काठमाडौं । ‘नेपाली काङ्ग्रेस र माओवादी मिलेर चुनाव गर्ने तर सरकार भने माओवादी र एमालेको बन्ने, किन कसैले नेतृत्वसँग प्रश्न नगरेको ? किन यस्तो भयो भनेर सोध्नुपर्दैन’? भनेर कड्किए नेपाली कांग्रेसका नेता शेखर कोइराला ।
चित्त नबुझेको बिषयमा नेतासँग प्रश्न गर्न हिच्किचाउन नहुने सुझाव दिँदै कोइरालाले शनिरबार भक्तपुरमा भने, ‘नेतृत्वसँग प्रश्न गर्न नसक्ने कार्यकर्ता वास्तवमा कार्यकर्ता नभएर दास हुन् ।’
नेपाली काङ्ग्रेस सबैभन्दा ठूलो पार्टी भएर पनि अगाडि बढ्न नसकेको चर्चा गर्दै नेता कोइरालाले भने, ‘अहिले हामी सबैभन्दा ठूलो पार्टी छौं । तर हामी तीन बर्षदेखि कहाँ छौं ? सोध्नु भयो कसैलाई वा सोच्नु भयो किन भनेर ? किन यस्तो भइरहेको छ भनेर कहिले सोच्नु भएको छ ? सबैभन्दा ठूलो पार्टी हुँदाहुँदै पनि करिब तीन वर्षदेखि केही भएको छैन भनेर कसैले कसैलाई प्रश्न गर्दैन ।’
कोइरालाको भनाई छ, नेपाली काङ्ग्रेस र माओवादी मिलेर चुनाव लडे तर चुनवा लगत्तै माओवादी र एमालेको सरकार बन्यो । किन अर्कै समीकरणको सरकार बन्यो भनेर हामी नेतासँग प्रश्न गर्दैनौ । यस्तो अवस्थामा पनि नेताहरुसँग कार्यकर्ताहरुले प्रश्न गर्न सकिदैँन भने उनीहरु दास हुन्छन् ।
आफैं आफैं बीचमा लड्ने प्रवृत्तिले नेपाली काङ्ग्रेसलाई कमजोर बनाउने गरेको बताउँदै कोइरालाले काङ्ग्रेस आफैंमा कमजोर नभएको जिकीर गरे ।
उनले भने, ‘काङ्ग्रेस चलायमान भएन भनेर भन्नुहुन्छ । म त के भन्छु भने काङ्ग्रेस यति धेरै चलायमान भएको मैले कहिले पाएको थिइनँ । मलाई आज खुसी के कुरामा लागेको भने तल्लो तहको जिल्लाबासीले आफ्ना कुराहरु स्पष्ट रुपले राख्नुभयो । तर हामीहरु त्यो सुन्न तयार छैनौं, नेताहरु त्यो सुन्न तयार छैनन् ।’
प्रतिक्रिया