हिन्दु–मुस्लिम युवाहरुको झडपले सुनसरी अशान्त

सुनसरी। हिन्दु र मुस्लिम  समुदायका युवाहरुको झडपले उग्र रुप लिएपछि शुक्रबार बिहानबाट अशान्त बनेको सुनसरी भुटाहा क्षेत्रको अवस्था नियन्त्रण बाहिर गएको छ।

दुवै पक्षको हुलका कारण सुरक्षाकर्मी पछि हट्नुपर्ने स्थितिको सिर्जना भएको भएको उल्लेख गर्दै सुनसरी प्रहरीले अहिलेसम्म ५१ राउण्ड बढी हवाई फायर भइसकेको जनाएको छ।

कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुँयालले निषेधाज्ञाका बाबजुत भीड नियन्त्रणमा आउन नसकेको बताउँदै स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको बताए।

भुटाहामा हिन्दु युवामाथि मुस्लिम युवा समूहले कुटपिट गरेका थियो। घाइते जीवन मेहता धरानमा उपचाररत छन्। उक्त कुटपिट घटना विषयलाई लिएर स्थानीय हिन्दु समूहले उक्त घटनाको विरोधमा बिहानैबाट प्रदर्शन चर्काएका थिए।

यसैबिच अवस्था नियन्त्रण बाहिर जाने देखेपछि सुरक्षा समितिको आपतकालीन बैठक बसेको छ। दलीय प्रतिनिधिसहितको उपस्थितिमा प्रशासन कार्यालयमा बसेको बैठकले अनियन्त्रित बन्दै गएको भिडलाई संयमता अपनाउन पहल गरिदिन सरोकारवाला समक्ष आग्रह गरेको छ।

कोशी प्रदेशका तीन वटै सुरक्षा निकायका डीआइजीसमेतको उपस्थितिमा इनरुवामा सम्पन्न बैठकले अवस्था थप नियन्त्रण बाहिर जाने देखिए सुरक्षाकर्मीले बल प्रयोग गर्नसक्ने चेतावनी दिएको छ।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया