काठमाडौं । ०७९ को आमनिर्वाचनमा झापा एकबाट बिजयी भएपछि मतदाताले घसिदिएको अबीर राम्रोसँग पखालिन नपाउँदै राजेन्द्र लिङ्देनलाई मन्त्री बन्न हतार भयो । उपप्रधान सहित जलस्रोत, उर्जा र सिंचाई मन्त्रालयको जिम्मेवारी पाएका लिङ्देन कति दिन त्यो पदमा रहे भन्ने कुराको हेक्का उनी स्वयंलाई पनि छ कि छैन, यसै भन्न सकिँदैन ।
यसो भनिरहनु पर्दैन कि यी राजकीय पदमा नियुक्त हुँदा लिङ्देनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सिध्दान्तत मूल आधार मानेर संविधान सभाले निर्माण गरी घोषणा गरेको संविधान अनुसार पद तथा गोपनियताको शपथ खाएका थिए ।
त्यसपछि सरकारहरु फेरिए, संसदभित्रको भूमिका र हैसियतमा पनि त्यही अनुसार अदलबदल भैरह्यो । भ्रष्टाचार, अनियमितता र नीतिगत अपचलनका कैयौं मुद्दा प्रकाशमा आए । चर्को बहस भयो, जनताले सरकार र दलका नेताको उछित्तो काढे । गम्भीर अनुसन्धान र निर्मम कानूनी कार्बाहीको माग भैरह्यो तर राजनीतिक सौदाबाजीमा जनताका आवाज दमन भैरह्यो, असन्तुष्टि बढ्दै गयो ।
नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र सत्ताको घुम्नेमेच वरिपरी चक्कर लगाईरहे, लगाईरहेकै छन् । त्यसपछि लिङ्देनले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी न सत्तामा फर्कियो न त प्रतिपक्षको प्रभावकारी योगदान गर्न सक्षम भयो ।
सत्तामा जानु अघिसम्म लिङ्देन अरु नेतालाई व्यंग कस्दै यसो भन्थे, ‘गाउँघरमा नेता गए भने जनताले परैबाट औंलो ठड्याएर देखाउँदै भन्दैछन् उ चोर आयो ।’ तर निर्वाचनमा नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलालाई हराउने उदेश्यपूर्तिका लागि एमाले अध्यक्ष ओलीको वैकल्पिक छनौटमा परेका उनी आफैं गाउँ फर्किँदा जनता के भनिरहेका छन् त्यो लिङ्देनले राम्रैसँग सुनिरहेका होलान् । मुखले भन्नु र कर्म गरेर फत्ते गर्नुमा निकै ठूलो अन्तर छ भन्ने कुरा भोग्दै जाँदा थाहा हुने हो । लिङ्देनलाई यस्तो अनुभूति भैरहेको हुनुपर्छ ।
झापाको स्वावलम्बी किसान परिवारको सन्तान, सुसंस्कृत व्यवहार र जुझारु जीवनशैली भएका यी लिङ्देन अहिले निर्वाचन जितेपछिको जस्तो आशालाग्दा, प्रभावशाली र भविष्यदर्शी लाग्दैनन् । बिस्मृतिमा परिसकेको उनको सत्तारोहणले लिङ्देनलाई सारै छिटो जोख्यो र उनको राजनीतिक वजन बजारमा ल्याईदियो । सामन्त र कुलिन पूर्व पञ्च परिवारको कब्जामा रहँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा चुनिँदाको समयमा जस्ता पनि रहेनन् लिङ्देन । उनै शारीरिक रुपमा शिथिल हुँदै गएका पूर्व पञ्चहरुको लहरमा उभिएका छवि चैं स्वच्छ भएका जमिनबाट उदाएका नेता र राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षका रुपमा मात्र गणना गरिन थालेका छन् उनी ।
देशमा राजसंस्था पुनर्स्थापनाको आन्दोलनको नेतृत्व यिनै राजेन्द्र लिङ्देनको काँधमा थमाईएको छ । निर्मल निवासले लिङ्देनलाई यो जिम्मेवारी सुम्पिएकामा दौरासुरुवाल लाएर सदैव अग्रपंक्तिमा उभिने आदत बसेका पूर्व पञ्चहरु रन्थनिएका देखिन्छन् । खासगरी लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पद निर्वाचनबाट प्राप्त गरेपछि असह्य भएर उस्तै नामको अर्को दल स्थापना गरेर अध्यक्ष भैरहने तृष्णा मेटिरहेका कमल थापा सबैभन्दा बढी आहत बनेको स्पष्ट देखिएको छ ।
पूर्व राजाको कटू आलोचना गरेर फेरि उनकै छत्रछाँयाँमा लुटपुटिन पुगेका थापा पुनस्थापनाको आन्दोलनमा सबैभन्दा क्रान्तिकारी देखिने प्रयाश गरिरहेका छन् । लिङ्देन र थापाको तिक्ततापूर्ण प्रतिष्पर्धाको तानातानमा राजावादी आन्दोलन लर्खराउन पुगेको छ ।
अरु नेता र कार्यकर्ताहरु यिनकै इशारामा पंक्तिवध्द हुनथालेपछि उत्साहित बनेका आन्दोलनकारीहरु शिथिल हुँदै गएका देखिन्छन् । लिङ्देन र थापाको चिसो सम्बन्ध नै राजावादी आन्दोलनको एम्बुस जस्तो बनेको बुझ्न सकिन्छ । संविधान सभाबाट संविधान निर्माण हुँदा र घोषणा हुँदासम्मका दिनहरुमा थापाले निर्वाह गरेको भूमिकाबाट सशंकित कतिपय पहिलो पंक्तिका नेताहरु पछिल्ला दिनमा आन्दोलनको दृश्यबाट हराएका छन् ।
डाक्टर जगमान गुरुङ्गको मार्गचित्र अनुसार, नाती सहित नारायणहिटीको धार्मिकक्षेत्र अवलोकन पछि पूर्व राजा झापाको दमक प्रवासमा छन् । कृषकाय नेता नवराज सुवेदीको संयोजनमा आह्वान गरिएको पछिल्लो परामर्श बैठकमा अध्यक्ष लिङ्देनको अनुपस्थिति र राप्रपा नेपालका अध्यक्ष कमल थापाको चुरीफुरीले आन्दोलन हुरीबतासमा पसेको वायुयान जस्तै गन्तव्यहीन अवस्थामा देखिएको छ ।
प्रतिनिधिसभाको सदस्य पनि भैरहनु परेको छ भने संघीय लोकतान्त्रिक गणतन्त्र आत्मसात गरेको संविधान पनि अस्वीकार गरिरहनु परेको छ । यो विवादास्पद र द्वैध चरित्र जस्तो देखिने अडानले राष्ट्रिय प्रजातन्त्र पार्टीको पहिचानमाथि प्रश्न उठ्ने परिस्थिति सिर्जना भैरहेको छ भने अध्यक्ष लिङ्देन स्वयं नैतिक संकटमा परेका छन् । राजसंस्था पुनस्थापनाको आन्दोलनको अगुवाई र गणतन्त्रको संविधान अनुसारको सांसद पदमा विराजमान भैरहेको अवस्था के स्वाभाविक लाग्दछन् र ? यसको राजनीतिक मूल्य चुकाउन पर्दा केवल अध्यक्ष लिङ्देन एक्ला पर्ने छन् ।
राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष तथा गाउँ फर्क राष्ट्रिय अभियानका समेत पूर्व अध्यक्ष नवराज सुवेदीको अगुवाईमा जारी आन्दोलनले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र परास्त भएर जनताले नै विदा गरिसकेका राजाले नारायणहिटी फर्किएर मुकुट पहिरिने कुराको तालमेल मिलिरहेको देखिँदैन ।
जनसमर्थन, राजनीतिक आधार, सबल नेतृत्व र नैतिक दृष्टिले समेत राजावादी आन्दोलनलाई निरन्तरता दिन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई धर्मसंकट परिरहेको बुझ्न सकिन्छ । अरु नेता कार्यकर्ता त उनैले बालेको आगोमा हात सेक्ने मात्र हुन् ।
पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनी, बुध्दिमान तामाङ्ग, केशर बहादुर बिष्ट, धवल शमशेर राणा र रविन्द्र मिश्रहरु विभिन्न कारणले आन्दोलनको अग्रमोर्चामा उभिन असमर्थ भैसकेको कुरा जगजाहेर छ ।
यसरी एउटा काँध लिङ्देनको र अर्को काँध वयोवृध्द नवराज सुवेदीको– लाई वैशाखी टेकेर लर्खराईरहेको जस्तो देखिन्छ राजावादी आन्दोलन ! (तस्बिरहरु सामाजीक सञ्जालबाट साभार)
प्रतिक्रिया