नेपाली चियामाथिको भारतीय अवरोध हटाउन माग

काठमाडौँ। भारतीय पक्षले नेपालमा उत्पादित चियाको निर्यातमा अवरोध गरेपछि नेपाली व्यवसायीहरु मारमा परेका छन्। पूर्वी नेपालका चिया उद्योगीहरुले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर समस्या समाधानका लागि पहल गर्न माग गरेका छन्।

भारतीय व्यवसायीले अनिवार्य परीक्षणको बहानामा नेपाली चियामाथि पुनः अवरोध सिर्जना गरेपछि नेपाली उद्योगी व्यवसायी मारमा परेको उनीहरुको भनाइ छ। भारतीय व्यवसायीले नेपाली चिया निर्यात रोक्न दबाब दिएपछि समस्या आएको हो। भारतीय चिया परीक्षणबिना तेस्रो देश निर्यात हुँदैन अनि बिना परीक्षण नेपाली चियालाई किन निर्बाध प्रवेश दिएको भनेर विरोध गरेपछि भारतीय प्रशासनले नेपाली चियानमा अवरोध गरेको व्यवसायीहरुको भनाइ छ।

मंगलबार विहान पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा इलामका चिया व्यवसायीहरुको टोलीले प्रधानमन्त्रीलाई भेटेको छ। इलाम फिक्कलका चिया व्यवसायी गोपाल कट्टेलले भने, “नेपाल–भारत वाणिज्य सन्धिमा एकअर्का देशका क्वारेन्टिन प्रमाणपत्रलाई दुवै देशमा मान्यता दिने भनेर निर्यात हुँदै आएको नेपाली चियामाथि एक्कासी अवरोध गर्दा मारमा परेका छौं। यसमा नेपाल सरकार र मातहतका निकायले तुरुन्त पहल गर्नुपर्छ।”

भारतका व्यवसायीले चियालाई खाद्य प्रयोगशालाहरुमा परीक्षण गरिने वस्तुका रूपमा समावेश गर्न माग गर्दै आएका छन्। त्यस्तै सन् २०२१ नोभेम्बर ३ मा टी बोर्ड अफ इन्डियाले नेपाली चियाको आयात रोक्न माग गर्दै भारतको वाणिज्य तथा उद्योग मन्त्रालयमा पत्राचारै गरेको थियो। तत्कालीन राज्यसभा सदस्य शान्ता क्षेत्रीले पश्चिम बंगाल विधानसभामै नेपाली चिया आयातमा रोक लगाउन माग गरेकी थिइन्। 

गुणस्तरीय नेपाली चियाका कारण दार्जिलिङ चियाको ब्रान्ड खतरामा पर्ने भएपछि व्यवसायीहरुकै पहलमा नेपाली चियामा अवरोध खडा गर्दै आएका छन्। केही भारतीय व्यापारीले नै कम मूल्यमा आयात गरिएको नेपाली चियालाई दार्जिलिङ ब्रान्ड बनाएर तेस्रो देश निर्यात गर्ने गरेको पाइन्छ।

गत बर्ष पनि भारतीय अवरोध विरुद्ध नेपाली व्यवसायीहरुले काठमाडौँमा आएर अवरोध हटाउन माग गरेका थिए। हाल पनि झापाको काकडभिट्टा नाकामा नेपाली चिया बोकेका दर्जनौं गाडी रोकिएका छन्। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया