काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालालाई भविष्यमा दलको र परिआउँदा देशकै पनि नेतृत्व गर्न सक्ने नेताका रुपमा गणना गरिएको पाईन्छ । आजका दिनमा कोइराला परिवारबाट राजनीतिमा सक्रिय नेतामा उनी अग्रपंक्तिमै देखिन्छन् । केही अपूर्णताहरु हुनसक्लान् तर सक्रिय नेताले सक्रियताबाटै त्यसको पूर्णता प्राप्त गर्दै जाने हो । कोइरालामा त्यो सम्भावना बलियै देखिन्छ ।
यी दुवै अवसर प्राप्त गर्न राजनीतिमा लामै नागबेली यात्रा गरिन्छ र सोझो बाटो भएर यहाँसम्म पुग्न बिरलै नेता मात्र सफल भएका छन् । कोइरालाको यात्रा कसरी अघि बढ्छ त्यो त भविष्यकै गर्भभित्र होला मार्गचित्र । भविष्यमा के हुन्छ भनेर पछि हुने घटनाहरु पहिले नै थाहा पाउनु उपयुक्त हुँदैन भनेका छन् महर्षि व्यासले आमा सत्यवतिलाई हस्तिनापुर दरबारबाट वानप्रस्थतिर लैजाने बेलामा । मानिसका जीवनमा पनि यस्तै नै हुँदै आएको देखिन्छ ।
यहाँ चर्चा नेता कोइरालाको व्यक्तित्वको या उनको भावी सफलता या असफलताको गरिन लागेको होइन । उनको सचिवालयका नामबाट फेसबूकमा पोष्ट गरिएको प्रचार सामग्री र त्यसको शैलीले यो टिप्पणी तयार गर्न प्रेरित गरेर मात्र कोइरालाका बारेमा केही शब्दहरु लेखिएको हो ।
‘डाक्टर शेखर कोइरालाज्यूको सूचना सञ्चार मञ्च, डाक्टर शेखर कोइरालाको सचिवालय’ नामको फेसबूक खातामा पोष्ट गरिएको सामग्री वरिष्ठ नेता कोइरालालाई सहयोग पुगोस् भनेर नै प्रचार गरिएको हुनसक्छ ।
आजको समय, डिजिटल दुनियाँमा खेलिरहेको रमाईरहेको आजको युवा पुस्ता र भविष्यका मतदाताको रुचिसँग कुनै तालमेल नै खान नसक्ने कोटीका शब्दहरुको भारी पस्किएर यस समयको सक्रिय नेताको सचिवालय परिचालन हुनु कत्तिको उपयुक्त र समय सान्दर्भिक होला भन्ने जिज्ञासा सचिवालयको फेसबूकमा आँखा परिसकेपछि जो कसैका मनमा उठ्न सक्छ । यदि यो आधिकारिक फेसबूक पेज हो भने यसतर्फ ध्यान जाँदा परिस्कार गर्न सहयोग नै पुग्ला । होइन अरु कुनै शुभेच्छुकले सञ्चालन गरेका रहेछन् भने पनि सुझाव आवश्यक देखिन्छ ।
एकजना सक्रिय नेताको सचिवालय पार्टीको कार्यकर्ताका भरमा मात्र सञ्चालन गर्दा त्यति व्यवसायिक हुनसक्दैन भन्ने भुक्तभोगीहरु सुनाउँछन् । विषयविज्ञ, देशकाल परिस्थिति अध्ययन मनन र विश्लेषण गर्नसक्ने क्षमता र अनुभव भएका प्रोफेसनल मानिसहरुको नियमित संगत सक्रिय नेताका लागि अनिवार्य मानिन्छ । भारतीय नेताहरुको व्यक्तित्व बिकासमा यस्ता संयन्त्रहरुको निकै ठूलो भूमिका र योगदान रहेको पाईन्छ । हाम्रा नेताहरुले जनतामा भिज्न पर्याप्त मेहनत गरेको देखिन्छ तर कता कता बिलिनु तरकारी खाएजस्तो पाईन्छ । नेताको सक्रियता चखिलो हुनुपर्छ अनिमात्र जनताले उसको खोजि गर्न थाल्छ । त्यसकारण पनि सचिवाय गुणस्तरीय, प्रभावकारी र सर्भिस डेलिभरी गर्न सक्ने क्षमताको हुन आवश्यक देखिन्छ । वरिष्ठ नेता कोइरालाको नामबाट प्रचारित सचिवालयले वरण गरेको सन्देशले त्यो वजन बोकेको देखिएन ।
भनाई नै छ, अति प्रशंसा र अति आलोचना, दुवै कुरा कुनै पनि क्षेत्रको नेतृत्वका लागि लाभ भन्दा बढी हानिकारक हुन्छ । आलोचनाले खारिएको र कामले मन जितेको नेतृत्व राजनीतिमा उपयुक्त मानिन्छ । आसक्त भक्तहरुको भजन र स्वस्तिप्रशस्तिमा रम्ने नेता जमिनमा उभिईरहन कठिन हुन्छ । इतिहासमा यस्ता कैयौं उदाहरण पाउन सकिन्छ ।
यो टिप्पणी कुनै अन्यथा मनसायले लेखिएको होइन, यो त हाम्रो देशका कुनै पनि दलका नेताले पूर्ण व्यवसायिक क्षमताको सचिवालयबाट सेवा लिउन् र आफ्नो पर्फरमेन्स बलियो बनाउन् भन्ने मात्र उदेश्यले हो । यसलाई त्यसैगरी ग्रहण गर्दा सकारात्मक उर्जा मिल्न सक्ला ।
सचिवालयले पोस्ट गरेको सन्देश जस्ताकोतस्तै– ‘यस्तो चाहिन्छ— विचारमा स्पष्टता, व्यवहारमा इमानदारी, अनि राष्ट्र र पार्टीप्रति निष्ठा। डास्शेखर कोइराला— एक त्यस्तो नाम हो, जसले नेपाली कांग्रेसको गौरवशाली इतिहासलाई मात्र होइन, यसको सम्भावनाशील भविष्यलाई पनि जोडेर हेर्नुहुन्छ। सिद्धान्तप्रति अडिग, संगठनप्रति समर्पित र परिवर्तनप्रति प्रतिबद्ध यो नेतृत्व आजको कांग्रेसलाई आवश्यक छ।
शेखर कोइरालाको बोलीमा होइन, काममा विश्वास छ। समावेशी कांग्रेस, सबल संगठन र भ्रष्टाचारमुक्त राजनीति उहाँका प्राथमिक एजेन्डा हुन्। उहाँले देखाएको विचारको स्पष्टता र व्यवहारको शालीनता आजको युवा पुस्ताले खोजिरहेको कांग्रेसको प्रतिबिम्ब हो।
अब हामीले सोच्ने बेला आएको छ— के हामी फेरि एकपटक सिद्धान्तमा टिकेको, विचारमा स्पष्ट र इमानदार नेतृत्व रोज्ने कि भावनामा बग्ने?
शेखर कोइरालालाई साथ दिऔँ— कांग्रेसको विचारलाई बलियो बनाऔँ। जय नेपाल’
(तस्बिर- सामाजीक सञ्जालबाट)
यसको स्क्रीनसर्ट यो हो-
प्रतिक्रिया