सत्ता गठबन्धनले बनाएको समन्वय संयन्त्रको औचित्य छैनः नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्ता गठबन्धनले बनाएको राजनीतिक समन्वय समिति आवश्यक नभएको बताएका छन् ।

गणेशमान सिंहको १०७ औं जन्मजयन्तीका अवसरमा बुधबार बिहान काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले सरकारलाई नियन्त्रण गर्ने खालका संयन्त्र बनाउन जरूरी नै नरहेको बताएका हुन् । उनले संविधानअनुसार पनि यस्तो संयन्त्रको औचित्य नरहेको बताए । ‘सरकारभन्दा माथि जस्तो संयन्त्र बनेको छ। यो संविधान र प्रजातान्त्रिक विधिविपरीत पनि हुन्छ,’ सिंहले भने ।

गठबन्धनको सरकार भए पनि राज्यसत्ता सरकारले चलाउने उनले बताए। ‘काम त सरकारले गर्नुपर्ने हो। तर समन्वय समिति बनाइएको छ। अहिलेको अवस्थामा यो आवश्यक छ जस्तो मलाई लागेको छैन,’ उनले भने। उच्चस्तरीय राजनीतिक समिति वा समन्वय समिति जे नाम दिए पनि सरकारलाई नियन्त्रणमा राख्न खोज्ने नियत रहेको उनको भनाइ थियो ।

‘नाम जे दिए पनि सरकारलाई कन्ट्रोल गर्ने मेकानिजमबाट यो बनेको छ। प्रजातान्त्रिक प्रणालीमा यो आवश्यक छैन,’ उनले भने। उनले सर्वोच्च अदालतमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल गर्नुपर्ने बताए।

‘न्यायालयमा देखिएका समस्या त्यहीँ भित्रबाट समाधान होस् भनेर मात्र हुँदैन। सरकार यस विषयमा मुकदर्शक भएर बस्न मिल्दैन,’ उनले भने, ‘गठबन्धन अनिर्णयको बन्दी हुनु हुन्न।’

‘न्यायालयमा देखिएका समस्याको कारण जनतालाई असुविधा भएको छ । कुनै व्यक्तिको स्वार्थका लागि जनताले दुःख पाइरहेका छन् ।’ उनले भने ‘संविधानको भावना र मर्म अनुसार विधिसम्वत तरिकाले यो समस्या समाधान गर्नु पर्दछ । अब यसका लागि सरकार नै अग्रसर हुनु पर्दछ ।’
साथै नेता सिंहले बर्तमान परिस्थितिमा अर्लि इलेक्सनको कुनै सम्भावना नभएको समेत बताए । उनले देशमा विधिको शासन स्थापना गराउन र संविधानको रक्षाको लागि बर्तमान सरकार बनेकाले संविधान अनुसार नै तोकिएको समयमा निर्वाचन हुने बताए ।

‘कुनै व्यक्ति विशेष र पार्टी विशेषको रुचिमा अर्लि इलेक्सन हुँदैन । संविधानको व्यवस्था अनुसार निर्वाचन हुन्छ ।’ नेता सिंहको भनाई थियो ।
उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै जनतामा जानुपर्ने धारणा समेत राखेका थिए ।

कांग्रेस जनताको पार्टी भएको र जनताले विश्वास गर्ने भएकाले आगामी चुनावमा कांग्रेसले गठबन्धन नगरि एक्ले जनतामा जानु पर्नेमा उनको जोड छ । कार्यक्रमा नेता सिंहले प्रजातन्त्र प्राप्तीको लागि गणेशमान सिंहले गरेको योगदान स्मरण गरेका थिए ।

कांग्रेस स्थापना र देशमा प्रजातन्त्र स्थापनाको लागि सर्वमान्य नेता गणेशमान सिंहको महत्वपूर्ण योगदान रहेको भन्दै नेता सिंहले गणेशमानले देखाएको बाटो बर्तमान कांग्रेसले पछ्याउनु पर्ने बताए । वि.सं २०४६ सालको परिवर्तन पछि तत्कालीन राजाबाट प्रधानमन्त्री हुने प्रस्ताव आउँदा अस्वीकार गरी गणेशमान सिंहले जनताले छानेका व्यक्ति प्रधानमन्त्री हुनुपर्दछ भन्ने सन्देश त्यतिबेला नै प्रवाह गरेको उनले बताए ।
 

प्रतिक्रिया