सेयर बजारमा १६.१८ अंकको गिरावट, कारोबार घट्यो

काठमाडौँ। साताको दोस्रो दिन पनि सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। सोमबार १६.१८ अंकले घट्दै नेप्से परिसूचक १९५८.१९ विन्दुमा रहँदा कारोबार रकम पनि घटेको छ।

६९ लाख ७८ हजार ३२१ कित्ता सेयर २ अर्ब ८९ लाख रुपैयाँमा किनबेच भएको छ। यसअघि आइतबार २४.५८ अंकले घट्दै नेप्से परिसूचक १९७४.३७ विन्दुमा रहँदा  ९७ लाख ६२ हजार ८०३ कित्ता सेयर किनबेच भएको थियो। कारोबार रकम ३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँ थियो।

१३ मध्ये विकास बैंकबाहेक सबै उपसूचक घट्दा नेप्सेसँगै कारोबार रकम घटेको हो। आइतबार भने सर्वाधिक विकास बैंक उपसमूह २.६५ प्रतिशतले घटेको थियो।

१७७ कम्पनीको सेयरमूल्य घट्दा लगानीकर्ताले गुमाएका छन्। ६२ कम्पनीको सेयरमूल्य बढेको छ भने ७ कम्पनीको सेयरमूल्य स्थिर रह्यो। २८.४ प्रतिशत लाभांश घोषणा गरेको सिटिजन लाइफ इन्स्योरेन्स सर्वाधिक कारोबार हुनेमा कम्पनीको सूचीमा पहिलो नम्बरमा छ। उक्त कम्पनीको ३१ करोड ९८ लाख रुपैयाँको सेयर किनबेच भएको छ। नेपाल फाइनान्सको १० करोड ८१ लाख, पोखरा फाइनान्सको ९ करोड ८० लाख, हिमालयन रिइन्स्योरेन्सको ६ करोड ६५ लाख र गोर्खाज फाइनान्सको ६ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

सेयरमूल्य बढ्ने कम्पनीका बोटलर्स तराई, माउन्टेन हाइड्रो, सीवाइसी लघुवित्त, दिव्यश्वरी हाइड्रोपावर, बराही हाइड्रोपावर लगायत छन्। पोखरा फाइनान्स र दोल्ती पावर कम्पनीको सेयरमूल्य घटेर नेगेटिभ सर्किट नै लागेको छ। पिपुल्स पावर, समता घरेलु लघुवित्त, नाडेप लघुवित्तको पनि सेयरमूल्य घटेर लगानीकर्ता नोक्सानमा परेका छन्। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया