सम्बन्धित निकायको पूर्व स्वीकृति नलिई बलमिच्याईंका आधारमा महत्वाकांक्षी व्यवसायिक भवन निर्माण भैरहेको र पीडित पक्षलाई उपेक्षा गरिएको अवस्थामा महानगरसँग सम्पूर्ण सूचना माग गरिएको ग्रिनवीच भिलेज होटल व्यवस्थापनले जानकारी दिएको छ ।

यससम्बन्धमा महानगरका भवन महाशाखा प्रमुख श्रीकुमार महर्जनसँग पटक पटक सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन । त्यसैगरी समीट अपार्टमेन्टका सञ्चालक रबिभक्त श्रेष्ठ, निर्वाण चौधरी र सञ्चित कृष्ण श्रेष्ठसँग पनि फोन सम्पर्क हुन सकेन ।

रबिभक्त श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष र शाही शासनका बेला राजाको नेतृत्को सरकारका मन्त्री हुन् भने निर्वाण चौधरी खर्बपति तथा कांग्रेस सांसद बिनोद चौधरीका सुपुत्र हुन् । 

यस्तो छ पृष्ठभूमि

नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य खर्बपति बिनोद चौधरीले सत्ताको प्रभाव प्रयोग गरेर आफैंले पीडा दिएका व्यवसायी र स्थानीय बासिन्दालाई अन्याय गरिररहेको पाईएको छ । चौधरीको स्वामित्व रहेको समीट होटलको नयाँ अपार्टमेन्ट होटल निर्माण भैरहँदा सुरुदेखि ठूलो आर्थिक क्षति बेहोरेका छिमेकका व्यवसायी र स्थानीय बासिन्दाले आर्थिक र मानसिक क्षति भोगिरहेको पीडितले बताएका छन् ।

ललितपुर महानगरपालिकाको बखुण्डोलस्थित पुरानो समीट होटल रहेकै स्थानमा निर्माणाधीन समीट अपार्टमेन्ट होटल प्रालिले छरछिमेकमा पुगेको भौतिक क्षति र पुननिर्माण वापत भुक्तानी गर्नुपर्ने रकम उपलव्ध गराउन आनाकानी गरेर झुलाईरहेको पीडित पक्षले बताएका छन् । 

ललितपुर महानगरपालिकाको वडा नम्बर १ र २ मा झण्डै तीन वर्ष पहिले समीट होटलकै नयाँ अपार्टमेन्ट सहितको अत्याधुनिक होटल निर्माण सुरु गर्दा छिमेकका छ वटा घर र सीमा जोडिएको ग्रीनवीच होटलमा समेत गम्भीर क्षति पुगेको थियो । छरछिमेकमा क्षति पुगेपछि पीडित पक्षले आपत्ति गरेलगत्तै २०७९ चैत २६ गते सरोकार पक्षको उपस्थितिमा आकस्मिक भेला गरी केही निर्णयहरु भएका थिए । 

समीट अपार्टमेन्ट होटल निर्माण गर्दा प्रभावित व्यक्तिहरुका समस्या तत्काल समाधान गर्न, सम्वोधन गर्न र सहजीकरणको अगुवाई गर्न भनेर एक अधिकार सम्पन्न सर्वपक्षीय समिति नै गठन गरिएको थियो । ललितपुर महानगरपालिका उपप्रमुख  मञ्जली शाक्य बज्राचार्य संयोजक रहेको समितिमा महानगरका प्रवक्ता राजु महर्जन, महानगरका वडा नम्बर १ र २ का वडा अध्यक्षहरु, जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रतिनिधि, समीट अपार्टमेन्ट होटलको व्यवस्थापन तर्फबाट प्रतिनिधि सञ्चित श्रेष्ठ, प्रभावित व्यक्तिहरुका तर्फबाट रञ्जनध्वज बिष्ट, रचना शाही र प्रवीण आचार्य तथा ललितपुर महानगरपालिकाको पूर्वाधार निर्माण महाशाखा प्रमुख सदस्य रहेका थिए ।

