१४ शहरमा ‘अब हाँस्छ अमेरिका’

काठमाडौँ। अमेरिकाका १४ शहरहरूमा ‘अब हाँस्छ अमेरिका’ कार्यक्रम सम्पन्न भएको छ। फ्लाई नेपालको आयोजनामा भएको कार्यक्रममा नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरुले प्रस्तुत दिएर हसाएका थिए।

विनोद अधिकारीको संयोजनमा आयोजित कार्यक्रममा हास्यकलाकारहरू सन्दिप क्षेत्री, सुमन कार्की, भरतमणी पौडेल, कैलाश कार्की, सुमन कोइराला, मेक्सिम गौडेल (विष्णु प्रसाद गौडेल), सजन श्रेष्ठ र सन्तोष थापाले फेब्रुअरी २४ सम्म अमेरिकाको विभिन्न १४ सहरमा प्रस्तुति दिएका थिए।

उनीहरूले जनवरी १२ मा नर्थ क्यारोलिना, १५ मा मिचिगन, २० मा न्यूयोर्क, २१ मा कनेक्टीक्युट, २२ मा बोस्टन, २९ मा रोचेस्टर् न्यूयोर्क मा प्रस्तुती दिएका थिए। यस्तै, फेब्रुअरी २ मा ह्युस्टन, ३ मा डालस टेक्सास, ९ मा लस एन्जल्स, १२ मा सन फ्रान्सिस्को, १६ मा भर्जिनिया, १७ मा ह्यारिसबर्ग पेन्सिलभेनिया, १८ मा बाल्टीमोर, मेरिल्याण्ड र २४ मा कोलम्बस, ओहायोमा हाँस्यब्यंग्य प्रस्तुति दिएका थिए। 

हिउँका कारण प्राय आवतजावतमै अवरोध हुने समयमा सफलताका साथ दर्शकको खचाखच उपस्थितिमा कार्यक्रमहरु सम्पन्न भएको संयोजक अधिकारीले जानकारी दिए।

“अमेरिकाको पुर्वदेखि पश्चिमसम्म रहनुहुने नेपाली कहाँ हामी पुग्न सफल भयौँ। उहाँहरूलाई हसाउन सफल भयौँ। अमेरिकामा यति भव्य रुपमा सम्पन्न हाँस्य कार्यक्रम सम्भवत यो नै पहिलो हो,” संयोजक अधिकारीले भने। उनले नेपालमा सोचे जस्तै अमेरिकामा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको जानकारी दिँदै चुनौतीका रुपमा स्वीकार गरेको कार्यक्रम अवसरमा बद्लिन सफल भएकोमा हर्षविभोर रहेको बताए।(नेपाल न्यूज बैंक) 

 

प्रतिक्रिया