‘जिलेबीमा गुलियो जसरी पस्यो, प्रधानमन्त्रीको बिछ्यौनामा बिचौलिया उसरी नै घुस्यो!’

काठमाडौं । अनौपचारिक जानकारी अनुसार,  प्रधानमन्त्री केपी शर्मा ओली रातको तेस्रो प्रहर लागेपछिमात्र सुत्छन्। नेपाली कांग्रेसका महामन्त्री गगन थापा उमेर अनुसारको औसत समयमा रात छिप्पिन लागेपछि ओछ्यान चढ्छन्।

सन् १९५२ को २३ फेव्रुअरीमा जन्मिएका ओलीले ७३ पार गरिसकेका छन् भने थापा ४८ मै हिँडिरहेका छन्। सन् १९७६ को १६ जुलाईमा जन्मिएका थापा ओलीभन्दा २४ वर्षले कान्छा छन्। नेपाली चालचलन अनुसार भन्ने हो भने थापाका लागि ओली बाबु सरहको उमेरका नेता हुन्। 

तर यहाँ प्रसंग सत्ताको जो छ । अहिले सत्तामै छन् दुवै नेता भन्दा अन्यथा हुने छैन। ओली प्रधानमन्त्री छन्, उनलाई यो पदमा सहर्ष शतप्रतिशत समर्थन गर्ने नेपाली कांग्रेसका महामन्त्री थापा सरकारमा प्रत्यक्ष नबसेका भएपनि जसअपजसको भागिदार हुनेछन्।

महामन्त्री थापाले सार्वजनिक सभामा  खरो शैलीमा सरकारको आलोचना गरिदिएपछि सत्ताको सिंहासन तातेको छ। तातेको सिंहासनमा विराजमान प्रधानमन्त्री ओली यसै पनि तात्ने नै भए, उनी निकै तातेका छन्। उनको तापमान यतिसम्म बढ्यो कि  बैंककमा सपरिवार शयर गरिरहेका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले उतैबाट आश्वासनको पानी छम्केर ओलीलाई नर्मल टेम्पेरेचरमा झार्नुपर्यो। जब ओलीको तातेको मष्तिस्क शीतल भयो, उनी फेरि तात्छन्  र चुनौतिको भाषामा भन्छन्, मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन्? 

प्रश्न सोझिन्छ महामन्त्री थापातिर, प्रधानमन्त्रीको शयनकक्षसम्म बिचौलियाको पहुँच छ भनेर उनैले आरोप लगाएका थिए। बिचौलियाको घुसपेठ गगन आफैंले देखेका हुन् कि उनले विश्वास गरेका आँखाले देखे, यो उनैलाई थाहा होला।

प्रधानमन्त्री ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेहरुलाई त्यस्ता कुराहरु प्रमाणित गर्न चुनौती दिएर आफूतिर सोझिएको शंकाको सूइ अर्कातिर घुमाईदिएका छन्। तर उनको चुनौति कसैले स्वीकारीसकेको छैन र त्यसको सम्भावना पनि कमै देखिन्छ। किनभने सभापति देउवा स्वदेश फर्किसकेका छन्। सभापति फर्किसकेपछि बालुवाटारमा ‘वन टू वन’ सम्वाद गरेपछि प्रधानमन्त्रीको शुष्क गला खुलेको हो, त्यसपछि उनले बिचौलियाको पहुँच पुष्टि गर्न चुनौति पनि दिएका हुन्।

उमेरले पाका भएपनि महामन्त्री थापाभन्दा अबेर सुत्ने प्रधानमन्त्री ओलीको बिछ्यौनामा बिचौलियाको पहुँच नै रहेछ भने पनि छिटो सुत्ने मान्छेले आफैंले देख्ने कुरा सम्भव भएन। अर्काका आँखाले देखेको कुरा सत्य नै रहेछ भने पनि पुष्टि गर्न सकिने भएन।

जानकार सूत्रहरुका अनुसार, प्रधानमन्त्री ओली आफूले अति नै विश्वास गरेका सीमित व्यक्तिलाई मात्र मध्यरातसम्म आफूसँगै राख्छन्, त्यो पनि विरलै । पत्नी राधिका समेत ओछ्यान चढिसकेपछि केही जरुरी र आफूलाई रुचि लागेका फायलको धुलो झारिसकेर मात्र ओलीको सुत्ने समय हुन्छ। यसोउसो गर्दा पहिलो डाकको भाले बासिसकेको हुन्छ।

यो प्रसंगको सविस्तार विश्लेषण गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरुले लाजशरम पचाएर यस्ता आफू विरुध्द यस्ता आरोपहरु लगाउने गरेको दावी गरेका छन् । 

देशमा एमाले र नेपाली कांग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता भएको भन्दै उनले स्थिरता, विकास र सुशासनले गति लिन थालेका बेला सरकार र नेतृत्वविरुद्ध झुठा आरोप लगाउन थालिएको चर्चा गरेका छन्।  

‘झुुठा कुराको सहायतामा यस्तो विरोध गरिएको छ  कि मानौँ, सरकारले केही गरेको छैन । हामीले देश बर्बाद बनाइरहेका छौँ, हामीले कुनै अपराध गरिरहेका छौँ’, प्रधानमन्त्री ओलीले कटाक्ष गर्दे  भनेका छन्, ‘आजकाल निलो रंगका स्यालहरु निकै हाउभाउ गरिरहेका छन् । तिनीहरुको वास्तविक रुप लामो समय टिक्ने छैन ।’ 

थाइल्याण्डबाट सत्ता साझेदार दलका सभापति देउवा स्वदेश फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरुको टाउकामा अहिले चिसो पानी खन्याइएको महसुुस भएको ओलीले बताए ।

आफू ढिलो सुत्ने भएकाले नै प्रधानमन्त्री ओलीले बिचौलिया आफ्नो ओछ्यानसम्म आउने गरेको कुरा पुष्टि गर्न चुनौति दिन सकेका हुन् भन्नेमा कुनै शंका रहेन। तैपनि शहरमा ठट्टा गरेको सुनिन्छ, जिलेबीमा गुलियो जसरी पस्यो, त्यसरी नै प्रधानमन्त्रीको बिछ्यौनामा बिचौलिया घुस्यो। 

सत्य कुरा के हो, कि गगन जानुन् कि त उनै प्रधानमन्त्री जानुन्।
 
  
 

प्रतिक्रिया