प्रतिवध्दता यस्तो थियो

उपप्रमुखको संयोजकत्वमा समिति गठन भएपछि विभिन्न प्रतिवध्दता सहितका निर्णयहरु भएका थिए । यो समितिले, समीट होटल परियोजनाबाट प्रभावित व्यक्तिहरुको समस्या सम्वोधन गर्ने प्रयोजनका लागि तत्कालका लागि १ करोड रुपैंयाँ र्यापिड रिलिफ फण्ड स्थापना गर्ने र उक्त फण्डमा आवश्यकता अनुसारको खर्च व्यवस्थापकबाट थप गर्दै जाने निर्णय भएको थियो ।

त्यसैगरी यस समितिले आवश्यकता अनुसार र्यापिड रिलिफ फण्ड परिचालन विधि, तरिका, प्राविधिक टोली, जोखिमको आँकलन र सम्वोधन लगायतका आवश्यकता अनुसारका कार्यहरु गर्ने, कोषको परिचालन र व्यवस्थापन समितिले गर्ने, कोषको परिचालन, व्यवस्थापन र सञ्चालन विधि समितिले निर्णय गरे वमोजिम हुनेछ भनेर निर्णय गरिएको थियो ।

समितिले सम्वध्द पक्षसँग समन्वय, सल्लाह गरी समाधानका उपायहरु पहिचान एवं कार्यान्वयन गर्ने, भत्केका संरचना, चर्केका घर लगायतका प्रभावित संरचनाहरुको क्षति बमोजिमको क्षतिपूर्ति व्यवस्थापनले उपलव्ध गराउने, थप क्षति हुन नदिने सुनिश्चितता सहित आवश्यक काम कारबाही तत्काल व्यवस्थापनले अगाडि बढाउने, प्रभावित संरचना, व्यक्तिहरुको सम्वोधन क्षतिपूर्ति र परिपूरणको काम सम्वोधन नभएसम्मका लागि होटल निर्माण कार्य सम्बन्धी सबै कार्य रोक्ने, महानगरपालिकाबाट नक्शा पास स्वीकृत नगराई निर्माण कार्य गरेको देखिएको बिषयमा महानगरपालिकाले सम्बन्धित पक्षलाई कानून बमोजिम हदैसम्मको कारवाही गर्ने, होटल व्यवस्थापनको तर्फबाट मिति २०७९ चैत २५ गते गरिएका प्रतिवध्दताहरुलाई यसै निर्णयको एनेक्सको रुपमा राखी सम्वोधन गर्दै जाने र डिस्मेन्टलिङ्ग र ब्याक फिलिङ्ग लगायतका अन्य प्राविधिक कार्यहरु गरी जोखिमशून्य अवस्थाको सुनिश्चितता व्यवस्थापनले गर्ने र सो प्रयोजनका लागि आवश्यकता अनुसार प्राविधिक टोली परिचालन र जिम्मेवारी विभाजन गरी अनुगमन लगायतका कार्यहरु समितिले गर्ने भनेर लिखित सहमति भएको थियो ।

यस्तो थियो पहिलो सम्झौता

२०७९ चैत २४ गते मध्यरातमा समीटले जमिन सम्याउने क्रममा वरिपरिका घर र होटलमा क्षति पुगेपछि भोलिपल्ट २५ चैतमा होटलका मुख्य सञ्चालकहरु रविभक्त श्रेष्ठ र निर्वाण चौधरी र प्रभावित व्यक्तिहरुको उपस्थितिमा विभिन्न १० बूँदे सम्झौता भएको थियो । 

