यस्तो आयो पूर्व राजाको नववर्षको सन्देश: 'स्वदेशमै फर्क, स्वदेश नै स्वर्ग'

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सांकेतिक शैलीमा गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

नयाँ वर्ष २०८२ को अवसरमा आज भिडियो सन्देशमार्फत पूर्वराजाले त्यसदिनको हिंसात्मक घटना भएको थाहा पाएर आफूलाई दुख लागेको चर्चा गरेका छन्।

घटनापछि पूर्व राजाका समर्थकले हिंसा मच्चाएको भनेर एकथरीले चर्को आलोचना गरेका थिए भने आयोजक र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने सरकार नै जिम्मेवार रहेको आरोप लगाउँदै आएका थिए।

नागरिक स्वतन्त्रता सबैभन्दा ठूलो मूल्य भएको उल्लेख गर्दै पूर्व राजा शाहले कुनै पनि शासन व्यवस्था वा तन्त्र नागरिकको स्वतन्त्रतामाथि अंकुश लगाउने हुनु हुँदैन भन्नेमा जोड दिए ।

शाहले भने, ‘‘नागरिक स्वतन्त्रताभन्दा ठूलो अरु कुनै तन्त्र हुँदैन। जहाँ वास्तविक प्रजातन्त्र हुन्छ, त्यहाँ जनगुनासो, आलोचना वा प्रशंसालाई सुन्ने संस्कार र सहनशीलता पनि हुन्छ।’’

‘संसार धेरै अघि बढिसक्यो । तर हामी यो वा त्यो वादको चक्रमा फसेका छौं । नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, हाम्रा कदम चल्नुपर्छ,’ पूर्वराजा शाहले भनेका छन्, ‘हरेक समस्याको समाधान, संवाद, सहमति समन्वय र सहकार्यबाट हुनसक्छ । आगामी वर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्छ र बनाउन सकिन्छ भन्ने विश्वास हामीले लिएका छौं ।’

पूर्वराजाले तीनकुनेमा भएको प्रदर्शनको क्रममा भएको हिंसालाई दुर्भाग्यपूर्ण भन्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले भने, ‘‘जुन प्रकारको हिंसात्मक घटना भयो, त्यो सुन्दा दुःख लाग्यो।’’

गत चैत १५ गते पूर्वराजाका समर्थकहरूले काठमाडौंको तीनकुने क्षेत्रमा राजसंस्थाको समर्थनमा प्रदर्शन गरेका थिए। प्रदर्शनकै क्रममा दुई जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए।

साथै, प्रदर्शन हिंसात्मक बन्दै गएपछि आगजनी, तोडफोड र लुटपाटका घटना समेत भएका थिए।

विदेशमा रहेका नेपालीलाई सम्वोधन गर्दै उनले स्वदेशमा फर्क स्वदेश नै स्वर्ग भन्ने नारा आत्मसाथ गर्न सुझाव दिएका छन् । 

प्रतिक्रिया