स्वास्थ्य सेवा गुणस्तर छानबिन प्रतिवेदन कार्यान्वयन माग

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डा. गोविन्द केसीले शिक्षा मन्त्रालयले हालै सार्वजनिक गरेको स्वास्थ्य सेवाको गुणस्तर नियमन गर्ने सरकारी निकाय र शिक्षण संस्थानमा भएको भ्रष्टाचार र अनियमितताको छानबिन गर्न गठित समितिको समितिको रिपोर्ट तत्काल कार्यान्वयन गर्न माग गरेका छन् । 

शनिबार काठमाडौंको माइतीघर मण्डलामा पत्रकार सम्मेलनको आयोजना गर्दै डा. केसीले छानबिन समितिले बुझाएको प्रतिवेदनमा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीद्धय शेरबहादुर देउवा र केपी शर्मा ओलीलगायत प्रमुख दलका नेताहरु नै संलग्न रहेको उल्लेख गर्दै प्रतिवेदनको सुझावअनुसार तुरुन्त दोषीहरू उपर कारवाही गर्न माग गरेका हुन् । 

‘हालै शिक्षा मंत्रालयले स्वास्थ्य सेवाको गुणस्तर नियमन गर्ने सरकारी निकायदेखि लिएर विभिन्न विश्वविद्यालय लगायतका शिक्षण संस्थानका पदाधिकारीहरूले गरेका भ्रष्टाचार र अनियमितता छानबिन गर्न गठित पूर्व न्यायाधीश गौरीबहादुर कार्की आयोगले करिब ७ वर्षअघि बुझाएको, भ्रष्टाचारमा संलग्न पदाधिकारीहरू र सजायवारे सुझाव सहितको रिपोर्ट हाले सार्वजनिक गरेको छ । दोषीहरूमा शेरबहादुर देउवा, केपी ओली र प्रचण्डलगायत प्रमुख दलका कार्यकर्ता पदाधिकारीहरू छन् ।

रिपोर्ट बुझाएलगत्तै त्यसलाई सार्वजनिक गरेर दोषीहरूमाथि कारवाही गर्न शुरुमा देउवा र त्यसपछि ओली सरकारलाई आग्रह गरेका थियौं र सत्याग्रहसहितको दबाब दिएका थियौं तर सुनुवाइ भएन । अब प्रतिवेदन सार्वजनिक भइसकेको अवस्थामा त्यसका सुझावअनुसार तुरुन्त दोषीहरू उपर कारवाही गर्न माग गर्दछौं,’ डा. केसीद्धारा सार्वजनिक विज्ञप्तिमा उल्लेख छ ।  

त्यस्तै, केसीले मुलुकमा गुणस्तरहीन शिक्षा र दिगो रोजगारीको अभाव भएका कारण १२ कक्षा उत्तीर्ण भएलगत्तै प्रत्येक वर्ष दशौ हजार युवाहरु विदेशिइरहेको बताउँदै यसको कारण नै मुख्य दलको नेतृत्व नै रहेको जिकिर गरे । 

उनले भने, ‘देशको चिकित्सा शिक्षा नियमन गर्ने मुख्य निकाय नै यति लामो समयसम्म पदाधिकारीविहिन बनेको छ। नेता, राजनितिक कार्यकर्ता र गलत तत्वहरुको घृणित स्वार्थका लागि जनता र देशले किन मूल्य चुकाउने ?’

सर्वोच्च अदालतले मापदण्ड पनि नपुगेको र प्रक्रिया पनि नपुर्याएको मेडिकल व्यापारीको अस्पताललाई सम्बन्धन दिनु भन्ने आदेश चिकित्सा क्षिक्षा ऐन र अन्य प्रचलित कानुनहरुको विपरीत भएको केसीको दाबी छ । 
 

प्रतिक्रिया