'पार्टीभित्र व्यक्तिगत स्वार्थका निम्ति खराब काम गर्ने प्रवृत्ति विकास भयो'

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । कमलादीस्थित प्रज्ञा भवनमा सोमबारदेखि सुरु भएको बन्दसत्रमा उनले वैचारिक एवं राजनीतिक दस्तावेज प्रस्तुत गरेका हुन् ।

प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले यथास्थितिमा एमसीसी सम्झौता पारित गर्न नहुने बताएका छन् । उनले परियोजना परिमार्जन र संशोधनपछि मात्र पारित गर्ने नीति लिइएको उल्लेख गरेका हुन् । प्रतिवदेनमा भनिएको छ, ‘एमसीसी परियोजना  परिमार्जन र संशोधनपछि मात्र पारित गर्ने नीति लिइएको छ। यथ स्थितिमा कुनै हालतमा पारित गरिने छैन ।’ उनले पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवादमा जाने भएको पनि बताएका छन् ।

प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले पार्टीभित्र व्यक्तिगत स्वार्थका निम्ति जस्तोसुकै खराब काम गर्न पछि नपर्ने प्रवृत्ति विकास हुँदै गएको बताएका छन् । उनले व्यक्तिवाद हाबी हुँदै जाँदा क्रान्तिकारी रुपान्तरण जटिल विषय बनेको निष्कर्ष निकालेका छन् । उनले भने,‘व्यक्तिगत पद, प्रतिष्ठा, लाभ र स्वार्थका निम्ति जस्तोसुकै अनुचित कार्य गर्न पनि पछि नपर्ने प्रवृति हाबी हुँदै गएको छ । यो स्थितिमा पार्टीको क्रान्तिकारी रुपान्तरणको प्रश्न सर्वाधिक महत्त्वको सर्वाधिक जटिल बन्दै गएको छ ।’

अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि विभिन्न २५ वटा समूह गठन गरिएको छ । ती समूहहरूले अहिले दाहालको प्रतिवेदन अध्ययन तथा छलफल गरिरहेका छन् ।

यसका लागि विभिन्न प्रदेश र जनवर्गीय संगठनहरूका छुट्टाछुट्टै समूह बनाइएको छ । वभिन्न समूहका लागि एमके प्रसाईं, नन्दकुमार थापा, हर्क नेम्वाङ, गणेश साह, चक्रपाणी खनाल, गायत्री गुरूङ, लक्ष्मण पन्त, विमला केसी, खगराज भट्ट, माया प्रसाद शर्मा, जगत सिंखडा, श्रीकृष्ण अधिकारी, सरल सहयात्री र विष्णु पुकार श्रेष्ठ, अमृता थापामगरलाई विभिन्न समूहको संयोजक तोकिएको छ ।

प्रतिक्रिया