२२.७५ अंकले बढ्यो नेप्से, कारोबारमा सुधार

काठमाडौँ। साताको पहिलो दिन सेयर बजार परिसूचकसँगै कारोबार बढेको छ। आइतबार २२.७५ अंकले बढ्दै नेप्से परिसूचक २०२६.८१ विन्दुमा आएको छ।

कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ। १ करोड १२ लाख १० हजार १०२ कित्ता सेयर ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार रुपैयाँमा किनबेच भएको छ।

गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २.७३ अंकले घट्दै २००४.०५ विन्दुमा थियो। कारोबार रकम ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार रुपैयाँ थियो।

१३ उपसमूहमा होटल तथा पर्यटन र व्यापारबाहेक सबै बढ्दा नेप्से परिसूचकमा सुधार आएको हो। फाइनान्स उपसमूह ५.९५ प्रतिशतले बढेको छ।

आज १९० कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा रहे। ४८ कम्पनीका सेयरमूल्य घट्यो भने ७ कम्पनीको सेयरमूल्यमा कुनै परिवर्तन भएन।

आज नेपाल फाइनान्स, पोखरा फाइनान्स, जानकी फाइनान्स, गुराँस लघुवित्तको सेयरमूल्य बढेर सर्किट लागेको छ। मानुषी लघुवित्त, वीन नेपाल लघुवित्त, दोल्ती पावर, सबैको लघुवित्तको पनि सेयर बढ्दा लगानीकर्ता फाइदामा छन्।

आज उच्च कारोबार हुनेमा नेपाल पुनर्बीमा कम्पनी छ। उक्त कम्पनीको ९५ करोड २० लाख रुपैयाँको सेयर किनबेच भएको छ। गोर्खाज फाइनान्सको १९ करोड, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ११ करोड २९ लाख, सर्वोत्तम सिमेन्टको ९ करोड ९३ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

आज सेयरमूल्य घटेका कम्पनीमा तारागाउँ रिजेन्सी होटल लिमिटेड पहिलो नम्बरमा छ। सेयरमूल्य घट्ने अन्य कम्पनीहरुमा कालिका लघुवित्त, ग्लोबल आइएमइ ब्यालेन्स्ड फाण्ड–१, सूर्यज्योति लाइफ इन्स्योरेन्स, गणपति लघुवित्त लगायत छन्। (नेपाल न्यूज बैंक)  

प्रतिक्रिया