कागज व्यापारमा मनोमानीः साल्ट ट्रेडिङ निजी कम्पनीको पकडमा

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले निजी व्यापारिक कम्पनीको व्यवसायिक स्वार्थ पूरा हुनेगरी प्रचलित ऐन विपरित कारोबार गरिरहेको पाईएको छ ।

साल्ट ट्रेडिङले काठमाडौंस्थित व्यापारिक कम्पनी प्रिन्टसेल इमेज प्रालिसँग मिलेर सिंगारपुरबाट झिकाएर विभिन्न किसिमका छपाई कागज बिक्री गर्ने गरेको छ । साल्ट ट्रेडिङले सिंगापुरस्थित फुजीटो प्रालि भन्ने कम्पनीबाट आउने कागज प्रिन्टसेललाई मात्र बिक्री गरिरहेकाले अरु कागजकै व्यवसायिक संस्थाहरु मर्कामा परेको व्यवसायीहरुको गुनासो छ ।

सिंगापुरस्थित फुजीटो कम्पनी ललितपुरको कुपण्डोलमा रहेको प्रिन्टसेलकै प्रधान कार्यालय हो भने यसको सञ्चालक पनि एकै परिवारका सदस्यहरु हुन् । प्रिन्टसेल दिपक वंशालीले रेखदेख गर्छन् भने फुजीटो उनका दाजु मनिष वंशालीले सञ्चालन गरिरहेका छन् । रञ्जित वंशालीका दुइ पुत्रहरुको व्यापारिक संस्थासँग कागज खरिद गरेर साल्ट ट्रेडिङले प्रतिष्पर्धा गराउनुपर्ने कानूनी प्रावधानको उल्लंघन गरेको निजी व्यवसायीहरुको पेशागत संगठन कागज व्यवसायी संघको आरोप छ । 

संघका एक पदाधिकारीले नाम उल्लेख नगर्ने शर्तमा साल्ट ट्रेडिङले विदेशी कम्पनीसँग व्यापारिक कारोबार गर्न आवश्यक कानूनी पूर्व शर्त नै पालना नगरेको र प्रचलित खरिद ऐन तथा नियमावली अवज्ञा गरेको बताए ।  

साल्ट ट्रेडिङ, नेपाल सरकारको समेत स्वामित्व भएको र निश्चित उदेश्यका लागि स्थापना भएको संस्था हो । यो संस्थाले ती व्यापारिक फर्मसँग साँठगाँठ गरि अन्तर्राष्ट्रिय बजारमा चलेको मूल्यभन्दा बढीमा कतै प्रतिष्पर्धा नै नगराई मनोमानी ढंगले कागज खरिद गर्दै आएको संघको दावी छ । यसरी आयात गरिएको कागज अन्य कुनै पनि उपभोक्ता वा व्यापारीलाई बिक्री गर्न नमिल्ने र नबेच्ने गरी स्थानीय  कम्पनी प्रिन्टसेललाई मात्र नगन्य मुनाफा लिएर एकाधिकार दिई बिक्री गर्दै आएको पनि संघले जनाएको छ । 

अर्कोतिर फुजीटोको वेभसाईटमा प्रिन्टसेललाई उसको सब्सीडायरी भनिएको छ । जबकि कुनै पनि नेपाली कम्पनी विदेशी कम्पनीको सब्सीडायरी हुनका लागि विदेशी लगानीको स्वीकृति लिई वैधानिक बाटोबाट लगानी हुनुपर्छ । तर त्यस्तो कुनै कानूनी प्रक्रिया पूरा गरिएको देखिँदैन ।

यसबाट विदेशी मुद्रा अपचलन, सम्पत्ति शुध्दिकरण र सार्वजनिक खरिद ऐन नियमको समेत उल्लंघन भएको संघको भनाई छ । कागज पठाउने र यहाँ बिक्री गर्ने कम्पनी एउटै परिवारको भएको र साल्ट ट्रेडिङलाई प्रयोग गरेर एकलौटी व्यापार गरिरहेको भएपनि साल्ट ट्रेडिङका शेयर होल्डरहरु यसबाट पूर्ण रुपमा अनभिज्ञ रहेको देखिएको छ । 

यसबारेमा अधिवक्ता भेषराज पन्तले यसकिसिमको व्यवसायिक कारोबार गर्न प्रचलित कानूनी प्रवन्धको पूर्ण पालना हुनुपर्ने बताएका छन् ।

साल्ट ट्रेडिङकी प्रवन्ध निर्देशक उर्मिला श्रेष्ठ भने कागजको व्यापार गर्ने भनेर वाणिज्य विभागमा दर्ता भएर एजेन्टको काम गरिरहेको बताउँछिन् । साल्ट ट्रेडिङले सरकारकै महत्वपूर्ण संस्थाहरु कागजको अभावमा बन्द हुने अवस्थामा पुग्दा समयमै कागज उपलव्ध गराएर जोगाएको उनको भनाई छ ।

‘पाठ्यपुस्तक छाप्ने जनक शिक्षा सामग्री केन्द्र र गोरखापत्र संस्थानलाई साल्ट ट्रेडिङले नै कागज उपलव्ध गराएकाले ती संस्थाले आफ्नो नियमित काम सम्पन्न गर्न पाएका हुन्’ श्रेष्ठले नेपाल न्यूज बैंकसँग भनिन् ।

साल्ट ट्रेडिङले प्रिन्टसेललाई मात्र कागज बिक्री नगरेको र अरुले पनि खरिद गर्न चाहे उपलव्ध गराउने बताउँदै श्रेष्ठले टेण्डर पारेरै यो काम गरेको स्पष्ट पारिन् । ‘हामीले कम मार्जिन राखेर व्यापार गरेका छौं तर अरुको बढी छ, अरु व्यवसायी पनि टेण्डर प्रतिष्पर्धामा गएर काम गरे भैहाल्यो नि तर कोही पनि आउँदैनन्’ प्रवन्ध निर्देशक श्रेष्ठले भनिन् ।

साल्ट ट्रेडिङको व्यवसायिक मन्त्र

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले शक्ति र इमान्दारिताको प्रतीकका रूपमा भगवान भीमसेनको गदालाई आफ्नो लोगोका रूपमा ग्रहण गरेको छ । गदा मुनि लेखिएको शब्दहरू छन्, ‘सत्य मेव परम धनम्’ जसको अर्थ ‘इमानदारी सबैभन्दा ठूलो धन हो’ र यो मन्त्र महाभारतबाट लिइएको हो । तसर्थ, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको लोगोले इमान्दार व्यवसायिक अभ्यासहरूको शक्ति र लोकाचारको प्रतीकको सन्देश दिन्छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड सिद्धान्त र व्यवहारमा कुनै पनि विचलन बिना यो मूल्यको पालना गर्न प्रतिबद्ध छ भनिएको छ। (नेपाल न्यूज बैंक)
 

प्रतिक्रिया