‘निर्वाचनमा महिलामाथि राजनीति हिंसा भयो तर उजुरी किन परेन ?’

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०७९ को निर्वाचनमा महिलामाथि राजनीति हिंसा भएको बताएका छन्।

सोमबार अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा निर्वाचन आयोग र ‘युएन वुमन’द्वारा आयोजित ‘निर्वाचन र महिला : नेपालका प्रयास, उपलब्धि र आगामी कार्यदिशा’ विषयक अन्तरक्रियाको उदघाटन सत्रमा उनले, २०७९ को निर्वाचनमा महिलामाथि राजनीति हिंसा भएको तर सिङ्गो देश सो विषयमा मौन रहेको बताए। उनले उक्त विषयमा उजुरी र गुनासो नआएको भन्दै सहन सक्ने क्षमता बढाउन थालेको हो ? भन्दै प्रश्न गरे।

उनले भने, “२०७९ को स्तानीय तहको निर्वाचन र सम्पूर्ण निर्वाचन सम्पन्न गर्दा धेरै ठाउँमा धेरै तरिकाबाट महिला हिंसा अर्थात राजनीति हिंसा भयो भन्ने अनुभुत गर्यौं। थोरै कानुनमा पनि व्यवस्था ग¥यौं। तर सिङ्गो देश यो विषयमा मौन रह्यो। कहिँ कतै उजुरी र गुनासो पनि आएन। के हामी सहन सक्ने क्षमता बढाउन थालेका हौं? वा महिला हिंसालाई बुझेनौँ?”

उनले संविधान र कानुनले स्पष्ट रुपमा तोकेको पद बाहेक अन्य पदमा महिला उम्मेद्वारी दिन र प्रतिनिधित्व गर्न उत्सुक नरहेकाप्रति चिन्ता व्यक्त गरे। राजनीतिक दलहरुबाट नै क्षमता र योगदानको अवमूल्यन हुने अधिकार र अवसरबाट वञि्चत गरिने काम भएको उनको भनाई छ।

उनले भने, “संविधान र कानुनले स्पष्ट रुपमा तोकेको पददेखि बाहेक अन्य पदमा उम्मेद्वारी दिन र प्रतिनिधित्व गर्न उत्सुक देखिएन। बाध्यकारीमा त उपाय नै भएन। यो उत्साह हामीमा किन आएन। हामीले सुनेका छौँ। राजनीतिक दलहरुबाट नै क्षमता र योगदानको अवमूल्यन हुनेगर्छ। अधिकार र अवसरबाट वन्चित गरिने किसिमको काम भइरहेको छन्। समग्रतामा निर्वाचनमा उत्साहजनक रुपमा महिलाको सहभागिता हुने वातावरण बनिसकेको छैन। यसमा कतिपय कानुनी अवरोधका पक्ष होलान, कतिपय स्रोत साधनका सीमा छन्।”(नेपाल न्यूज बैंक)

प्रतिक्रिया