देशभर ५९ हजार ६१ वटा अपराध मुद्दा दर्ता, एक वर्षमा ७ हजार एक सय ९४ जनाले गरे आत्महत्या

काठमाडौँ। पछिल्लो एक वर्षभित्र देशभर ५९ हजार ६१ वटा अपरधका मुद्दा दर्ता भएको केन्द्रीय प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बिहीबार नेपाल प्रहरीको वार्षिक कार्य प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भिम प्रसाद ढकालले देशभर ५९ हजार ६१ वटा मुद्दा दर्ता भएको बताए। उक्त मुद्दा मध्ये सबैभन्दा धेरै अपराधका मुद्दा उपत्यकामा र कम कर्णाली प्रदेशमा दर्ता भएको जानकारी ढकालले दिए।

उपत्यकापछि मधेश,कोशी र लुम्बिनीमा क्रमश धेरै अपराधका मुद्दा दर्ता भएका छन्। यस्तै, अपराधका घटनामध्ये सबैभन्दा धेरै मुद्दा बैंकिङ कसुरमा दर्ता भएको छ। दोस्रोमा सार्वजनिक हित स्वास्थ्य विपरितका अपराध र तेस्रोमा आत्महत्या, चौथोमा लागु औषध, चोरी, जवर्रजस्ती करणी, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान मुद्दा, साइवर अपराध, अपहरण, हत्यालगायतका घटनाहरु धेरै भएको प्रहरीको तथ्यांकमा उल्लेख छ।
प्रहरीका अनुसार सबैभन्दा धेरै कर्तव्य ज्यान सम्बन्धी घटना मधेश प्रदेशमा २३ .२७ प्रतिशत भएको छ भने सबैभन्दा कम उपत्यकामा ६.५ प्रतिशत दर्ता भएको छ।

नेपालमा पछिल्लो समय आत्महत्याको घटना बढ्दै गैरहेको प्रहरी तथ्यांकले देखाएको छ। एक वर्षमा ७ हजार एक सय ९४ जनाले आत्महत्या गरेका छन्।

पछिल्लो एक वर्षमा सबैभन्दा धेरै कोशी प्रदेशमा आत्महत्या हुँदा कर्णालीमा सबैभन्दा कम आत्महत्याका घटना भएको ढकालले बताए। 
“कोशी प्रदेशमा आत्महत्याका सबैभन्दा धेरै २१ .२७ प्रतिशत घटना भएको छ भने सबभन्दा कम कर्णाली प्रदेशमा ४.२४ प्रतिशत रहेको देखिन्छ। अन्यमा मधेशमा पनि आत्महत्या गर्नेको संख्या धेरै छ, लुम्बिनी, बागमती, गण्डकी पनि छ। आत्महत्या संख्या सबैतिर बढिरहेको छ,” प्रवक्ता ढकालले भने।

आत्महत्या गर्ने मध्ये सबैभन्दा धेरै ८५ प्रतिशतले झुन्डिएको, १३.३४ प्रतिशतले विष सेवन गरेको र अन्यले आगो लगाएको,पानीमा हाम फालेर मृत्यु वरण गरेको विवरण प्रहरी तथ्यांकमा उल्लेख छन्।  (नेपाल न्यूज बैंक)    

प्रतिक्रिया