माओवादी महाधिवेशनः 'सहमति'मा केन्द्रीय सदस्यहरुको नाम घोषणा गर्ने तयारी

काठमाडौं । केन्द्रीय समितिको निर्वाचनका लागि सबै प्रक्रिया अगाडि बढाएको नेकपा माओवादी केन्द्रको बन्दसत्रको कार्यक्रम आइतबार दिउँसो एक बजेसम्मका लागि स्थगन भएको छ । यससँगै माओवादीको महाविधेशन पुनः एक दिन लम्बिएको छ । अघिल्लो आइतबार उद्घाटन गरिएको महाधिवेशन सात दिनसम्म पनि जारी रहेको छ ।

शनिबार साँझ निर्वाचन प्रक्रिया सुरु भए पनि सहमतिका आधारमा केन्द्रीय समिति चयन गर्ने भन्दै पुनः स्थगन गरिएको छ । शनिबार साँझ मात्रै माओवादीको निर्वाचन आयोगले उम्मेदवारको मनोनयनलगायत निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । महाधिवेशनस्थल कमलादीमा आज साँझको बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिका आधारमा केन्द्रीय समिति चयनका लागि राम्रो गृहकार्य भएको र थप गृहकार्य गर्नुपर्ने भएकाले बन्दसत्र आइतबारसम्मका लागि स्थगन गर्ने प्रस्ताव गरेका थिए ।

अध्यक्षले गरेको प्रस्तावलाई बन्दसत्रले स्वीकार गर्दै आजको सबै प्रक्रिया भोलिसम्मका लागि स्थगन गरिएको केन्द्रीय प्रचार तथा प्रकाशन समितिले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । त्यसअघि आजको बन्दसत्र अपराह्न १ बजेदेखि सुरु भएको थियो । बन्दसत्रमा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिएका थिए ।

उनले सुझाव समेटेर विधान परिमार्जन गर्ने र त्यसलाई आगामी केन्द्रीय समितिले अन्तिम रूप दिने जानकारी गराएपछि सर्वसम्मतिले पारित गरेको थियो । नयाँ विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक रहने व्यवस्था गरिएको छ । केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकामा बढाएर १५ प्रतिशत बनाइएको छ ।

महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्ने व्यवस्था गरिएको छ । पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुने प्रावधान राखिएको छ । गत आइतबार उद्घाटन गरिएको माओवादीको आठौँ महाधिवेशनमा सोमबार अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन र नेता गुरुङले विधान प्रस्तुत गरेका थिए ।

मङ्गलबार र बुधबार अपराह्नसम्म समूहगत छलफल चलाइएको थियो । समूहगत छलफलका लागि विभिन्न २५ समूह बनाइएको थियो । बुधबार र बिहीबार समूहगत छलफलका क्रममा उठेका विषयवस्तुमाथि टोली नेताले धारणा राखेका थिए । एक जनाका लागि १५ मिनेटको समय निर्धारण गरिएको थियो । शुक्रबार अध्यक्ष प्रचण्डले समूहगत छलफलका क्रममा उठेका जिज्ञासालाई सम्बोधन गरेका थिए ।

suchi-0112022032159-1000x0

प्रतिक्रिया