सेयर बजार १४.३३ अंकले बढ्यो, कारोबारमा सामान्य सुधार

काठमाडौँ। साताको पहिलो दिन सरकारले तेस्रो लगानी सम्मेलन गरिरहेका बेला सेयर बजारको संकेत पनि सकारात्मक छ। बजार परिसूचक १४.३३ अंकले बढ्दै १९८०.२७ विन्दुमा आइपुगेको छ।

६८ लाख ७८ हजार १६९ कित्ता सेयर २ अर्ब ६८ करोड २५ लाख रुपैयाँमा किनबेच भएको छ। गत साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक ३.२४ अंकले घट्दै १९६५.९३ को विन्दुमा थियो भने ६३ लाख १२ हजार ५ सय ५२ कित्ता सेयर २ अर्ब ३६ करोड ६९ लाख रुपैयाँमा किनबेच भएको थियो।

आइतबार १३ मध्ये व्यापारबाहेक सबै उपसमूह बढेका छन्। सर्वाधिक ३.९८ प्रतिशतको बढोत्तरी देखिएको फाइानान्स उपसमूहले बजार परिसूचक उचालेको हो। सेयरमूल्य बढ्ने र कारोबार उल्लेख्य हुनेमा फाइनान्स कम्पनी नै अघि आएका छन्।

१७९ कम्पनीको सेयरमूल्य बढेको छ भने ५६ कम्पनीको घटेको छ। ९ कम्पनीको सेयरमूल्य स्थिर रह्यो। सेयरमूल्य बढ्नेमा पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, बेस्ट फाइनान्स, किसान लघुवित्तलगायत छन्।

सेयर कारोबार धेरै हुनेमा पोखरा फाइनान्स अगाडि छ। उक्त कम्पनीको १३ करोड ५ लाखको सेयर किनबेच भएको छ। यस्तै मल्टीपर्पोज फाइनान्सको १० करोड ९ लाख, पिपुल्स पावरको ९ करोड ८५ लाख, गोर्खाज फाइनान्सको ८ करोड ५८ लाख, नेपाल फाइनान्सको ६ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

सेयरमूल्य घट्नेमा रिभर फल्स पावर, एनआइसी एसिया ग्रोथ फण्ड–२, गरिमा डिबेञ्चर–२०८५, छ्याङदी हाइड्रोपावरलगायत छन्। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया