नोक्सानीमा रहेको जोशी हाइड्रोपावरलाई सेबोनले दियो हकप्रद निस्कासनको स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलाई ६५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति दिएको छ ।

मङ्सिर २० गते धितोपत्र बोर्डमा हकप्रद शेयर निष्कासनको प्रस्ताव पेश गरेको कम्पनीलाई सेबोनले सोमबार हकप्रद शेयर निष्कासनका लागि स्वीकृति दिएको हो । सेबोनले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर ०.६५ को अनुपातमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि अनुमति दिएको हो ।

हालको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको कम्पनीको पूँजी हकप्रद निष्कासनपछि ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले प्राप्त हुने पूँजीलाई आयोजनाहरूको निर्माण तथा विकासमा खर्च गर्ने बताएको छ ।

नोक्सानीमा रहेको यस्तो कम्पनीलाई नेपाल धितोपत्र बोर्डले कसरी हकप्रद सेयर निस्कासनको स्वीकृति दियो भन्ने तर्फ कसैले ध्यान दिएको देखिदैन । प्रतिसेयर नेटवर्थ जम्मा ४८ रुपैयाँ ५७ पैसा रहेको जोशी हाइड्रोपावरले हकप्रद सेयर निष्कासनको स्वीकृति पाउनुमा सेबोनको नियतमाथि आशंक गरिएको छ ।

कम्पनीले १ बराबर ०.६५ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि स्वीकृति पाएको हो । कम्पनीले २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

सोमबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ३९९ रुपैयाँ छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्म कम्पनी १ करोड ७८ लाख ३५ हजार रुपैयाँ खुद नोक्सानीमा छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८० पैसा ऋणात्मक छ ।

 
 

प्रतिक्रिया