सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार घट्यो

काठमाडौँ। साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। आइतबार २४.५८ अंकले घट्दै नेप्से परिसूचक १९७४.३७ विन्दुमा रह्यो। 

९७ लाख ६२ हजार ८०३ कित्ता सेयर ३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँमा किनबेच भएको छ। 

यो गत साताको अन्तिम कारोबार दिनभन्दा घटेको हो। गत बिहीबार नेप्से परिसूचक ७.३१ अंकले घट्दै १९९८.९६ विन्दुमा रहँदा ९४ लाख ९८ हजार २९८ कित्ता सेयर ४ अर्ब १३ करोड ३३ लाख रुपैयाँमा किनबेच भएको थियो। 

लघुवित्त र निर्जीवन बीमाबाहेक सबै उपसूचक घट्दा परिसूचकसँगै कारोबार घटेको हो। सर्वाधिक विकास बैंक उपसमूह २.६५ प्रतिशतले घटेको छ। 

१९६ कम्पनीको सेयरमूल्य घट्दा लगानीकर्ताले गुमाएका छन्। ४२ कम्पनीको सेयरमूल्य बढेको छ भने ७ कम्पनीको सेयरमूल्य स्थिर रह्यो । 

सर्वाधिक कारोबार हुनेमा कम्पनीको सूचीमा नेपाल फाइनान्स पहिलो नम्बरमा छ। उक्त फाइनान्सको १२ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। 

हिमालयन डिष्टिलरीको ११ करोड ९० लाख, पोखरा फाइनान्सको ११ करोड ७० लाख, आइएमई लाइफ इन्स्योरेन्सको ११ करोड र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ९ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

सेयरमूल्य बढ्ने कम्पनीका दोल्ती पावर, साधना लघुवित्त, समता घरेलु लघुवित्त लगायत छन्।

सेयरमूल्य घटेर लगानीकर्ता नोक्सानमा परेका पिपुल्स पावर, सिंगटी हाइड्रवोपावर, हिमालयन डिष्टिलरी, जानकी फाइनान्स, बोटलर्स तराईलगायत छन्। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया