सेयर बजारमा १४.८१ अंकको गिरावट, कारोबार अझ घट्यो

काठमाडौँ। नयाँ वर्षको पहिलो कारोबार दिनबाटै ओह्रालो लागेको सेयर बजार तेस्रो दिन पनि लगातार घटेको छ।

मंगलबार बजार १४.८१ अंकले घटेर नेप्से परिसूचक १९९१.७१ विन्दुमा रह्यो। कारोबार रकम पनि घटेर २ अर्ब १० करोड ३० लाख रुपैयाँमा सीमित भएको छ।

यसअघि सोमबार १६.८२ अंकले घटेर परिसूचक २००६.५२ विन्दुमा रहँदा कारोबार रकम २ अर्ब ७९ करोड ७५ लाख रुपैयाँ थियो। त्यसअघि आइतबार बजार २.३५ अंकले घट्दा परिसूचक २०२३.३५ विन्दुमा थियो, कारोबार रकम ३ अर्ब ६ करोड रुपैयाँ थियो। यो साता तेस्रो कारोबार दिनसम्म पनि बजार कारोबारले सुधारको संकेत देखाएको छैन।

१३ उपसमूहमा आज पनि सबै घट्दा परिसूचकसँगै कारोबार रकम घटेको हो। जलविद्युत र लघुवित्त उपसमूह सर्वाधिक घटेका छन्। कारोबारमा आएका कम्पनीमध्ये २ सय वटाको सेयरमूल्य घटेको छ भने ४२ वटाको मात्रै बढेको छ। २ कम्पनीको सेयरमूल्य स्थिर रह्यो।

घटेको बजारमा पनि सिद्धार्थ बैंक डिबेञ्चर ८९ को मूल्य बढेर सकारात्मक सर्किट स्तरमा पुगेको छ। गोर्खाज फाइनान्स, सिभिल बैंक डिबेञ्चर ८८, ग्रीन डेभलपमेन्ट बैंक, दिव्यश्वरी हाइड्रोपावरलगायत बडेका छन्।

साताको तेस्रो दिन सर्वाधिक कारोबार हुने सेयर गोर्खाज फाइनान्सको रह्यो। उक्त फाइनान्सको १७ करोड ५९ लाख रुपैयाको सेयर किनबेच भएको छ। यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्सको ७ करोड ४३ लाख, पोखरा फाइनान्सको ६ करोड ६८ लाख र सर्वोत्तम सिमेन्टको ४ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

घटेका सेयरमा रुरु जलविद्युत परियोजनाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। पोखरा फाइनान्स, सीवाइसी नेपाल लघुवित्त, दोल्ती पावर, जनउत्थान सामुदायिक लघुवित्त लगायतका सेयर घटेका सूचीमा छन्।  (नेपाल न्यूज बैंक)

प्रतिक्रिया