कृषि तथा खाद्य क्वारेन्टाइनको माग राख्दै धर्ना

रौतहट  । कृषि तथा खाद्य क्वारेन्टाइनको माग राख्दै रौतहटका व्यापारीहरूले गौर भन्सार कार्यालय परिसरमा आइतवारदेखि धर्ना दिएका छन् । 

स्थानीय व्यवसायी कौशल साहको नेतृत्वमा रहेका व्यापारीहरुको टोलीले भन्सार कार्यालयको मुख्य गेटमा एक घण्टा धर्नासहित प्रदर्शन गरेका हुन् ।आइतवार दिउसो १२ बजेदेखि सुरु भएको धर्ना सहित प्रदर्शन कार्यक्रम भोलिदेखि क्रमशः एक÷एक घण्टा थप गर्दै जाने तय भएको व्यवसायीहरुले बताएका छन् ।

अर्थ मन्त्रालयमा पटक–पटक समस्या राख्दै आएको भएपनि कुनै सुनुवाइ नहुँदा बाध्य भएर आन्दोलनका कार्यक्रम तय गरेको स्थानीय व्यवसायी कौशल साहले बताए । उनका अनुसार गौर भन्सार कार्यालयमा कृषि तथा खाद्य क्वारेन्टाइनको अभावमा यहाँका व्यापारीहरुलाई अन्य जिल्लामा जानु पर्ने बाध्यता छ । रौतहटका व्यवसायीहरुलाई खाद्यान्न, फलफुल, आलु, प्याज, तरकारी लगायतका खाद्य सामानहरु भारतबाट ल्याउदा वीरगन्ज वा मलंगवा भन्सार प्रयोग गर्नुपरेको उनको भनाइ छ । यसले गर्दा ढुवानी खर्च बढि हुने हुँदा उक्त क्वारेन्टाइन स्थापना हुन आवश्यक रहेको उनले जोड दिए । आफुहरुको माग सुनुवाइ नभएमा चरणबद्व आन्दोलन गर्ने उनले चेतावनी दिए ।

वैशाख ७ देखि १५ गतेसम्म भन्सार कार्यालय गेटमा धर्ना प्रदर्शन गर्ने र त्यसपछि पनि माग सम्बोधन नभए वैशाख १६ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गर्ने निणय भएको व्यवसायी साह बताए । यसअघि सो टोलीले चैत ३१ गते भन्सार कार्यालय प्रमुखमार्फत अर्थ मन्त्रीलाई तीन बुँदे मागसहित ज्ञापन पत्र बुझाएको थियो ।

२०३३ सालमा स्थापना भएको गौर भन्सार कार्यालय अन्य सामन भने सहज तरिकाले आयात निर्यातको हुँदै आएको छ ।
 

प्रतिक्रिया