पाँच पटक भेटेपछि कतारी राजाको नेपाल भ्रमण तय भएको हो: राजदूत डा.ढकाल

काठमाडौँ। नेपालका लागि कतारका राजदूत डा. नरेश विक्रम ढकालले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालमा राजकीय भ्रमण भब्य रुपमा सफल सम्पन्न भएको जानकारी गराएका छन्।

बिहीबार काठमाडौँमा पत्रकारको सम्मेलनको आयोजना गरी उनले बैशाख ११ र १२ गतेको कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालमा राजकीय भ्रमण सफल रूपमा सम्पन्न भएको जानकारी गराएका हुन्।

उनले भने, “नेपालका सम्माननीय राष्ट्रपति महोदयको निमन्त्रणामा यही २०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालमा राजकीय भ्रमण सफल रूपमा सम्पन्न भएको छ।”

नेपाल भ्रमणका लागि प्रस्ताव गर्न आफूले दुई बर्षको अन्तरालमा पाँच पटकसम्म राजालाई भेटेको र भ्रमणको मिति तयर गरेको राजदूत डा.ढकालले बताए। “भ्रमण पश्चात कतारलाई विकास साझेदार मित्र राष्ट्रका रुपमा अगाडि बढाउनका लागि मैंले आगामी दुई बर्षलाई अवसर र चुनौतीको रुपमा लिएको छु। र मलाई विश्वास छ, नेपालका तर्फबाट गरिएका अपेक्षाहरु अधिकांश मेरै कार्यकालमा पुरा गराउने प्रतिवद्धता व्यक्त गर्दछु,” उनले भने।

त्यस्तै पत्रकार सम्मेलनमा श्रम सम्बन्धी सम्झौतामा घरेलु कामदार र समय सापेक्ष कामदारका सेवा सुविधाहरु परिवर्तनका विषयमा छलफल जारी रहेको, लुम्बिनी र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि कतार एयरलाइन्सको उडान गर्नका लागि अनुरोध गरिएको र त्यसलाई कतारले सकरात्मक रुपमा लिएको जानकारी गराइयो।

भ्रमणका अवसरमा नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र कतार सरकार तथा कतार च्याम्बरका बिचमा एकआपसमा सहयोग आदान प्रदान गर्ने गरी आठवटा समझदारी तथा सम्झौता भएको पनि उनले जानकारी गराएका छन्। 
समझदारी तथा सम्झौता निम्न अनुसार छन् : 
१.संस्कृति तथा कला
२. शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान
३.युवा तथा खेलकुद 
४.नेपालको महान्यायाधिवक्ता र कतारको सरकारी अभियोजन (कसैको उपर फौजदारी मामिला चलाउने काम) बिच समझदारी
५.कुटनीति तालिम तथा शिक्षा
६.राष्ट्रिय समाचार समिति र कतार न्युज एजेन्सी बिच समाचार आदान प्रदानको सम्झौता
७.नेपाल उद्योग वाणिज्य महासंघ र कतार च्याम्बर लगानी सम्बन्धि पुनः समझदारी
८.नेपाल उद्योग वाणिज्य महासंघ र जोइन्ट विजनेश काउन्सिल कतार समझदारी।

 (नेपाल न्यूज बैंक)

प्रतिक्रिया