आज भृकुटीमण्डपमा एमाले समर्थित एकलाख युवाले लोकतन्त्र दिवस मनाउने, प्रधानमन्त्रीले छोटो बोल्ने

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा आज काठमाडौंमा ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रमको आयोजना गर्दैछ ।

लोकतन्त्र दिवसको अवसर पारेर एमालेले दिउँसो १ बजेबाट काठमाडौंको भृकुटीमण्डपमा ४० वर्षमुनिका एक लाख युवाहरुलाई उतार्ने एमालेको तयारी छ । 

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलले शुभकामना मात्र दिएपछि अरु सबै वक्ता युवा रहने बताईएको छ । प्रधानमन्त्री ओलीले अहिलेसम्मकै छोटो भाषण गरेर अरु समय युवालाई दिने तयारी भएको आयोजकको भनाई छ ।

प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोल, आनन्द सिंह, विष्णु पोखरेल, अश्विनी सेख, शिवकुमारी चौधरी, विशाल पुन, शर्मिला भण्डारी लगायतका युवाहरूले आफ्नो धारणा राख्ने तयारी छ । 

आयोजकका अनुसार महोत्सवमा ४० वर्ष मुनिका विभिन्न उमेर समूहका युवाहरूले आफ्नो विचार राख्नेछन् भने विभिन्न सांस्कृतिक कार्यक्रम पनि हुनेछ । कार्यक्रममा देशभरबाट १ लाख युवाले सहभागिता जनाउने एमालेको दाबी छ ।

कार्यक्रममा आउनेहरूका लागि मोटरसाइकल र स्कुटर पार्किङको लागि बग्गीखानामा व्यवस्था गरिएको छ भने मिनी र ठूला बसका लागि टुँडिखेल र साना गाडीको लागि रङ्गशालामा व्यवस्था मिलाइएको जनाइएको छ ।
 

प्रतिक्रिया