जसमध्ये निर्माण क्षेत्रमा क्षति भएका घरजग्गाहरु यथास्थिति बनाई दिने र भविष्यमा हुनजाने प्रकोपलाई कम्पनीले व्यवस्थित रुपले निर्माण कार्य गरिदिने, चोटपटक लागेका व्यक्तिहरुको उपचारको व्यवस्था गरिदिने, घरजग्गामा हुन गएको क्षतिको उचित क्षतिपूर्ति निकाल्न ललितपुर महानगरपालिकाबाट इञ्जिनियर, निर्माण कम्पनीको इञ्जिनियर र पीडित पक्षको इञ्जिनियर टोली गठन गरी क्षतिपूर्ति निर्धारण निर्धारण गर्ने, घरबार विहीन भएकालाई कम्पनीले घर पुननिर्माण गरिदिने, पुननिर्माण नहुञ्जेल अस्थायी बसोबासको व्यवस्था गरिने, ग्रीनवीच होटललाई हुनपुगेको क्षतिपूर्ति सम्बन्धी कार्यलाई कम्पनीको तर्फबाट प्रदान गरिने लगायतका विभिन्न निर्णयहरु भएका थिए । यो निर्णयलाई महानगरपालिकाको निर्णयकै एक अंग मानिने छ भनेर उपप्रमुखको संयोजकत्वमा बनेको समितिले निर्णय गरेको थियो ।

चैत २५ गतेको बैठकमा नेपाली कांग्रेसका नेता तथा पूर्व राज्यमन्त्री उदय शमशेर राणाको समेत उपस्थिति रहेको थियो । होटलका मुख्य सञ्चालक रविभक्त श्रेष्ठ पनि पूर्व मन्त्री हुन् भने नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष हुन् । अर्का सञ्चालक निर्वाण चौधरी उद्योगपति तथा नेपाली कांग्रेसका सांसद बिनोद कुमार चौधरीका पुत्र हुन् । रविभक्त र निर्वाण स्वयंले हस्ताक्षर गरेको सम्झौता त्यसपछिका दिनहरुमा इमान्दारिताकासाथ पालना नगरिएको पीडित पक्षले गुनासो गरेका छन् ।

स्मरणीय छ, त्यसपछि मन्त्रीस्तरमा र प्राविधिक तहमा समेत समीट होटलले प्रचलित भवन संहिता पालना नगरी उल्लंघन गरेको ठहर गर्दै त्यसलाई कडाइका साथ पालना गर्न निर्देशन दिएको थियो । त्यसैगरी उच्चस्तरीय प्राविधि टोलिले विभिन्न त्रुटीहरु औंल्याउँदै समीटलाई चेतावनी समेत दिएको प्रमाणहरु दृश्य टिभीलाई प्राप्त भएको छ ।

नेपालका खर्बपति बिनोद चौधरीले आफू सम्बध्द दल नेपाली कांग्रेस र चन्दा सहयोग दिँदैआएका अन्य दलको समेत राजनीतिक प्रभाव प्रयोग गरेर महानगरपालिका र अन्य सरकारी निकायलाई उपेक्षा गर्दै अपार्टमेन्ट निर्माणलाई निरन्तरता दिएको बुझिएको छ । राजनीतिक दवदवाकै कारण ललितपुर महानगरपालिका र भवन निर्माण आचारसंहिताको अनुगमन गर्ने निकायले उदासिनता देखाएको थाहा भएको छ । यसबारेमा महानगरपालिका सम्बध्द अधिकारीहरु सम्पर्कमा आउन चाहेनन् । 

समीट अपार्टमेन्ट होटलले पीडित पक्षलाई पूर्व सम्झौता अनुसारको क्षतिपूर्ति रकम उपलव्ध गराउन आनाकानी गरेर प्रचलित कानून अनुसारको मापदण्डको समेत उलंघन गर्दा पनि ललितपुर महानगरपालिका भने रमिते बनेको देखिएको छ ।

(समीट अपार्टमेन्टको निर्माण सुरु हुँदा तत्काल उत्पन्न अवस्था देखि आजसम्मका सप्रमाण विवरण दृश्यटिभीसँग सुरक्षित रहेका छन्।)
 

प्रतिक्रिया