राष्ट्रिय सभामा माओवादीले आफ्नै उम्मेदवार उठाउने

काठमाडौँ। नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा आफैं उम्मेदवारी दिने निर्णय गरेको छ। 

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको पार्टी स्थायी कमिटिको बैठकले माओवादी आफैंले उम्मेदवारी दिने निर्णय गरेको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

सत्तारुढ गठबन्धन दल कांग्रेसले कृष्णप्रसाद सिटौलालाई अध्यक्षमा अघि सार्ने तयारी चर्चाकाबीच माओवादी यस्तो निर्णय गरेको हो। माओवादीको स्थायी कमिटी बैठकमा मंगलबार अधिकांश नेताहरूले राष्ट्रिय सभा अध्यक्षमा दाबी प्रस्तुत गर्नुपर्ने अडान राखेका थिए।

संवैधानिक आयोगका पदाधिकारी नियुक्ति सिफारिस गर्ने ६ सदस्यीय संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले दुवै दलले राष्ट्रिय सभा अध्यक्ष आफनो दलका नेतालाई बनाउन चाहेको बताइएको छ। राष्ट्रिय सभा अध्यक्षको निर्वाचन यही फागुन २९ मा हुँदैछ। (नेपाल न्यूज बैंक) 

प्रतिक्रिया