प्रधानमन्त्री र चिनियाँ टोलीबिच भेट, नेपालमा लगानी बढाउन इच्छुक

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिआइडिसिए) का अध्यक्ष लु झाउहुईबीच शिष्टाचार भेटवार्ता भएको छ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरूबिच नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.रुपक सापकोटाले जानकारी दिए।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय नेपाल–चीनबिच भएका उच्चस्तरीय भ्रमणबाट दुई देशबीच रही आएको सम्बन्धले थप उचाइ लिँदै गएको र द्विपक्षीय सम्झौताहरूको कार्यान्वयनमा गति पैदा भएको बताए।

उनले भने, “नेपाल र चीनबिचका थप नाकाहरु सञ्चालनमा आएका छन्, यसले सीमा क्षेत्रका जनतालाई राहत पुगेको छ। नेपालमा हुन लागेको लगानी सम्मेलनमा पनि चिनियाँ लगानीकर्ताले चासो राखेको पाएको छु।”

अध्यक्ष झाउहुईले चिनियाँ लगानीकर्ताले नेपालको विद्युत् प्रशारण लाइन निर्माण र टोखा–छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययन लगायतका क्षेत्रमा लगानी गर्न चाहेको बताएका थिए। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया