‘नेपाललाई शैक्षिक गन्तव्य बनाउने पर्याप्त सम्भावना छन्’

पंकज जालान (अध्यक्ष, लर्ड बुद्ध एजुकेशन फाउन्डेसन)
कक्षा–१२ को परीक्षा बुधबारदेखि सकिएको छ। पछिल्लो समय प्लस–टु पछि पढ्ने र सँगै काम गर्दै कमाउने सपना देखेर विदेश जाने विद्यार्थीहरुको संख्या ह्वात्तै बढेको छ। कक्षा–१२ को परीक्षा सकिएर बसेका विद्यार्थीहरु अब के गर्ने ? विदेश जाने कि नेपालमै पढ्ने ? यो दुबिधाबाट गुज्रिरहेका छन्। नेपाली विद्यार्थीले विदेशका विश्वविद्यालयमा धमाधम भर्ना लिइरहेका बेला नेपालकै विश्वविद्यालय र शैक्षिक संस्थाहरु भने विद्यार्थी नभएर संकटमा परिरहेका छन्। यस्तोमा लर्ड बुद्ध एजुकेशन फाउण्डेसनका अध्यक्ष पंकज जालान भने नेपालमै  शैक्षिक क्षेत्रमा थुप्रै सम्भावनाहरु रहेको बताउँछन्। नेपाललाई शैक्षिक गन्तव्य नै बनाउने सम्भावना रहेको उनको दाबी छ। जालानसँग नेपाल न्यूज बैंकले गरेको कुराकानीको सम्पादित अंश:

नेपालबाट हजारौँ विद्यार्थीहरू पढ्नकै लागि भनेर विदेशिने क्रम बढिरहेको छ। नेपालको शिक्षा र शैक्षिक प्रणालीलाई तपाईले कसरी हेरिरहनुभएको छ?

नेपालको शिक्षा कमजोर भयो। तर कमजोर भयो भनेर चुप लागेर बस्न मिल्दैन। हामीले सुधारका लागि पनि प्रयास गर्नुपर्ने हुन्छ। शिक्षामा अन्तर्राष्ट्रिय जगतले जुन हिसाबले फड्को मारिरहेको छ, त्यो अनुसार हामीले पनि सुधार गर्दै जानुपर्ने आवश्यकता छ। अहिलेको बच्चाहरुलाई कस्तो किसिमको शिक्षाको आवश्यकता छ ? कुन किसिमबाट उनीहरुको विकास गर्ने ? नेपालमा पढेको विद्यार्थी अन्तर्राष्ट्रिय बजारमा खोजी हुने गरीको अवस्था कसरी बनाउने ? भनेर अहिले हामीलाई सुधारको मौका छ।

समयको माग र परिवर्तित विश्वलाई सुहाउने किसिमको शिक्षा प्रणाली हामीले विकास गर्न आवश्यक छ। हामीसँग त अझैपनि त्यही पुरानो तरिका छ। शिक्षकले आफ्नो १० वर्ष पुरानो नोट लिएर कक्षाकोठामा जाने, त्यही लेखाइदिने, विद्यार्थीले पनि त्यही पढ्ने, घोक्ने र परीक्षा पास गराउने। यो अभ्यास चाँहि अब असान्दर्भिक भइसकेको हो जस्तो लाग्छ। त्यसकारण अब हामीले पुरानो अभ्यासलाई परिमार्जन गरेर वास्तवमा हामीलाई चाहिएको शिक्षा के हो ? कस्तो जनशक्ति चाहिएको हो ? भनेर बहस गर्नुपर्ने आवश्यकता रहेको छ।

