पूर्वसांसद इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं । ठगीको अभियोगमा काठमाडौँ जिल्ला अदालतले पूर्वसांसद इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश राजकुमार कोइरालाको इजलासमा करिब दुई साता चलेको थुनछेक बहसपछि बुधबार तामाङलाई थुनामा पठाउने आदेश दिएको हो ।

अदालतले तामाङसँगै सहकारीका वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । अदालतले सञ्चालक समितिका सदस्य हरिहर प्रसाद लामिछानेसँग ५० लाख धरौटी माग गरेको छ । त्यस्तै सिभिल होम्सका व्यवस्थापक विजयविक्रम शाहीसँग् १५ लाख रुपैयाँ, सिभिल सहकारीका जुनियर सहायक प्रबन्धक एलिना तुलाधरसँग ५ लाख रुपैयाँ र सिभिल सहकारीकै जुनियर सहायक प्रबन्धक मायोनानी महर्जनसँग पनि ५ लाख धरौटी मागिएको छ ।

अदालतले सिभिल सहकारीका सहजकर्ता भगवान बहादुर सिंहसँग पनि १० लाख रुपैयाँ धरौटी माग गरेको छ । सिभिल सहकारीका जुनियर अधिकृत शंकरप्रसाद पाठकसँग २ लाख ५० हजार धरौटी अदालतले मागेको छ । मुद्दाको थुनछेक बहसका क्रममा अदालतले सिभिल सहकारीका लेखा अधिकृत राकेश महर्जनसँग ५० हजार, सिभिल सहकारीकै जुनियर सहायक प्रबन्धक कौस्तुब केतन ढुङ्गानासँग अदालतले ५ लाख रुपैयाँ धरौटी मागेको छ ।

त्यसैगरी सिभिल सहकारीका कर्जा अधिकृत बुद्धराज तामाङसँग अदालतले ५ लाख धरौटी माग गरेको छ। । संगीत श्रेष्ठलाई भने साधारण तारेखमा रिहा गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सिभिल सहकारीका निक्षपकर्ताको रकम ठगी गरेको आरोपमा पूर्वसांसद तामाङसहित १२ जनालाई पक्राउ गरेको थियो। तामाङका श्रीमती र दुई छोरीलाई पनि प्रतिवादी बनाइएको थियो ।

सिभिल सहकारीको रकम अपचलन गरेको तथा निक्षेपकर्ताको रकम फिर्ता नगरेको भन्दै परेको उजुरीका आधारमा सिआइबीले लामो अनुसन्धान गरी जिल्ला अदालत काठमाडौंमा ठगी र संगठित अपराध कसुरमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया