संसदीय छानविन समिति गठनमा कांग्रेस अडिग

काठमाडौँ। नेपाली कांग्रेस संसदीय छानविन समिति गठन गर्नुपर्ने बटमलाइनमा अडिक देखिएको छ। सहकारीको रकम अपचलनसम्बन्धीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको समेत संलग्नताको आरोप लगाउँदै आएको कांग्रेसले यसबारे निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग कायम राखेको हो।

कांग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकले सहकारीमा उनको संलग्नताको प्रमाण रहेको जिकिर गर्दै सो सम्बन्धमा स्वतन्त्र र निष्पक्ष छानबिन होस् भन्ने सुनिश्चितताका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

बैठकले उक्त मुद्दा अब कांग्रेसको मात्र नभएर सम्पूर्ण जनताको चिन्ता, चासो र सरोकारको विषय भइसकेको उनले बताए। यसअघि यसै विषयमा आफ्नो मागको सम्बोधन नभई संसद् अन्त्य भएकाले शुक्रबार सुरु हुने संसद्को बैठकमा पनि सोही माग राख्ने प्रमुख सचेतक लेखकले जानकारी दिए।

साथै कांग्रेसले केही दिनदेखि देशका विभिन्न ठाउँमा भएका आगजनी तथा डढेलोबाट धनजनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। आगजनी तथा डढेलो नियन्त्रणका साथै विपद्को यस घडीमा क्षति पुगेका घरपरिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ। साथै आगजनीमा परी मृत्यु भएका प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ।

बैठकका निर्णयहरु

आम नेपाली नागरिकले सहकारीमा जम्मा गरेको वचत रकम हिनामिना, दुरुपयोग, अपचलन र ठगी भएको तथ्य सबै नेपालीको चासो, चिन्ता र सरोकारको विषय भई सकेको छ। लाखौं वचतकर्ता मानिसको अरबौं रकम सहकारीबाट हिनामिना भई अपराधजन्य काम भएका छन्। यस्ता कार्यमा नेपाल सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री स्वयं संलग्न रहेका प्रमाण छन्। नेपाली कांग्रेसले विगत देखि यो विषय निरन्तर उठाई रहेको छ। नेपाली कांग्रेस संसदीय दलको यो बैठक सहकारीमा रकम जम्मा गरेका व्यक्तिहरुको वचतको सुरक्षाको ग्यारेण्टी गर्ने, सहकारीको वचत हिनामिना भई मर्कामा परेका व्यक्तिको समस्या सम्बोधन गर्न  देशभरीका सहकारीको रकम हिनामिना, दुरुपयोग, अपचलन वा ठगी गर्ने मानिसहरु माथि कारवाही गरी त्यस्ता व्यक्तिको चलअचल सम्पत्तिबाट असुलउपर गर्न र सहकारी रकम हिनामिनामा संलग्न उपप्रधानमन्त्री एवं गृहमन्त्री माननीय रवि लामिछाने माथि स्वतन्त्र र निष्पक्ष छानविनको सुनिश्चितता गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने पुनः ठहर गर्दछ।

नेपाली कांग्रेसले लामो समय देखि सहकारी समस्याबारे संसदीय छानविन समिति गठन गर्ने विषय उठाइरहेको भए पनि नेपाल सरकार यस्तो गम्भीर विषयमा संवेदनशिल नभएको, सहकारी पिडित प्रति संवेदनहिन हुँदै सहकारीको रकम दुरुपयोग, हिनामिना, अपचलन ठगी गर्ने व्यक्ति र समूहलाई बचाउन लागेको यो बैठक ठहर गर्दछ। सरकारको गैर जिम्मेवार र असंवेदनशील चरित्रले संसदीय छानविन समितिको आवश्यकतालाई थप पुष्टि गरेको छ। तत्काल संसदीय छानविन समिति गठन नभएमा यसबाट संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठकमा पर्ने प्रभावका लागी सरकार स्वयं जिम्मेवार हुनेछ।

सहकारी ठगीमा संलग्न मानिसहरुलाई बचाउन सरकारले राज्यका संवैधानिक निकाय समेतको अवैधानिक र अमार्यादित ढङ्गले दुरुपयोग गरी रहेको तर्फ यो वैठकको ध्यान थप गम्भीर भएको छ। अपराधजन्य कार्यमा निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानविन गर्न लगाई अपराधीलाई अभियोजन गरी देशमा कानूनी व्यवस्था कायम गर्नुपर्ने निकाय स्वयं अनुसन्धानमा अवरोध गर्ने कार्यमा प्रयोग भएको छ। नेपाली कांग्रेस संसदीय दलको यो बैठक सरकारका यस्ता अवैधानिक, अमर्यादित कार्यको घोर निन्दा र भत्सर्ना गर्दछ। यो बैठक सरकारलाई राज्यका कुनै पनि अङ्गलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्ने उद्देश्यले दुरुपयोग नगर्न चेतवानी दिन चाहन्छ।

केही दिन देखि देशका विभिन्न ठाउँमा भएका आगजनी तथा डढेलोबाट धनजनको क्षति प्रति नेपाली कांग्रेस संसदीय दलको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ। आगजनी तथा डढेलो नियन्त्रणका साथै विपदको यो घडीमा क्षति पुगेको घरपरिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग जोडदार माग गर्दछ। साथै अगजनीमा परी मृत्यु भएका प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछ।

तराई मधेसका विभिन्न स्थानहरु भूमीगत पानीको स्तर तल झर्न गई र पहाडमा डढेलोको कारण विभिन्न स्थानमा खानेपानीका पाईपलाईनहरु जली नष्ट भई खानेपानीको गम्भीर समस्या हुन गएकोले उक्त समस्याको समाधान तत्काल गर्न नेपाल सरकारसँग नेपाली कांग्रेस संसदीय दलको यो बैठक जोडदार माग गर्दछ।

स्वास्थ्य लाभको कामना

नेपाली कांग्रेसका पूर्व उपसभापति, पूर्व महामन्त्री, केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य माननीय प्रकाशमान सिंह केही समय देखि अस्वस्थ हुुन भई स्वास्थ्य उपचार पश्चात हाल स्वास्थ्यलाभ गर्दै हुनुहुन्छ। नेपाली कांग्रेस संसदीय दलको यो बैठक माननीय प्रकाशमान सिंहको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ।

नेपाली कांग्रेस केन्दीय सदस्य एवं प्रतिनिधि सभा सदस्य माननीय अम्बिका बस्नेत हाल अस्वस्थ हुनु भई महाराजगंज स्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराउँदै हुनुहुन्छ। नेपाली कांग्रेस संसदीय दलको यो बैठक माननीय अम्बिका बस्नेतको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ।

संविधान सभा सदस्य माननीय शेषनाथ अधिकारी अस्वस्थ भई उपचार गराउँदै हुनुहुन्छ। नेपाली कांग्रेस संसदीय दलको यो बैठक माननीय शेषनाथ अधिकारीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ।

शोक प्रस्तावहरु
१.
नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं अग्रज नेता, नेपाल सरकारका पूर्वमन्त्री तथा संविधान सभा सदस्य माननीय सूर्यमान गुरुङको २०८१ बैशाख २५ गते उपचारको क्रममा भएको असामयिक निधनको दुःखद घटनाले हामीलाई स्तब्ध तुल्याएको छ।

वि.स. १९९९ सालमा जन्मनुभएका नेता गुरुङ वि.स. २०१४ सालको भद्र अवज्ञा आन्दोलनमा सकि्रय हुनु भई राजनीति यात्रा शुरुवात गर्नु भएको थियो। नेपालका हरेक लोकतान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका स्व. गुरुङ आन्दोलनका क्रममा पटक–पटक जेल पर्नु भई बन्दी जीवन व्यतित गर्नुका साथै निर्वासनमा समेत बस्नु भएको थियो। वि.स. २०१८ फागुन २२ गते च्याङथापुमा श्रीजंग गुल्ममा आक्रमण गरी कब्जा गरेको र वि.स. २०१८ चैत्र १७ गते ताप्लेजुङ्ग अदालत, प्रहरी कार्यालय र जेल कब्जा गरी कैदीहरुलाई मुक्त गरेको अभियोगमा उहाँलाई जन्म कैदको फैसला भएको थियो।

पार्टीको विभिन्न तहमा रहेर पार्टी संगठन, विस्तार तथा सुदृढिकरणमा सदैव सक्रिय रहनुभएका नेता गुरुङ वि.स. २०५७ देखि २०६७ सालसम्म नेपाली कांग्रेस ताप्लेजुङको जिल्ला सभापति हुनुभएको थियो। साथै नेपाल आदीवासी जनजाति संघको केन्द्रीय सभापति, नेपाल किसान संघको केन्द्रीय महासचिव, नेपाली कांग्रेस केन्द्रीय क्रियाशिल सदस्यता छानविन समितिको सदस्य जस्ता महत्वपूर्ण जिम्मेवारीहरु वहन गर्नुभएको थियो।

उहाँ वि.स. २०६४ सालमा सम्पन्न संविधान सभा निर्वाचनमा ताप्लेजुङ्ग निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित हुनु भएको थियो भने २०७० सालमा समानुपातिक तर्फबाट संविधान सभा सदस्य हुनु भई स्व. गुरुङले स्थानीय विकास र श्रम तथा रोजगार मन्त्री हुनु भई आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नु भएको थियो। दुई कार्यकाल संविधान सभा सदस्य हुनु भएका स्व. गुरुङको संविधान लेखन कार्यमा उल्लेखनीय योगदान रहेको छ। नेता गुरुङ सरल एवं मिलनसार व्यक्तित्व हुनुहुन्थ्यो। उहाँको निधनले नेपाली कांग्रेस पार्टीलाई अपुरणीय क्षति पुगेको छ।उहाँको निधनप्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दछ। साथै, दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। दुःखको यस घडीमा शोक सन्तप्त परिवार तथा आफन्तजनमा नेपाली कांग्रेस संसदीय दल समवेदना प्रकट गर्दछ।

२.प्रतिनिधि सभा सदस्य माननीय कुसुमदेवी थापाकी ममतामयी माता चन्द्रकला थापाको ८९ वर्षको उमेरमा मिति २०८१ वैशाख २० गते थापाथली स्थित नर्भिक अस्पतालमा उपचारको क्रममा भएको निधनको घटनाले हामीलाई दुःखी तुल्याएको छ।

उहाँको निधनप्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दछ। साथै, दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। दुःखको यस घडीमा शोक सन्तप्त परिवार तथा आफन्तजनमा नेपाली कांग्रेस संसदीय दल समवेदना प्रकट गर्दछ।

उहाँहरुको निधनप्रति नेपाली कांग्रेस संसदीय दलको यो बैठक शोक प्रस्ताव पारित गर्दछ।  (नेपाल न्यूज बैंक)

प्रतिक्रिया