विद्यार्थीहरुलाई कसरी अगाडि बढाउने, उनीहरुको सोच, उनीहरुलाई दिने ज्ञान वा उनीहरुलाई सीपमूलक कसरी बनाउने भन्ने विषयमा सोच्नुपर्ने बेला आएको छ। अहिलेसम्म नेपालको शिक्षा प्रणाली स्कुल र उच्च शिक्षामा पहिलो कसरी बन्ने भन्ने दौडमा केन्द्रित छ। आफ्नो बच्चाले ‘ए’ ग्रेड ल्यायो वा ‘ए’ प्लस ल्यायो भने बाआमा त्यसमा खुसी हुने, तर उसले के सिकिरहेको छ भनेर ख्याल नगर्ने अवस्था छ। आफ्नो बच्चाले के सीप सिक्यो? के ज्ञान हासिल ग¥यो भन्नेमा कोही पनि चिन्तित रहेको देखिदैन। जब कि अन्तराष्ट्रियस्तरमा भने सीप कै कुरा प्राथमिकतामा आउँछ। त्यसकारण अब हामीले पनि कस्तो जनशक्ति उत्पादन गर्ने भनेर शिक्षालाई दिशा दिनुपर्ने आवश्यक छ। अर्को समस्या भनेको कोही दात्तृ निकायकोमा भर पर्नु हुँदैन। हाम्रो शिक्षाको डिजाइन हामी आफैंले गर्ने हो। एउटा विदेशी एजेन्सी आउँछ, उसले भनेजस्तो पाठ्यक्रम बनाउन, क्रेडिट आवर तोक्न हामी सबै भइहाल्छौँ। अहिलेको समस्या नै यही हो। एउटाले ‘प्लस टु’ कोर्सको अवधारणा दियो, हामी त्यतै लाग्यौँ। अर्को एजेन्सी आयो र स्नातक चार वर्षे गर्नुपर्छ भन्यो, हामी फेरि त्यसकै पछि लाग्यौँ। अहिले फेरि तीन वर्षे कुरा आइरहेको छ। त्यसकारण मुख्यकुरा सिकाइ हुनुप¥यो, त्यो तीन वर्षमा सिके पनि भो, चार वर्षमा सिके पनि उही हो। अमेरिकाले सन् २००९ देखि नै स्नातक तहमा चार वर्ष र तीन वर्ष कोर्स सँगै–सँगै चलाएको छ। जो अलिकति कमजोर र आर्थिक रुपमा पनि कमजोर छ, उसले चार वर्ष पढ्नुप¥यो, पढ्नमा राम्रो र पैसा भएको मानिसले तीन वर्षे पढ्छ त्यसको फाइदा पनि छ। हामी सिकाइमा केन्द्रीत हुनै सकिरहेका छैनौँ। जबकि विश्वबजारमा इन्डस्टियल–फोर, एजुकेशन–फोरको कुरा भइरहेको छ।

हामी कहाँ निजी र सरकारी गरी दुई खाले शैक्षिक संस्थाहरूको अभ्यास पनि त्यहीअनुसार फरक–फरक रहेको छ। तपाई निजी क्षेत्रबाट शिक्षा क्षेत्रमा काम गरिरहनुभएको छ। देशको राजनीतिक असि्थरताले शिक्षालाई कस्तो असर पु¥याएको छ ? यहीकारण कस्ता खालका चुनौतीहरु झेल्नुपरेको छ ?

मलाई त आजको दिनमा नेपालको शिक्षा नै निजी क्षेत्रले धानेको हो जस्तो लाग्छ। निजी क्षेत्रबाट हामीले विद्यार्थीलाई विदेश जानबाट रोकिरहेका छौँ जस्तो लाग्छ। कम्तिमा यो कुराको त सरकारले हेक्का राख्नुपथ्र्यो। हामीलाई त सरकारले साझेदारको रुपमा पनि लिइरहेको छैन। सरकारले यिनीहरु त लुट्न आएका हुन् भनेर सोचेको देखिन्छ। निजी क्षेत्रलाई सरकारले नियमन गर्नु एउटा कुरा हो। तर शत्रुकै रुपमा हेरेर तर्सिनु त भएन नि। जबकि निजी क्षेत्र र सरकार मिलेर नेपालको शिक्षालाई साँच्चिकै माथि लैजान सक्छौँ भन्ने लाग्छ। सरकारले निजी क्षेत्रलाई कुनै सुविधा नै दिएको छैन। हामीले एउटा स्कुल बस ल्याउनुप¥यो भने पनि ब्यापारका लागि ल्याएको बसकै जसरी खरिद गरेर ल्याउनुपर्छ। सरकारले निजी शैक्षिक क्षेत्रले पनि देशलाई योगदान गरिरहेको छ भनेर बुझेको छैन। हामीले सयौँलाई रोजगारी दिएका छौँ। हजारौँ विद्यार्थीहरुलाई विदेश पलायनबाट रोकेका छौँ। नेपालमै अन्तर्राष्ट्रियस्तरको जनशक्ति उत्पादन गरौँ भनेर मेहिनेत गरिरहेका छौँ। तर सरकारले हामीलाई कुनै सुविधा दिएको छैन। अहिले नयाँ शिक्षामन्त्री आउनुभएको छ, तर यत्तिका समय भयो उहाँले तीन वटा लगातार समितिहरु बनाउनुभएको छ, काम गर्न खोज्नुभएको छ। त्यसमा हामीलाई पनि चासो छ, तर उहाँले अहिलेसम्म भेटसम्म पनि दिनुभएको छैन। म आफैँ अन्तर्राष्ट्रिय शिक्षा प्रदायक संघको संस्थापक अध्यक्ष हुँ। हामीले त्यो संस्थाबाट केही नयाँ अभ्यासहरु पनि गर्न खोजिरहेका छौँ। हामी आफैँ पनि त देशमै बसेर केही गर्न खोजिरहेका छौँ। नेपाल पनि शैक्षिक गन्तव्य हो है भनेर स्थापित गर्न हामीले चरणबद्धरुपमा पहल गरिरहेका छौँ। अहिले त नेपालमा विदेशी विद्यार्थीलाई स्टुडेण्ट भिसा नै दिने गरिएको छैन। यसबारे हामीले प्रधानमन्त्रीलाई भेट्यौँ, परराष्ट्रमन्त्रीलाई भेट्यौँ, नेपाललाई पनि शैक्षिक गन्तव्य बनाउन सकिन्छ भनेर पहल गरेका छौँ। तर हामीलाई सरकारले सघाउन खोजेको जस्तो लाग्दैन। विदेश जान्छु भन्यो भने ऋण पाइन्छ, सरकारको नीतिले भेट्छ, तर देशमै केही गर्छु, शैक्षिक संस्था खोल्छु भन्यो भने कुनै सहयोग पाउने सम्भावना छैन।

निजी क्षेत्रको शिक्षा नै महङ्गो भयो, निजी क्षेत्रका शिक्षालयहरुले लुट नै मचाए भन्ने खालको आरोप पनि लाग्ने गरेको छ। यसमा तपाईहरु के भन्नुहुन्छ?

सरकारले भन्ने मात्रै हो, वास्तविकता के हो त्यो हेर्नुप¥यो। नेपाल सरकारले सामुदायिक विद्यालयहरु चलाएको छ। शिक्षकहरुलाई तलब दिएको छ। भत्ता सुविधाहरु दिएको छ। तर उपलब्धि के छ ? प्रतिविद्यार्थी सरकारले कति खर्च गरेको छ ? हरेक विद्यार्थीका लागि सरकारले ३० देखि ३५ हजार रुपैयाँ प्रतिमहिना खर्च गरिरहेको छ। तर तपाई उपत्यकाबाहिर गएर हेर्नुभयो भने मासिक ५ हजार, ६ हजार रुपैयाँमा निजी विद्यालय पढाइरहेको छ। अनि उपलब्धि चाँहि कसको कस्तो छ ? तुलना गरेर हेर्नुहोस् न। त्यसकारण सरकारले निजी विद्यालयको शुल्क महँगो भयो भन्न मिल्दैन। अर्को सरकारले विश्वाविद्यालयहरुलाई अनुदान दिन्छ, जनकपुरमा एउटा राजर्षि जनक विद्यालय भनेर छ, त्यसले प्रत्येक विद्यार्थीका लागि स्नातक तहमा साढे ८ लाख रुपैयाँ अनुदान पाउँछ। अनि त्यति पैसाले त निजी कलेजले पनि पढाइदिन्छ त। अनि महङ्गो कसरी भन्ने ? हामीलाई बानी एउटा के भएको छ भने कसैले केही ग¥यो भने अरुलाई गाली गर्ने। नेपालको सबैभन्दा ठूलो समस्या के छ भने हामी तथ्यमा नगएर हो रे को भरमा जान्छौँ । तथ्य तथ्यांक हेरेर कुरा गर्नुप¥यो भन्ने कुरा हो।

अहिले विद्यार्थीहरु ठूलो संख्यामा विदेश गइरहेको छन्। तपाईहरुले त विदेशी विद्यालयको पनि सम्बन्धन लिनुभएको छ। विद्यार्थीहरुले देशमै किन सम्भावना देखिरहेका छैनन् ? हाम्रो शिक्षा व्यवहारमुखी, सीपमुखी नभएर हो कि अरु कारण छन् ?

हामीले समग्ररुपमा नै बच्चाहरुलाई बुझाउन नसकेको हो। कक्षा–१२ सक्ने बित्तिकै मान्छे विदेश जान तयार हुन्छ। तर त्यहाँ कति दुःख छ ? कति कठिन छ ? त्यसबारे राम्रोसँग बुझ्न पाएकै हुदैन। लाखौँ रुपैयाँ खर्च गरेर क्यानडा, अष्ट्रेलिया गएर रेष्टुरेण्टमा भाँडा माझ्दै पढ्नुपर्ने अवस्थामा पुग्छ। त्यसबाट हामीलाई के प्राप्त हुन्छ र ? हामीले क्षमता भएका, सम्भावना भएका विद्यार्थीहरुलाई यही पढाएर उनीहरुलाई दक्ष जनशक्तिकोरुपमा उत्पादन गर्न सक्नुपर्छ। हामीले यो कुरा बुझाउनका लागि शिक्षा मन्त्रालयलाई पनि कति्तपटक आग्रह गरेका छौँ। नेपालमा खोक्रो राष्ट्रवाद हाबी छ। देशलाई गाली गर्ने युवामा आफ्नो देशको लागि रत्तिभर प्रेम छैन। वास्तवमा हामीले युवा जनशक्तिलाई देशमा राखेर सीपमूलक शिक्षा दिएर उत्पादनमा लगाउने हो भने बल्ल आर्थिकरुपमा समृद्धि हासिल गर्न सकिन्छ।

मलेसियामा आजको २५ वर्ष पहिला शिक्षामा केही पनि थिएन। आजको दिनमा सरकारले त्यहाँ यस्तो व्यवस्था ग¥यो कि त्यहाँ अहिले ९५ वटा विश्वविद्यालय छन्। त्यहाँ १३० वटाभन्दा बढी देशका विद्यार्थी पढ्न आउँछन्। मलेसिया शिक्षाको लागि हब भएको यतिकै होइन। त्यसकारण सरकारले गर्न चाह्यो भने नेपालमा पनि त्यो सम्भावना छ। हामीकहाँ विश्वविद्यालय नभएका होइन, व्यवस्थापन र सिकाइ उपलब्धि कमजोर हो। हाम्रो लगानी पनि कम चाँहि होइन। यहाँ त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालयसहित दर्जनौँ विश्वविद्यालय छन्। सबै नराम्रा छन् भन्ने होइन, तिनलाई व्यवस्थित गर्ने हो भने विदेशकोभन्दा कमजोर हुने कुरै छैन। विदेशमा भए राम्रो, देशमा भए नराम्रो भन्ने त हुदैन। त्यसकारण यो कुरा हामीले सबैलाई बुझाउन आवश्यक छ।

अहिले नेपालमा पनि आइटी क्षेत्रमा विद्यार्थीहरुको आकर्षण देखिन्छ । यसमा कस्तो सम्भावना देख्नुहुन्छ ?

