डा.कोइरालासँग किरात धर्म गुरुले भने: गिरिजाप्रसादपछि देशले अभिभावक पाएन

इलाम। नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला किरात धर्म गुरु आत्मनन्द लिङ्देनसँग आशीर्वाद लिन उनको आश्रममा पुगेका छन्।

उपनिर्वाचनको प्रचारका लागि केही दिनदेखि इलाम २ मा रहेका डा.कोइरालाले मंगलबार इलाम २ मै रहेको इलाम माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा रहेको लिङ्देनको आश्रम पुगेर उनलाई भेटेका हुन्।

भेटमा धर्मगुरु लिङ्देनले देशको अवस्था राम्रो नभएको, जनताले सास्ती भोगिरहनु परेको र धर्म संस्कृतिको क्षेत्रमासमेत प्रहार हुन थालेको गुनासो गरे।

लिङ्देनले पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला तीन पटक आफूलाई भेट्न आएको स्मरण गर्दै शेखर कोइरालालाई भने, “गिरिजाप्रसाद पछि देशले जिम्मेवार अभिभावक पाएन। माओवादी द्वन्द्व समाधान गर्न तपाईले निकै राम्रो भूमिका खेल्नुभयो। अब एकपटक देशको बागडोर सम्हालेर जनताको अभिभावक बनिदिनुस्, म तपाईंको साथमा छु।”

जवाफमा नेता कोइरालाले आफू यतिबेला सबैभन्दा माथि देश र जनता छन् भन्ने अभियान बोकेर हिँडेको बताए। कोइरालाले सबै जातजातिको धर्म संस्कृति बचाउने कुरामा आफू अडिग रहेको र त्यसका लागि गुरु लिङ्देनको आशीर्वाद लिन आएको बताए। कोइरालाले अहिलेको बेथिति हटाएर देशलाई निकास दिन सक्छु भन्ने कुरामा विश्वस्त रहेको धारणा राखे।

यसअघि हिजो कोइरालाले इलाम २ का नेताहरुसँग छलफल गरेका थिए। उनले कांग्रेसी नेताहरुलाई उपनिर्वाचनमा कांग्रेस जसरी पनि विजयी हुनुपर्ने बताएका थिए। उनले कांग्रेस कमजोर छैन र एक्लै निर्वाचन लड्न सक्षम छ भन्ने सन्देश दिन पनि इलाम–२ को उपनिर्वाचन जसरी पनि कांग्रेसले जित्नै पर्ने बताए।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया