काठमाडौं । नेपाल पत्रकार महासङ्घको निर्वाचन आज हुँदै छ । आज हुने निर्वाचनले आगामी तीनवर्षका लागि नेतृत्व चयन गर्नेछ।
त्यसका लागि निर्मला शर्मा, रमेश विष्ट र देवीप्रसाद सापकोटा अलग अलग समूह बनाएर प्रतिस्पधामा छन् ।
प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानलले निर्मला शर्मालाई उम्मेदवार बनाएको छ भने रमेश विष्ट प्रेस सेन्टर र समाजवादी प्रेस संगठनको समर्थनमा पाएर मैदानमा छन्। देवीप्रसाद सापकोटाले भने आफूलाई स्वतन्त्र उम्मेदवार भनेका छन्। यसरी तीनजना अध्यक्ष पदका दावेदार छन्।
यसैगरी, वरिष्ठउपाध्यक्षमा युनियन र चौतारीबाट दीपक आचार्य तथा सेन्टर र समाजवादी प्रेसबाट रोशन पुरी मुख्य प्रतिस्पर्धी छन्।
महिला उपाध्यक्षमा नीत पौडेल र गंगा बराल पौडेल मैदानमा छन् भने समावेशी उपाध्यक्षमा उमीद बागचन्द, मोहन सिंह र सुवास साहबीच प्रतिस्पर्धा देखिएको छ।
यस्तै, महासचिवमा चौतारी र युनियनबाट रामप्रसाद दाहाल, सेन्टर र समाजवादीबाट लेखनाथ न्यौपाने र स्वतन्त्र उम्मेदवारको रूपमा जन्मदेव जैसी छन् ।
महासंघको निर्वाचन हुन नसकेर झण्डै अवरुध्द हुनलागेको अवस्थामा निकै ठूलो प्रयाशपछि आज निर्वाचन हुनलागेको छ। ठूला र साना राजनीतिक दलहरुले आफ्ना समर्थक पत्रकारहरुको अलग अलग वैचारिक संगठन बनाएर भ्रातृ संस्थाका रुपमा बिकसित गर्दै गएपछि महासंघको पेशागत छवि धुमिल हुँदै गएको टिप्पणी भैरहेको छ। यसपटको निर्वाचनमा पनि दलहरुले खुलेरै समूह बनाएर भागबण्डामा उम्मेदवार उठाएको देखिएको छ।
अघिल्लो महाधिवेशनबाट निर्वाचित अध्यक्ष विपुल पोखरेलले अचानक राजीनामा दिएपछि महासंघ संकटतर्फ धकेलिएको थियो। त्यसपछि कार्यबाहकको जिम्मेवारी पाएका वरिष्ठ उपाध्यक्ष रमेश बिष्टले पनि सातादिनमै राजीनामा दिएर पन्छिएपछि त महासंघ अवरुध्द हुने हो कि भन्नेसम्मको चिन्ता थपिएको थियो। तर पूर्व सभापतिहरुको अथक प्रयाशपछि कार्यबाहकको भूमिकामा आएकी उपाध्यक्ष बाला अधिकारीले निर्वाचन गराउन गरेको प्रयाश सफल भएर आज आगामी नेतृत्व चयन गर्न मतदान हुँदैछ।
प्रतिक्रिया