सबैभन्दा पहिले आइटी पढ्दा के पढ्ने ? भन्ने प्रष्ट हुनुपर्छ। हामी कहाँ कोर्सको नाममात्रै सुनेको आधारमा पढ्न जाने समस्या छ। त्यो भित्र के सिक्ने हो ? थाहा छैन। अहिले एआइ, साइबर सेक्यूरेटी र आउने समयमा क्लाउड इन्जिनको धेरै राम्रो बजार छ। लगानी सम्मेलनमा पनि क्लाउड सम्बन्धी एउटा सम्झौता भएको छ। तर पाठ्यक्रम हेर्दा म के पढ्छु त्यो ज्ञान हुनुपर्छ। हाम्रो बच्चाहरुको समस्या उनीहरुलाई पाठ्यक्रम नै थाहा हुदैन। आइटी सुन्या छ, राम्रो मार्केट छ भन्ने सुनेको छ, त्यतै कुदेको छ। मैले कति जना भेटेको छु। जसलाई पाठ्यक्रम नै थाहा छैन। पाठ्यक्रम नै नहेरी भर्ना भएपछि अफ्ठ्यारो हुन्छ। अब नेपालमा मात्रै होइन, विदेशमै गएर पढेपनि सम्भावना आइटीकै हो। कुनै पनि कोर्स पढिसकेपछि विद्यार्थीले के सिक्छ? त्यो कुरा अभिभावकले पनि ध्यानमा राख्नुपर्छ। 

तपाईहरुले उत्पादन गरिरहनु भएको जनशक्ति चाँहि कस्तो छ ? कहाँ परिचालन भएको छ ?

हाम्रो ६० प्रतिशत जनशक्ति नेपालमा नै छ। म दाबीका साथ भन्न सक्छु कि हाम्रो कलेजबाट उत्पादित एकजना बच्चा पनि खाली छैन। हामीले यस्तो सीप दिएर पठाएका छौँ कि हामीले पढाएको कोही पनि बच्चा खाली छैन। हाम्रो कलेजमा वर्षमा दुईपटक करिब करिब ३५ देखि ४० वटा कम्पनीहरु त्यहाँ आउँछन्। बच्चाहरु हेरेर इन्टर्नसिपको लागि पनि लिएर जान्छन्। हामीले ४ महिना विद्यार्थीहरुले फिजिकली काम गर्नुपर्छ, त्यो पढाइ कै पाटो हो। कतिपयले आफैँ कम्पनी खोलेर काम गरेर बसेका छन्। हामीले सुरुको दिन देखि नै सीप विकासमा जोड दिएका छौँ। नेपालमा हाम्रो पहिलो कलेज हो, जसले जब पोर्टल स्टार्ट गरेको छ। हामीले एकातिर बेरोजगारी छ भनिरहेका छौँ, अर्कोतिर उद्योगले म्यानपावर पाएको छैन। त्यो किन भएको भन्दा सीपको कमी भएर हो। मान्छे त जत्ति छन्, तर काम लाग्ने, सीप भएको व्यक्ति छैनन्।

विदेश पलायन भइरहेका विद्यार्थीहरुलाई तपाईको सन्देश के हुन्छ ?

स्नातक तहको पढाइका लागि विदेश गएर कामै छैन। तपाई नेपालमा जन्मिएकोमा आफूलाई भाग्यमानी ठान्नुपर्छ। बाहिर जानुभन्दा पहिले त्यहाँ किन जान लागेको हो भनेर सोच्नु आवश्यक छ। साँच्चिकै पढ्नको लागि जान लागेको हो कि काम गर्न जान लागेको हो ? पढ्न जान लाग्या हो तपाईको परिवारसँग धेरै पैसा छ भने समस्या छैन, जाँदा हुन्छ। तर ऋण लिएर त्यहाँ गएर काम गरेर त्यसपछि ऋण चुकाउँछु भन्ने उद्देश्यले जान लाग्नु भएको छ भने बेकार हो। नेपालमा स्नातक तहको पढाइ सकेर छात्रवृति्तमा स्नात्तकोत्तर पढ्न गए हुन्छ। तर पढ्छु, काम गर्छु, ऋण तिर्छु भन्ने हो भने त्यो बेकार हो। त्यस्तो सम्भावना हुदैन। न पढाइ राम्रो हुन्छ, न कमाइ। बरु ऋणमात्रै लाग्ने हो। किनकि नेपालबाट लाखौँ रुपैयाँ ऋण लिएर गएपछि त्यहाँ पुग्नेबित्तिकै पढाइ होइन, कामको चिन्ता सुरु हुन्छ। त्योभन्दा त देशमै संघर्ष गर्नु राम्रो हुन्छ नि। 
 

प्रतिक्रिया