प्रधानमन्त्री महिला कप क्रिकेटमा एपिएफ सेमिफाइनलमा

सुदूरपश्चिम । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा विभागीय टिम एपिएफले सुदूरपश्चिमलाई ८९ रनले पराजित गरेको छ । आजको लगातार दोस्रो जितसँगै एपिएफ प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ । समूह ‘बी’ मा समावेश टोलीबीच भएका दुई खेलमा जित हात पार्दै एपिएफ चार अङ्कसहित अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको हो ।

सुदूरपश्चिमलाई सेमिफाइनल पुग्नका लागि प्रदेश नं २ लाई पराजित गर्नुपर्नेछ । आजै भएको दोस्रो खेलमा प्रदेश नं २ ले गण्डकी प्रदेशलाई पराजित गर्दै सेमिफाइनल प्रवेशको सम्भावनालाई भने कायम राखेको छ । समान दुई खेल खेलेका सुदूरपश्चिम र प्रदेश नं २ को एक खेलमा जित र एक खेलमा हार बेहोर्दै दुई अङ्क रहेको छ ।

रन रेटमा भने सुदूरपश्चिम प्रदेश दोस्रो स्थानमा रहँदा प्रदेश नं २ तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको गण्डकी प्रदेश दुई खेलमा जितविहीन हुँदै अङ्कविहीन भएर पुछारमा रहेको छ । धनगढीको फाप्ला मैदानमा बुधबार भएको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा छ विकेट क्षतिमा १२८ रन बनायो ।

एपिएफका लागि ओपनर इन्दु बर्माले सर्वाधिक ३३ रन जोड्दा राजमति ऐरीले १९, रोमा थापाले १६ र सरिता मगरले १४ रन जोडे । सुदूरपश्चिमका लागि कप्तान रितु कनौजियाले तीन तथा दिपा जोरा र कविता जोशीले समान दुई विकेट लिए । एक सय २९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १४ ओभरमा सबै विकेट गुमाउँदै ३९ रन मात्रै बनाउन सक्यो ।

सुदूरपश्चिमका लागि कप्तान रितु कनौजिया र रुवि पोदारले समान १० रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्क पनि बनाउन सकेनन् । एपिएफका लागि करुणा भण्डारीले चार विकेट लिइन् । सोनु खड्का, रेखा रावल र सीता राना मगरले समान एक एक विकेट लिए । खेलमा चार विकेट लिएकी एपिएफकी करुणा भण्डारी ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

पहिलो खेलमा एपिएफसँग हार बेहोरेको प्रदेश नं २ ले गण्डकी प्रदेशलाई सात विकेटले पराजित गर्दै सेमिफाइनल प्रवेशको सम्भावनालाई जीवितै राखेको हो । लगातार दुई हारसँगै गण्डकी प्रदेश भने प्रतियोगिताबाट बाहिरिन पुगेको छ ।

पहिले ब्याटिङ गर्दै गण्डकी प्रदेश ३९ रनको झिनो योगफलमा समेटियो । सत्र दशमलव एक ओभरमा सबै विकेट गुमाएको गण्डकीका लागि अञ्जली विश्वकर्माले सर्वाधिक १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दुई अङ्कको रन बनाउन सकेनन् ।

गण्डकीले १३ रन अतिरिक्त पाएको थियो । प्रदेश नं २ का लागि सन्तोषी चौधरीले तीन, अनुराधा चौधरीले दुई, रोजी कडारी र सरस्वती चौधरीले समान एक/एक विकेट लिए । चालीस रनको विजय लक्ष्य प्रदेश नं २ ले तीन विकेट क्षतिमा प्राप्त गर्यो ।

दश दशमलव तीन ओभरमा जित हात पार्नका लागि ओपनरद्वय साना प्रविन र अनुराधा चौधरीले पहिलो विकेटका लागि २२ रनको साझेदारी गरे । गण्डकी प्रदेशका लागि शिला क्षेत्रीले एक विकेट लिइन् । खेलमा प्रदेश नं २ की सरस्वती चौधरी ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । प्रतियोगिताअन्तर्गत बिहीबार लिग चरणका अन्तिम दुई खेल हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया