सेयर बजारमा दोहोरो अंकको गिरावट, घट्यो कारोबार

काठमाडौँ। सेयर बजार परिसूचकमा बुधबार दोहोरो अंकको गिरावट आएको छ। १०.७१ अंकले घटेको परिसूचक २०२५.३० विन्दुमा रह्यो।

उत्पादन तथा प्रशोधनबाहेक ११ उपसूचकमा आएको गिरावटले परिसूचक घटेको हो। कारोबार रकम पनि अघिल्लो दिनका तुलनामा ६६ करोडले घटेको छ। आज ८६ लाख ९६ हजार ९१८ कित्ता सेयर किनबेच हुँदा रकम ३ अर्ब ४८ करोड ५६ लाख रुपैयाँमा सीमित रह्यो। 

हिजो ९७ लाख ८९ हजार ४१६ कित्ता सेयर ४ अर्ब १४ करोड ३७ लाख रुपैयाँमा किनबेच भएको थियो भने साताको पहिलो दिनको कारोबार रकम ४ अर्ब २५ करोड ६६ लाख रुपैयाँ थियो। 

१३ उपसमूहमा व्यापार १.४६ र उत्पादन तथा प्रशोधन ०.१३ प्रतिशतको बढोत्तरी छ। अन्य सबै उपसमूह घटेका छन्। सर्वाधिक फाइनान्स उपसमूह २.५० प्रतिशत छ। 

आज १७६ कम्पनीको सेयरमूल्य घट्दा सेयर लगानीकर्तालाई नोक्सान भएको छ। ६३ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ। ६ कम्पनीको सेयरमूल्य स्थिर रह्यो। 

सेयरमूल्य बढेका कम्पनीमा माण्डु हाइड्रोपावर र खानीखोला हाइड्रोपावर छन्। आज उच्च कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स पहिलो नम्बरमा आएको छ। हिमालयको सेयर १२ करोड ५४ लाख रुपैयाँको किनबेच भएको छ। यस्तै गोर्खाज फाइनान्सको ११ करोड १२ लाख, नेपाल फाइनान्सको ९ करोड ७७ लाख र पोखरा फाइनान्सको सेयर ९ करोड ७६ लाख रुपैयाँको किनबेच भएको छ।

सेयरमूल्य घट्दा सर्वाधिक नोक्सानीमा सिंगटी हाइड्रोपावरका लगानीकर्ता रहे। उक्त कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ। यस्तै वीन नेपाल लघुवित्त, एनआइसी एसिया सेलेक्ट फण्ड–३०, मनकामना स्मार्ट लघुवित्त, सबैको लघुवित्तलगायतका सेयरमूल्य घटेका छन्। (नेपाल न्यूज बैंक) 

प्रतिक्रिया