काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि उल्लेख्य सम्भावना रहेको बताएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल लगानीका लागि सम्भावना नै सम्भावना भएको देश रहेको बताएका हुन्। उनले अहिले नेपालमा केही पनि सम्भावना नै छैन भन्ने भाष्य सिर्जना गरिएको भन्दै उक्त भाष्य सही नभएको बताए।
अध्यक्ष ढकालले भने, ‘‘अहिले एउटा भाष्य बनाइएको छ, नेपालमा केही सम्भावना पनि छैन, यहाँको मान्छे पनि राम्रो छैन। हरेक हिसाबले नेगेटिभ हिसाबको मात्रै सोचाई छ। बाहिर बस्ने नेपालीहरू नेपालका मान्छे नराम्रो, नेपालमा अवसर छैन, उहाँहरूले नेपाल हरेक हिसाबले नकारात्मकता छ। सामाजिक सञ्जालको कारणले पनि त्यो सोच भएको हो की जस्तो लाग्छ। तर वास्तविकता त्यो होइन। नेपालमा अवसर छैन, थिएन, नेपालमा सम्भावना नभएको भए हामी जस्तो केही पनि नभएको व्यक्ति निजी क्षेत्रको छाता सङ्गठनको जिम्मेवारी लिन असम्भव थियो।’’
अध्यक्ष ढकालले नेपालमा केही पनि सम्भावना नभएको भए आफू जस्तो सामान्य व्यक्ति उद्योग वाणिज्य महासङ्घको नेतृत्वसम्म नआइपुग्ने जिकिर गरे। उनले अहिले नेपाल बाहिर रहेका नेपालीहरूले नेपालमा कुनै अवसर नरहेको, सबै नराम्रो रहेको भन्ने सोचलाई मात्रै बढी प्रश्रय दिइरहेको बताए। उनले आम नागरिकहरूलाई विश्वासमा लिएर अघि बढ्नसके नेपालमा प्रचुर सम्भावना रहेको बताए।
उनले भने , ‘‘नेपालमा जता हेर्यो त्यतै अवसर छ। जहाँ हेर्यो हो त्यहीँ छ। कोरोनाका कारण जुन सङ्कुचन आयो, यही बिचमा उद्योग वाणिज्य महासङ्घको जिम्मेवारी सम्हालेको हो। हरेक ठाउँमा निराशा थियो, आम नागरिकलाई विश्वासमा लिन जरुरी छ। यसबिचमा यसको लागि हामीले करिब डेढ वर्ष भयो, यो बिचमा त्यो आत्मविश्वास दिलाउन निजी क्षेत्रको तर्फबाट पहल गरेका छौँ।’’
अध्यक्ष ढकालले लगानीको वातावरण नै छैन, कानुनहरू नै ठिक छैन मात्रै भन्ने र संशोधनतिर नजाने हो भने कहिले पनि राम्रो वातावरण बनाउन नसकिने उल्लेख गरे।
प्रतिक्रिया