सत्ताको राजनीतिमा ओली: हिजो, आज र भोलि

एक दशकभन्दा बढी समयदेखि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) मा एकछत्र शासन चलाइरहनु भएका यसका अध्यक्ष केपी शर्मा ओली हाल देशका प्रधानमन्त्री पनि हुनुहुन्छ । यसपालासम्म गरी उहाँ चौथो पटक प्रधानमन्त्री बन्नु भएको हो । पोहोर यसै समय–ताका, संविधान संशोधन गर्ने भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भद्र सहमति गरेर प्रधानमन्त्री बन्नुभएका ओलीले एकवर्ष वितिसक्दा पनि अझसम्म संशोधनका सम्बन्धमा कुनै अग्रसरता लिनुभएको छैन, न त कांग्रेसले नै आफ्नो तयारी अथवा ताकेता गरेको छ । कांग्रेस नेता विमलेन्द्र निधिले पार्टी निकायहरू र शुभेच्छुकहरूमाझ दुई चार पटक गम्भीरतापूर्वक चर्चा गर्नुभएको र त्यस्तै शेखर कोइरालाले समेत नेतृत्वसम्मुख संशोधनको प्रसंग उठाउनुभएको निश्चय नै हो तर पार्टी नेतृत्वले भने यसलाई प्राथमिकता त परै आवश्यकताको लिस्टमा समेत राखेको प्रतीत हुँदैन । 

संशोधन गर्ने वाचा गरेर प्रधानमन्त्री बन्नु भएका  एमाले प्रमुख ओलीले एक पटक अझ उल्टै संशोधन २०८७ सालमा गर्ने भनेर यस विषयलाई ठट्टामा उडाउनु भएको भने पक्कै हो । 

यसबीच त्यसैले ओली–देउवा सहमति संविधान संशोधनको प्रयोजनले नभएर अरू नै केही अदृश्य समझदारी र आपसी लेनदेनमा आधारित थियो भनेर आरोप लगाउनेहरूलाई राम्रै बल मिलेको छ । तथापि, सत्ताराजनीतिका खेलाडीहरूलाई सत्ताशक्ति आफूसित हुँदासम्म त्यस्ता आरोप भूस भएर जान्छन् भन्ने राम्ररी थाहा हुन्छ र राजनीतिमा सत्ता नै सर्वोपरि हो भन्ने म्यकियाभेलियन थिअरीका जानकार नेताहरू मुद्दालाई अन्यत्र मोड्न र आफ्ना विरोधीहरूलाई असान्दर्भिक बनाइदिन वास्तवमै सक्षम हुन्छन् । ओली पनि वास्तवमा निकोलेइ म्याकियाभेलीको पुस्तक द प्रिन्स नपढेको नेता पक्कै हुनुहुन्न । पढ्नुभएको होला भन्ने अनुमान किन गरेको हुँ भने उहाँ नेपालमा उपलब्ध नेताहरूमध्ये सर्वाधिक अध्ययनशील नेताका रूपमा चिनिनु हुन्छ । हाम्रा शास्त्रहरूले पनि  स्वाध्यायीलाई नै पढेको मानेका छन् । यसर्थ नै मैले उहाँले म्याकियाभेली पढ्नुभएकै छ भन्ने ठानेको हुँ ।

पूरै किताबै नपढे पनि प्रिन्सका आफूलाई चाहिने, चाहिने प्रसंगहरू निश्चयनै उहाँलाई थाहा होलान् । जे होस् उहाँमा म्याकियाभेलियन सिद्धान्तको छापचाहिं राम्रैसँग छ । 

