शेयर बजारमा हरियाली, कारोबार साढे ५ अर्ब नाघ्यो

काठमाडौँ। साताको तेस्रो दिन शेयर बजारमा हरिायली छ। शेयर सूचकमा दोहोरो अंकको बढोत्तरी छ भने कारोबार रकम उल्लेख्य बढेको छ।

सबै उपसमूहमा शेयरमूल्य बढ्दा सूचक ३३.१५ अंकले बढ्दै २११५.२४ विन्दुमा पुगेको छ। १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता शेयर ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँमा किनबेच भएको छ।

सोमबार नेप्से ८.९० अंकले बढ्दै २०८२.०९ विन्दुमा रहँदा १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता शेयर ५ अर्ब ४९ करोड ६ लाख रुपैयाँमा किनबेच भएको थियो। यसअघि आइतबार ४.५९ अंक झिनो गिरावटमा नेप्से २०७३.१९ मा रहँदा १ करोड ४ लाख ५२ हजार १२८ कित्ता शेयर ५ अर्ब १८ करोड ९० लाख रुपैयाँमा किनबेच भएको थियो।

मंगलबार जलविद्युत २.५८, जीवन बीमा २.४०, निर्जीवन बीमा २.१९, जलविद्युत २.५८ र व्यापार उपसमूह २.१२ प्रतिशतले बढेका छन्। २०३ कम्पनीको शेयरमूल्य बढ्दा वरुण हाइड्रोपावर, ग्रीन भेञ्चर्स, कुथेली बुखारी साना जलविद्युत र भगवती हाइड्रोपावरका लगानीकर्ता सर्वाधिक फाइदामा रहे। चारै कम्पनीको शेयरमा पोजेटिभ सर्किट लागेको छ।

माथिल्लो हेवाखोला हाइड्रोपावर र एनआरएन इन्फ्रस्ट्रक्चरको शेयर पनि उल्लेख्य बढेको छ। सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा एनआरएन इन्फ्रास्ट्रक्चर साताको तेस्रो दिन पनि पहिलो नम्बरमा छ। उक्त कम्पनीको शेयर ३६ करोड ३० लाख रुपैयाँको किनबेच भएको छ।

यस्तै माउन्टेन इनर्जीको २३ करोड १७ लाख, ग्लोबल आइएमई लघुवित्तको १० करोड ८२ लाख, जानकी फाइनान्सको १० करोड ६१ लाख र गोर्खाज फाइनान्सको ९ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ।

४१ कम्पनीको शेयरमूल्य घट्दा सामलिङ पावर कम्पनीका लगानीकर्ता ५.८१ प्रतिशत नोक्सानमा रहे। दुई कम्पनीको शेयरमूल्य भने स्थिर रह्यो।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया