विद्यालय शिक्षा विधेयक अघि नबढेपछि शिक्षक महासंघ आन्दोलन गर्ने तयारीमा

काठमाडौ। नेपाल शिक्षक महासंघसँगको सहमतिका लागि प्रतिनिधिसभाको शिक्षा समितिले सरकारलाई दिएको ५ दिने समय सकिएको तीन दिन बितिसक्दा पनि बैठक बस्न सकेको छैन। सभापति अम्मर बहादुर थापाले असार २९ गते समितिको बैठक बसेर विधेयकमाथिको छलफल अघि बढ्ने बताएका थिए ।

विभागीय मन्त्री रघुजी पन्त र सदस्य सांसदहरू व्यस्त भएकाले बैठक बस्न सम्भव नभएको समितिका सभापति अम्मरबहादुर थापा सुनाए । तर यहीमात्र कारण होइन, विधेयकलाई टुंग्याउन बस्नुपर्ने बैठक स्वार्थ समूहहरूको चलखेलका कारण रोकिएको समितिकै सदस्यहरूले टिप्पणी गर्दै आएका छन्।

शिक्षा विधेयक २२ असारमै पास गर्ने तयारी थियो। तर, समिति सदस्य रहेका नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले फरक प्रस्ताव ल्याएपछि बैठक रोकियो। त्यसपछि सरकारले शिक्षक महासंघसँग छलफल गर्न ५ दिनको समय मागेको थियो। तर न सहमति भयो, न बैठक बस्न सकेको छ ।

केमा अड्किएको छ

आवधिक बढुवाः सरकार चाहन्छ– तृतीय श्रेणीमा १० र दोस्रोमा १२ वर्षपछि मूल्याङ्कनको आधारमा बढुवा होस्। महासंघ भने ‘तोकिएबमोजिम’ बढुवा गर भन्नेमा अडिग छ।

स्थायी शिक्षकको भागबन्डाः समितिले ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला राख्न खोजेकोमा महासंघ ७५ प्रतिशत आन्तरिक माग गर्दै आएको छ।

शिक्षकको कारबाही अधिकारः महासंघ स्थानीय सरकारलाई अधिकार दिन अडानमा छ। बालविकास ‘ईसीडी’ स् ईसीडीमा पठाउनेलाई शिक्षक मान्ने कि नमाने भन्ने विषयमा पनि मतभेद कायम छ।

एकैपटक ठूलो संख्यामा बढुवा गर्दा बर्षेनि करिब ३ अर्ब ५० करोड खर्च थपिने देखिएकोले सरकारले अंक प्रणाली कायम गर्न खोजेको हो।

आन्दोलनको मूडमा महासंघ

यसैबीच, महासंघले साउन २ गतेसम्म विधेयक जारी नभए फेरि आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ। सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार, सरकारले विगतका सहमति पनि बेवास्ता गरिरहेको छ।

दलहरूले स्वार्थ समूहको बोझ बोक्न थाल्दा कानुन निर्माण प्रक्रियामा गडबडी बढेको छ। यसबीच, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज सोमबार बस्ने सम्भावना छ।

समितिका एक सदस्यका अनुसार सरकारले सहमति जुटाउन नसकेको अवस्थामा सोमबारको बैठकबाट पनि विधेयक टुंगाले लाग्ने अवस्था भने छैन। उनका अनुसार शिक्षामन्त्रीले असारभरि अरू कार्यक्रममा व्यस्त रहनु पर्ने भएकाले समितिको बैठकमा सहभागी हुन नसक्ने बताएका छन्। ‘त्यसैले समितिबाट असारभित्र विधेयक टुंगो लाग्ने सम्भावना लगभग छैन’ उनले भने।

गत वैशाख १९ गते सरकारले शिक्षक महासंघसँग ९ बुँदे सहमति गरेको थियो। त्यसै बेला शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्ने प्रतिबद्धता पनि सरकारले जनाएको थियो।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको विस्तारित कार्यालयीय बैठक आइतबार काठमाडौँको बबरमहलमा बसेको थियो । बैठकले आन्दोलनको तेस्रो चरण सुरु गर्ने तयारी स्वरूप साउन २ गते पत्रकार सम्मेलनमार्फत औपचारिक कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ।

महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार बैठकले ‘शैक्षिक आन्दोलन भाग–३’ आवश्यक भएको ठहर गरेको छ। उनले भनिन्, “अघिल्लो आन्दोलन ९माघ २० देखि वैशाख १७ सम्म० लाई सरकारले गम्भीरतापूर्वक नलिएपछि फेरि संघर्षको बाटो रोज्नु परेको हो।”

उनका अनुसार ८९ दिनसम्म चरणबद्ध आन्दोलन गरिए पनि सरकार बेवास्तामा उभिएको निष्कर्ष बैठकले निकालेको छ। “काठमाडौँमै २९ दिनसम्म आन्दोलन भयो, तर सरकारले शिक्षकको मर्म, भावना र गरिमा लत्यायो,” पराजुलीले भनिन्।

बैठकमा सरकारसँग भएका विगतका सहमति कार्यान्वयन नभएको र शिक्षा ऐन पारित गर्नसमेत आलटाल गरिएको निष्कर्ष निकालिएको छ। “सरकारले शिक्षक महासंघलाई झुक्यायो, ऐनको मस्यौदा पनि लम्ब्याउने खेल भयो,” पराजुलीले आरोप लगाइन्।

उनका अनुसार साउन ५ गतेसम्म महासंघले सबै सरोकारवाला पक्षलाई आन्दोलनमा जाँदैछौँ भन्ने स्पष्ट सन्देश दिनेछ। “हामी लामो समय पर्ख र हेरको अवस्थामा थियौँ, अब आन्दोलन अपरिहार्य भएको छ,” उनले भनिन्।

 

‘विद्यालय शिक्षा विधेयकमा पश्चगामी कुरा थप्नुपरे राजीनामा दिन्छु’

प्राईभेट शिक्षामा नेताहरुको प्रत्यक्ष परोक्ष लगानी छ चुनावमा चन्दा लिएका छन्

 

प्रतिक्रिया