छ, र नै पार्टीभित्र उहाँका विरोधीहरू लामो टिक्न सक्दैनन्, चाहे उसको व्यक्तित्व जतिसुकै उच्च र भव्य किन नहोस् । प्रतिस्थापित गर्छु भनेर आएका वामदेव गौतम त परको कुरा एमालेका संस्थापक र जनताको बहुदलीय जनवादका प्रणेता मदनकुमार भण्डारीका आत्मीय सखा माधवकुमार नेपाल पार्टीबाटै पाखा परेर अर्कै कम्युनिस्ट पार्टी बनाएर राजनीतिक अस्तित्वको संकट ब्यहोरी रहनुभएको छ । भीमबहादुर रावल कारवाही ब्यहोरी रहनुभएको छ नै, अलमलिदै माधवकुमारसँग पुग्नुभएका घनश्याम भुसालको माक्र्सवादी विद्वता र साक्षात् नारीशक्तिकै अवतार प्रतीत हुने रामकुमारी झाँक्रीको राजनीतिक भविष्य समेत चिन्ताजनक अवस्थामा पुगेको छ । 

ज्योतिषीहरू यसमा ओलीका बलिया दशाग्रहको खेल देख्दा हुन्, तर त्यस्तो होइन । राजनीतिको बाटो सोझो हुँदैन, वक्र हुन्छ  । वक्र पनि कस्तो भने पहाडी भेगमा रेलको लिकजस्तै । त्यस्तो लिक छिमेकमै दार्जीलिङ र अलि टाढा तमिलनाडूको उटीमा देख्न पाइन्छ । 

जो बांगोटिंगो बाटो हिंड्न जान्दछ र आफ्ना प्रतिस्पर्धीहरूलाई साम, दाम, दण्ड, भेदद्वारा उछिन्न सक्षम हुन्छ, उसैले राज गर्छ ।  सत्ता, शक्ति, शौर्यको प्राप्ति र त्यो प्राप्तिलाई टिकाइरहन थुप्रै तिकडम गर्नुपर्छ । तर ख्याल रहोस् चाहिंदोभन्दा बढी तिकडम गरेमा ऊ पुष्पकमल दाहाल बन्छ, गर्न जानेन भने उसलाई कृष्णप्रसाद भट्टराईलाई जस्तो अल्प सत्ता तर दीर्घ सन्तत्व प्राप्त हुन्छ। सज्जनहरू राजनीतिमा टिक्दैनन् भनेको होइन, तर सज्जनताले मात्र राजनीतिमा टिकिदैन । सज्जनतासहितै तिकडमवाज पाखा पार्न र आफ्नो सत्तामाथि हुनसक्ने प्रहारको अनुमान गर्दै त्यसलाई निरस्त पार्न पनि सक्नुपर्छ । राजनीतिगर्नेले थमस हब्स्, जन लक, जी ज्याँ रुसो त पढेकै हुनुपर्छ, र अनिवार्य रूपमा पूर्वका चाणक्य र पश्चिमका म्याकियाभेली बुझेकै हुनुपर्छ । 

चाहे त्यो लोकतन्त्रकै किन नहोस्, राजनीति महाभारत हो । त्यसैले राजनीति गर्नेले राधिकाका कृष्ण पुजेर मात्र हुँदैन, पार्थसारथि रणनीतिक श्रीकृष्ण राम्ररी बुझेकै हुनुपर्छ । मलाई थाहा छैन ओलीले महाभारत साँच्चै पढ्नुभएको छ कि बीआर चोपडाको महाभारत टेलीशृंखलामात्र हेर्नुभएको हो, प्रतिद्वन्द्वीहरूलाई निस्तेज पार्न र आफू केन्द्रीय भावमा रहिरहनु भएका हुँदा महाभारतको राम्रै जानकारी होला भन्ने अनुमान गरेको हुँ । उहाँले एमालेमा आफ्नो वर्चस्व कायम राखी त रहनुभएको छ नै अरू कम्युनिस्ट नेताहरू निस्तेज हुँदैजाँदा उहाँको साम्राज्य कायमै छ । तथापि किन पूर्व राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी स्वयं पुनः एमाले राजनीतिमा अवतरित हुन वाध्य हुनु भयो भन्ने विषयचाहिं वास्तवमा चाखलाग्दो विश्लेषणको विषय हो । 

आत्मीयता, प्रेम र स्नेह व्यक्तिगत हुन् । आफ्नो स्थान ताक्न कोही आयो भने ऊ आत्मीय होइन प्रतिद्वन्द्वी बन्छ भन्ने यथार्थ नबुझेर श्रीमती भण्डारी एमालेमा फर्किनुभएको होइन र त्यो थाहा पाएरै हुनुपर्छ ओली, मदन भण्डारीको ७४ औं जन्मजयन्ती समारोहमा श्रीमती भण्डारीको भाषणै नसुनी कार्यक्रमस्थलबाट बाहिरिएर सुटुक्क स्पेनतिर लाग्नुभएको थियो । भण्डारी एमालेमा फर्केको ओलीलाई फिटिक्कै मन परेको छैन जस्तो देखिए पनि वास्तवमा भित्री अर्कै हुन सक्छ किनभने राजनीतिमा जे देखिन्छ, त्यो भन्दा धेरै नबोलिएका तथ्यहरू हुन्छन् । 

भनिन्छ, राजनीति भनेको आफूले चाहेको नदेखाइ आफ्नो चाहना पूरा गर्नु पनि हो । साथै के पनि मननीय छ भने राजनीति बुझ्न देखिएको देखेर पुग्दैन, बुझ्नलाई निहितार्थसम्म पहुँच हुनुपर्छ । 

विज्ञहरू भन्छन्, निहितार्थ बुझ्न पात्रका प्रकृति र प्रवृत्तिको न्यायपूर्वक, युक्तिसंगत विश्लेषण हुनुपर्छ । 

२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली राजनीतिको नयाँ यात्रा प्रारम्भ भयो । त्यसपछिका वर्षमा तत्कालीन मालेले आफूलाई बहुदलीय व्यवस्था सुहाउँदो कम्युनिस्ट पार्टी बनाउने उद्योग गरिरहँदा तत्कालीन महासचिव मदनकुमार भण्डारीले लामो समयसम्म लोकतान्त्रिक धारसँग नजिक रहेर पार्टीलाई जीवित राख्नुभएका मनमोहन अधिकारीको नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी) सँग एकता गरेर मालेलाई एमालेमा परिणत गर्नुभयो । महासचिव भण्डारीको अग्रसरतामा एमालेले परम्परागत कम्युनिस्ट एकदलीयता अर्थात् नौलो जनवादका ठाउँमा जनताको बहुदलीय जनवाद अर्थात् जबज नामक सिद्धान्त प्रतिपादन ग¥यो । नौलो जनवादीहरू अल्पमतमा परे, जबज पक्षले पार्टीको कमान, सम्पूर्ण रूपमै आफ्नो अधिनमा लिए । त्यही जबज कित्तामा निकै पछाडिको पंक्तिमा हुनुहुन्थ्यो ओली । भण्डारीसँगै कुम जोड्नेमा पर्नुहुन्थ्यो माधव नेपाल । 

दुर्भाग्यवश नेपालका कार्ल माक्र्सका रूपमा अमेरिकी पत्रिका न्युजविकले विश्वभर चिनाएका भण्डारीको एउटा सडक दुर्घटनामा मृत्यु भयो । त्यसपछि पार्टीको कमान सम्हाल्नुभयो माधव नेपालले र उहाँका अत्यन्त निकट सहयोगीका रूपमा ओलीको राजनीतिक सक्रियता प्रच्छन्न हुन थालेको हो । २०५१ सालमा भएको मध्यावधि चुनावमा एमाले प्रतिनिधिसभामा सबैभन्दा ठूलो पार्टी बन्न पुग्यो, त्यसबखत बनेको एमालेको सरकारमा उहाँले गृहमन्त्रीको पद पाउनु भयो । यसबाट वास्तवमा उहाँको राजनीतिक जीवनमा गतिवृद्धि भयो । तत्पश्चात् एउटा लो प्रोफाइल र समान्य गतिमा चलिरहेको उहाँको राजनीतिले अचानक नयाँ गति लियो र त्यो गति वृद्धि हुँदै आएर उहाँ आफ्ना सिनियरहरूलाई उछिन्दै क्रमशः राष्ट्रिय राजनीतिको केन्द्रीयभावमा स्थापित हुन पुग्नुभएको हो ।

२०६२/६३ को जनआन्दोलनको सफलतापछि बनेको गिरिजाप्रसाद कोइराला मन्त्रिपरिषद्मा उहाँले परराष्ट्र मन्त्रीको पद पाउनु भयो । यसले उहाँलाई अन्तर्राष्ट्रिय परिचय, एक्स्पोजर मिल्यो । राजनीतिक चातुर्य त उहाँमा थियो नै, छरछिमेकमा समेत उहाँले आफ्नो सीप प्रदर्शन गर्न पाउनु भयो । तर पहिलो संविधानसभामा उहाँ आउन पाउनु भएन, चुनाव हार्नुभयो । त्यस चुनावमा एमालेकै दुर्दशा भएको, त्यसका महासचिव माधवकुमार नेपाल स्वयं दुई स्थानबाट उम्मेदवार बन्नुभएको थियो, हार्नु भयो । आफू र पार्टी हारेको नैतिक जिम्मेवारी लिंदै उहाँले महासचिव पदबाट राजीनामा दिनुभयो ।
 
माधवकुमारको नैतिक जिम्मेवारीका कारण रिक्त हुन पुगेको महासचिव पदमा प्रकारान्तरमा आसिन हुन पुग्नुभयो झलनाथ खनाल । एमालेको जीवनमा वास्तवमा त्यो समय ज्यादै दुःखदायी थियो । 

त्यसपछिको अधिवेशनमा एमाले महासचिवीय प्रणालीबाट अध्यक्षीय प्रणालीमा प्रवेश ग¥यो, नयाँ प्रणाली अन्तर्गतको पहिलो अध्यक्ष बन्नुभयो खनाल नै र त्यसपछि खनाललाई प्रतिस्थापित गर्दै ओली एमालेको अध्यक्ष बन्नुभयो । ओलीलाई एमाले अध्यक्ष बनाउन वामदेव गौतमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो र निकै पछि त्यही गुन तिर्न उहाँलाई राष्ट्रियसभा सदस्य बनाइयो । 

२०६४ सालमा चुनिएको संविधानसभाले संविधान निर्माणको काम सम्पन्न गर्न नसकेर २०७० सालमा दोस्रो संविधानसभाको निर्वाचन भयो, त्यसमा भने ओली झापाबाट संविधानसभा सदस्यका रूपमा निर्वाचित भएर आउनुभयो । उहाँले कांग्रेससँग भद्र सहमति गरेर, संविधान आइन्जेल कांग्रेसलाई सत्ताको नेतृत्व गर्न दिने र संविधान आएपछि प्रधानमन्त्रित्व आफूमा सर्ने प्रबन्ध गर्नुभएको तर संविधान आएपछि कांग्रेसले सहमतिअनुसार उहाँलाई प्रधानमन्त्रित्व सुम्पेन । फलस्वरूप उहाँ माओवादीको समर्थनमा प्रधानमन्त्री बन्नुभयो । 

यहाँ के पनि स्मरणीय छ भने संविधान जारी हुन तीन चार दिन बाँकी छँदा संविधान जारी गर्ने मितिको मुखैमा स्थगित गर्ने आग्रह गर्न आएका तत्कालीन भारतीय विदेश सचिव सुब्रह्मण्यम जयशंकर जो हाल विदेश मन्त्री छन्, बीच अप्रिय संवाद भएको थियो । त्यसैका फलस्वरूप, असोज ३, २०७२ मा संविधान जारी गरे वापत नेपालमाथि भारतले नाकाबन्दी लगाएको र ओलीसँग भारतीय संस्थापनको सम्बन्ध बिग्रेको चर्चा बारम्बार गरिन्छ । पछिल्लो पटक प्रधानमन्त्री बनेपछि उहाँलाई भारत भ्रमणको निम्तो नदिनुलाई त्यसै घटनासँग जोडेर हेर्ने गरिन्छ । 

त्यो छोटो कार्यकालमा, नाकाबन्दीविरुद्ध दरिलो अडान लिएका कारण ओली गज्जबै लोकप्रिय हुनुभएको तर केही समयपछि उहाँ सत्ता सहयोगी दल माओवादी प्रमुख पुष्पकमल दाहालद्वारा पद विस्थापित हुनुभयो । दाहालको नेतृत्वलाई देउवाले सघाउनु भयो, केही समयपछि दाहालले देउवालाई सत्ताको नेतृत्व हस्तान्तरण गर्नु भयो । तर २०७४ सालको निर्वाचनको मुखैमा दाहाल ओलीसँग चुनावी गठबन्धन गर्न पुग्नुभयो । एमाले माओवादी गठबन्धनले भव्य प्रदर्शन गर्दै उल्लेख्य अर्थात् जीत हासिल गर्यो ।  

त्यो जीत अभूतपूर्व थियो । त्यसको केही समयपछि एमाले माओवादी एकता पनि भयो तर एकताको मसी नसुक्दै ओली दाहाल गठबन्धनमा अमिलोपन बढ्दै गयो । मुद्दाविशेषमा असहमतिभन्दा पनि ओलीको आफ्ना सहयात्रीप्रतिको असहिष्णुता र सहयात्रीहरूका लालसाको अन्तर्संघर्षको शिकार बन्यो प्रतिनिधिसभा । ओलीले एक पटक होइन, दुईपटक सभा विघटन गर्नुभयो । पहिलो पटकको विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि फेरि विघटन गर्नुभयो र त्यो विघटनलाई बदर गर्दै अदालतले प्रधानमन्त्री बनाउनुपर्ने मान्छेको नामै तोकेर फैसला ग¥यो । त्यो नाम थियो शेरबहादुर देउवा । 

देउवा उतिखेर ओलीका प्रखर विरोधी, अहिले सत्ता पार्टनर हुनुहुन्छ । अहिले ओली र देउवा दुवै प्रचण्डका घोर विरोधी तर ७९ चुनाव लगत्तै बनेका  प्रचण्ड सरकारमा कहिलेको पार्टी सहभागी, त्यसपछि प्रचण्डकै सरकारमा कांग्रेस पार्टनर । प्रचण्ड कांग्रेसलाई छोडेर फेरि ओलीसँग सहकार्य गर्न पुग्नुभएका प्रचण्डलाई केही कालपछि पन्छाएर ओली कांग्रेससँग मिलेर असार २०८१ देखि आफैं प्रधानमन्त्री हुनुहुन्छ । 

२०७२ सालमा नेपालको संविधान आएपश्चात् देशको प्रधानमन्त्रित्व उहाँहरू तीनजनाबीच आलोपालो चलिरहेको छ । मिल्ने, फाट्ने उहाँहरूमाझमै भइरहेको छ । यसले तीनै दलमा असन्तुष्टि आकारित भइरहेको कसैबाट लुकेको, छिपेको छैन । कतै त्यही असन्तुष्टिलाई वाणी दिने हेतुले पूर्व राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको एमालेमा पुनःप्रवेश भएको त होइन ? श्रीमती भण्डारीको सक्रियता कतै यो नेक्सस तोड्ने प्रयोजनले प्रेरित त होइन ? कतै एमालेले ०८४ को निर्वाचन अभियानको नेतृत्व लिने वैकल्पिक नेतृत्व त खोजेको होइन ? 
    
   

 
 

प्रतिक्रिया