माओवादी केन्द्रको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा(माओवादी केन्द्र)को बन्दसत्र आज बिहान ११ बजेदेखि प्रज्ञा भवनमा सुरु हुने भएको छ । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुनेछ । विचारको महाविधेशनको रुपमा चित्रण गरेको माओवादीको बन्दशत्रमा कूल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् ।

सबै क्लस्टर मिलाउँदा त्यो सङ्ख्यामा अझै केही वृद्धि भएको बताइएको छ । सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् । बन्दसत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यक्रम छ । माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरेको छ ।

कमलादीस्थित हलमा नै बन्दशत्र आयोजना गरिने भए पनि हलको क्षमता भन्दा बढी प्रतिनिधि भएपछि व्यवस्थापनमा चुनौती थपिएको छ ।

राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्वको चयन गर्ने कार्यसूची रहेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा रुपान्तरण गरेको थियो । नेपाली मौलिकतासहितको समाजवाद निर्माण गर्ने जनाएको माओवादीले बन्दसत्रलाई व्यवस्थित बनाउन आवश्यक तयारी गरिएको उल्लेख गरेको छ ।

प्रतिक्रिया